सरकारबाट प्रेसलाई कुनै खतरा छैन– मन्त्री बाँस्कोटा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारबाट प्रेसलाई कुनै खतरा नभएको बताएका छन् । राष्ट्रिय सभामा छलफका लागि पेस गरिएको मिडिया काउन्सिल विधेयकमा सांसदहरुले उठाएका प्रश्नकाे जवाफ दिँदै मन्त्री बाँस्कोटाले मन्त्री बाँस्कोटाले भने – ‘प्रेसका नाममा हुने विकृती रोक्न विधेयक ल्याइएको हो ।’
पत्रकारिता भन्दा पनि मिसनकारितामा मिडियाको दुरुपयोग बढ्दै भन्दै मन्त्री बाँस्कोटाले अचम्म अचम्मका प्रवृति देखिएको बताए । उनले भने – ‘जसलाई जे पनि भनेको छ । आरोप लगाएको छ । जवाफदेहिता, उत्तरदायित्व छैन । संविधान संसोधन होइन खारेज गराैँ । अर्को चीज ल्याऊँ । यो पनि पत्रकारिता हो ? यसलाई अलिकति नियन्त्रण गर्न खोज्यो भने प्रेस स्वतन्त्रतामाथि धावा बोल्ने ? यो त्यस्तो हो ?’
उनले लोकतन्त्र–गणतन्त्र स्थापित नहोस् भन्ने तहबाट हुने बाह्य आक्रमण र मिडिया आफै वहकिएर स्वतन्त्रताको नाममा स्वच्छन्दतालाई प्रेसको परिभाषा भित्र बाँधेर जान खोज्ने कुराले प्रेसको विश्वसनियतामाथि प्रश्न उठेको बताए । सर्वसाधारणले प्रेसप्रति विश्वास गर्न छाडे भने लोकतन्त्र खतरामा पर्ने उनको भनाई छ । उनले भने – ‘प्रेस लोकतन्त्रको पहरेदार हो तर नागरिकले नै प्रेसप्रति विश्वास गर्न छाडे भने लोकतन्त्र खतरामा पर्छ, यसप्रति सरकार सचेत छ त्यसैले स्वतन्त्रता र स्वच्छन्दताको बीचमा भेद छुट्याउन जरुरी छ ।’
सरकार प्रेसप्रति जिम्मेवार रहेको भन्दै उनले भने– ‘एउटा मिडिया हाउसमा ६–७ जनाले सामूहिक राजीनामा दिँदा हाउसबाटै प्रेस स्वतन्त्रता हनन भएको आरोप लगाइयो,’ बाँस्कोटाले थपे, ‘यस्तो दुर्लभ घटना पनि नेपालमा भएको छ, सरकारले कुनै प्रेस स्वतन्त्रता हस्तक्षेप गर्न खोजेको छैन, त्यो पुष्टि पनि हुन सक्दैन ।’
गल्ती गर्ने मिडियालाई जरिवानाको व्यवस्था विधेयकमा अाएकाे सम्बन्धमा उनले भने –‘त्यस्ता विषयमा हामी साेच्न सक्छौं, काउन्सिलले नै गर्ने वा अदालती निरुपणको विषय बनाउने ? महासंघसँग पनि यसमा छलफल भएको छ । विधेयकलाई राम्रो बनाउने कुरामा हामी सकारात्मक हुन्छौं ।’
उनले राजतन्त्रका पक्षधरहरु प्रेस स्वतन्त्रताको नाममा लोकतान्त्रिक व्यवस्थालाई सिध्याई पुस्थापित हुने प्रयास गरिरहेको दाबी गरे । उनले प्रश्न गरे – ‘कहिले देश टुक्राउन आउ । कहिले गणतन्त्र समाप्त गर्न आउ । कहिले के गर्न आउ भनेर ओपन ? ओपन च्यालेन्ज दिने डेमोक्रेशीलाई ? गणतन्त्रलाई ? त्यो हेरेर बस्न सकिन्छ ?’ । ‘के को नाममा ? स्वतन्त्र प्रेसको नाममा । स्वतन्त्र प्रेस हिजो तिनले गर्या थे ? पञ्चायतको भक्तिभाव गर्या थे । निरंकुश राजतन्त्रको गाना बजाना गर्या थे ।’
मन्त्री बाँस्कोटाले नेताहरुको मानमर्दन गरि स्थापित प्रणालीलाई नै समाप्त पार्ने विषयलाई स्वतन्त्र प्रेसको रुपमा परिभाषा गर्ने विषयमा सरकार सहमत हुन नसक्ने पनि बताए । उनले कुनै पनि विषयमा मिडियालाई ट्रायल हुन नदिईने चेतावनी दिए । उनले विधेयकलाई राम्रो बनाउन जुनसुकै निकायबाट आउने सुझाव पनि आफूहरुले स्वागत गर्ने बताए । उनले विधेयक फिर्ता लिनुपर्ने भन्ने प्रस्ताव आवश्यक नरहेको पनि बताए ।
छलफलपछि मिडिया काउन्सिल विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।


प्रतिकृया दिनुहोस