• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

अन्तर्राष्ट्रिय सम्मेलनले सकारात्मक वातावरण बनाएको छ – अर्थमन्त्री

सनराइज खबर संवाददाता

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले लगानी सम्मेलन जस्ता अन्तर्राष्ट्रिय स्तरका सम्मेलनले सकारात्मक वातावरण बनाएको बताएका छन् । प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।

सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर नीतिनियम तथा काम कारबाहीलाई अगाडि बढाएको बताएका छन् । यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखापरेको उनले स्पष्ट पारे ।

नेपालको संविधानले तीन खम्बे सार्वजनिक, निजी र सहकारीलाई समावेश गरेको र निजी क्षेत्रलाई निश्चित भूमिका दिएको उनको भनाइ थियो । उनले विदेशी स्वामित्वका संस्थाहरु खराब मात्रै हुन्छन् भन्ने मान्यता राख्न नहुने भन्दै विदेशी स्वामित्वका बैंक तथा वित्तीय संस्थाबाट प्रविधि हस्तान्तरण भएको, दक्ष जनशक्ति उत्पादनमा समेत त्यसले भूमिका निर्वाह गरेको बताए ।

विदेशी लगानीको भए पनि त्यस्ता बैंक तथा वित्तीय संस्थाले नेपाली कानुन, विधि र प्राथमिकता अनुसार सञ्चालन हुने गरेको भन्दै दुविधा राख्न नहुने उनको भनाइ थियो ।

सरकारले घोषणा गरेको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाले आवश्यक तयारी गरेको जानकारी सरकारलाई गराएको भन्दै प्रचारप्रसारको अभावमा सरोकार भएका सबैले सो विषयमा आवश्यक जानकारी पाउन नसकेको हुन सक्ने उनले बताए ।


 

प्रतिकृया दिनुहोस