बोल्दैनन्, सांसदहरु लेखेको पढ्छन्
काठमाडौं । नेकपाकी सचेतक शान्ता चौधरीले एउटा कागज निकालिन् । खरर पढ्न थालिन् । मानौं उनी समाचार वाचन गरिरहेकी छिन् ।
प्रतिनिधि सभाको घटना हो यो । उनी सांसद् मात्र होइनन्, सचेतक समेत हुन् । सचेतकले सांसद्लाई बाटो देखाउनुपर्छ । एक ढंगले भन्ने हो भने कक्षाको मोनिटर जस्तै हो सचेतक पद ।
संसद् भनेको पढ्ने थलो हो कि बोल्ने ? आजकाल प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक हेर्दा यी सदनहरु बोल्ने थलो नभएर वाचन गर्ने थलो हुन् कि जस्तो देखिन्छ ।
नेपालमा संसदीय अभ्यास सुरु भएको करिब ६ दशक भइसकेको छ । अहिलेको संसदीय अभ्याश पनि तीन दशकदेखि लगभग निरन्तर छ ।
यति लामो अभ्यास भइसक्दा पनि सदनमा लेखेको कुरा वाचन गर्न हुँदैन भन्ने तथ्य सांसद्हरुले आत्मसात गर्न सकेका छैनन् ।
२१ भदौको प्रतिनिधि सभा बैठकमा सांसद् नरमाया ढकालले समाचार पढेको शैलीमा आफ्ना कुरा राखिन् । उनले कागज हेर्दै खरर पढेकी थिइन् । त्यही दिनको बैठकमा नारायणप्रसाद खतिवडाले सालिकराम पुडासैनीको आत्महत्या प्रकरणबारे कागजमा लेखिएको खरर पढे । उनले कुनै मिडियाको समाचार सारेर पढे झैं सुनिन्थ्यो ।
विश्वमा कुनै पनि संसद्मा लेखेको खरर पढ्नुलाई शोभनीय मानिँदैन । यसरी पढ्दा सांसद्का वास्तविक विचार र भावना अभिव्यक्त हुन सक्दैन भन्ने ठानिन्छ । लिखित विचार पढ्दा संसदीय छलफल तथा बहस निरस समेत हुन्छ ।
नेपालमा पनि ०१५ सालको संसद्मा तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराईले सदनमा सकभर नपढ्नुहोला भन्ने गर्थे । ०४८ सालपछि तत्कालीन सभामुख दमननाथ ढुंगानाले पनि सदनमा नपढ्नु, जे जानेको छ त्यही बोल्नु भन्दै सांसद्हरुलाई भन्ने गर्थे ।
संविधानसभा पछि
संविधान सभा गठनपछि सदनमा धेरै सांसद्हरुले घरबाटै लेखेर ल्याउने अनि खरर पढ्ने चलन थाले । समावेसीकरणका नाममा विभिन्न वर्ग समुदायका मानिसहरु सांसद् बने जो पढेलेखेका थिएनन् । उनीहरुको प्रतिनिधित्वले संविधान सभा सुन्दर बन्यो । माथि नाम लेखिएकी शान्ता चौधरी जस्ती प्रतिभाशाली युवाहरु सांसद् बने तर संसदीय अभिव्यक्ति तथा प्रस्तुतिको स्तर भने खस्कियो ।
जस्तो कि शान्ता भाषण गर्न जान्दिनथिन् तर उनले सिकिन् । उनी राम्रो भाषण गर्ने नेतृमा दरिएकी छिन् । आमसभामा परर ताली खाने र उपस्थितलाई प्रभावित पार्ने क्षमता उनमा छ । तर, सदनमा भने उनले लेखेको वाचन गर्ने गरेकी छिन् ।
आजकाल धेरै सांसद्ले लेखेको कुरा पढ्ने गरेका छन् । कतिसम्म भने, उनीहरुले सदनमै आएर लेखेका हुन् भन्ने पनि थाहा पाउन सकिन्छ । बैठकको एजेण्डा लेखिएको सूचना पत्रको कागजको अर्काे पट्टिको खाली भागमा उनीहरु लेख्छन् । अनि बोल्ने पालो आएपछि खरर त्यही पढ्छन् । उनीहरुले वाचन गरिरहँदा कागजको अर्काे पट्टिको भाग देखिन्छ र सूचनापत्र हो भन्ने थाहा पाइन्छ ।
कसो गर्ने ?
कांग्रेसकी सांसद् डिला संग्रौलाको नाम लिए सभामुख कृष्णबहादुर महराले । उनी उठिन् । अरु धेरै सांसद्को जस्तै डिलाको हातमा पनि कागज थियो । सदनमा प्रभावशाली वक्ताका रुपमा चिनिएकी डिलाले कागज हेरेर बोल्न थालिन् ।
तर, डिलाको शैली फरक थियो । उनले कागजमा विराटनगर जुट मील सम्बन्धमा विभिन्न कुरा टिपेकी रहिछन् । बोल्दा टिपोट हेर्दै आफ्ना कुरा राखिन् । यो राम्रो अभ्यास हो ।
अर्थात्, खरर पढ्न हुँदैन तर बोल्न सहायक सामग्रीका रुपमा टिपोट या सन्दर्भ सामग्री हेर्दै बोल्नु राम्रो अभ्याश हो । त्यही दिनको बैठकमा कांग्रेसका प्रवक्ता रहिसकेका दिलेन्द्रप्रसाद वडुले पनि कागजमा हेर्दै बोले । तर, उनले एक दुर्घटनामा घाइते र मृतकको नाम बिर्सिएला कि भनी टिपोट गरेका रहेछन्, त्यही हेर्दै नाम पढे । तर, अरुले जसरी लेखेको कुरा खरर पढेनन् ।
सांसद्हरुलाई बोल्ने तालीम दिने काम संसद् सचिवालयको हो । यसमा सम्बन्धित राजनीतिक दलको भूमिका पनि उत्ति नै हुन्छ । संसदीय दलले आफ्ना सांसद्लाई बोल्न तालिम दिन आवश्यक हुन्छ । तर, सांसद्हरुको अभिव्यक्ति सुन्दा उनीहरुले बोल्ने तालीम लिएका छैनन् भन्ने प्रष्ट हुन्छ ।
संसदीय अभ्याश कति बिग्रँदै गएको छ भने राजनीतिक यात्रामा राम्रैसँग बोल्न सक्षम भनेर चिनिएकाहरुले पनि सदनमा चाहिँ लिखित भाषण पढ्ने गरेका छन् ।
भदौ ९ को प्रतिनिधिसभा बैठकको शून्य समयमा नमिता कुमारी चौधरीले भ्रष्टचार बारे बोलिन् । उनले आफैले लेखेको कागज हेरेर पढ्दै गर्दा पनि बीचबीचमा अल्मलिएकी थिइन् ।
गत साउन ८ मा बसेको राष्ट्रिय सभा बैठकको बिशेष समयमा बोल्न सांसद मिना बुढालाई सात मिनेट समय दिइएको थियो । उनले बोल्नका लागि पहिले एउटा किताब उठाइन् । यो त हैन रहेछ भन्दै अर्को कागज निकालिन् र बोल्न थालिन् बाढी पहिरो बारेमा । तर, उनले पाएको सात मिनेट पनि सदुपयोग गरिनन्, दुई मिनेटमै बोलिसकिन् ।
संसदीय अभ्यास नेपालमा लामै भइसक्यो । सांसद्हरुले अतितको परम्परा तथा अभ्याश हेर्ने तथा संसदीय छलफलप्रति इमानदार हुँदै आफ्नो क्षमता बढाउनुपर्ने आवश्यकता देखिन्छ ।


प्रतिकृया दिनुहोस