विशेष समयमा राष्ट्रिय सभा सांसदहरु
काठमाडौ । राष्ट्रिय सभाका सदस्यहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद शेरबहादुर कुँवर अछाम जिल्लामा चट्याङबाट चार जनाको निधन भएको र अन्य केही स्थानीय घाइते भएको पशुचौपायको पनि क्षति भएको र स्थानीयहरु आतंकित बनेको भन्दै आतंकबाट जोगाउनका लागि सम्बन्धित क्षेत्रबाट पहल गर्न आग्रह गरे ।
राधेश्याम अधिकारीले भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गर्दा गोपनियताको सम्बन्धमा कानुनको ठुलो त्रुटी भएको भन्दै यस्तो गल्ती नदोहोर्याउन सरकारको ध्यानाकर्षण गराए । कार्यबाहकको जिम्मेवारी दिइसकेर पनि प्रधानमन्त्री आफैले सिंगापुरबाट मन्त्रिपरिषद् बैठक संञ्चालन गरेकाले कार्यबाहक प्रधानमन्त्री रहेको वा नरहेको भन्ने पनि प्रश्न उठेको भन्दै उनले सरकारबाट त्रुटीपूर्ण काम भएको बताए ।
उनले पछिल्लो समय दलितहरुलाई दुर्व्यवहार गरिएका घटनाहरु आईरहेको भन्दै कानुन कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराए ।
भूमि सुधार मन्त्रीले भूमि व्यवस्थापन सम्बन्धमा संविधानमा गरिएको व्यवस्था भन्दा भिन्न रुपमा आफ्नो अभिव्यक्ति दिएको भन्दै सांसद वृषेशचन्द्र लालले त्यसबारे थप स्पष्ट पार्न विभागिय मन्त्रीको ध्यानाकर्षण गराए । संविधानले भूमिको व्यवस्थापन गर्ने अधिकार प्रदेश व्यवस्थापिकालाई दिएको तर भूमिसुधार मन्त्रीले संघीय सरकारलाई दिएको भनी भनेको भन्दै उनले त्यसबार सदनलाई स्पष्ट पार्न विभागिय मन्त्रीको ध्यानाकर्षण गराए ।
भूमि सम्बन्धी आठौ संशोधन विधेयकका बारेमा सैद्धान्तिक छलफल हुदा संघीय संसदको व्यवस्थापकिय अधिकार संविधानको धारा १ सय ९ अन्तर्गत ५ , ७ र ९ अनुसूचीमा मात्रै पर्दछ भनेर आफुले धारणा राखेको स्मरण गराउदै उनले संविधानले गरेको व्यवस्था विपरित सरकार गएको भन्दै आपत्ती जनाए ।
अनुसूची ५ को २९ र अनुसूची ७ को २४ ले संघीय सरकारलाई भु–उपयोग नीति र भूमि नीति सम्बन्धी कानुनी व्यवस्था गर्न मात्रै कानुनी अधिकार छ भनेको र अनुसूची ६ अनुसार भूमि व्यवस्थापन सम्बन्धी राज्यशक्तिको बाँडफाँड गर्दा संविधानले प्रदेशलाई अधिकार दिएकाले प्रदेश व्यवस्थापिकालाई मात्रै भुमि सम्बन्धी कानुन बनाउने अधिकार रहेको दाबी उनले गरे विभागिय मन्त्रीले एउटा धारा र एउटा अनुसूची पढेर मात्रै संविधानलाई बुझ्न नसकिने भन्दै अन्य धारामा बाध्यकारी व्यवस्था छ भनेर संसदलाई छल्ने काम गरेको टिप्पणी उनले गरे ।
सांसद अनिता देवकोटाले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर पनि प्रधानमन्त्रीले सिंगापुरबाटै भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गरेर सरकारले शक्ति र पदको दुरुपयोग गरेको टिप्पणी गरे ।
उनले सत्तासिन पार्टीका कार्यकर्ताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि बुधबार कार्यस्थलमै गएर हातपात गर्ने काम गरेको भन्दै घटनाप्रति घोर भत्सर्ना गर्दै खेद प्रकट गरे ।
सांसद रामनारायण विडारीले सिप नभएका विरोधीहरु र इख नभएको सरकारका कारणले यो देश विग्रेर जाने हो कि भन्ने चिन्ता लाग्न थालेको बताए । उनले उल्टो राजनीति गर्ने, व्यवस्थाकै प्रतिपक्षी बन्ने, सत्तामात्रैको विपक्षी, समग्र संविधानका विरोधी र आंशिक संविधानका विरोधीहरुले वर्तमान सरकार मार्फत गणतन्त्र र संघीयताको विरुद्धमा प्रहार गर्दे आएको टिप्पणी गरे । भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषद् बैठक गर्दा नविनतम प्रविधिप्रति गर्व गर्नुपर्नेमा सडक देखि सदनसम्म विरोध गर्ने कम भएको भन्दै उनले गोपनियताको भुतको छायाँबाट किन तर्सेको भनी प्रश्न गरे ।
बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा पार्वतीले समितिको वार्षिक प्रतिवदेन पेस गरेकि छिन् ।


प्रतिकृया दिनुहोस