प्रतिनिधि सभा शुन्य समयमा कस्ले के बोले ?
काठमाडौं । सांसदहरुले भ्रष्टाचार नियन्त्रण वन विनास तथा वन र निकुञ्ज नजिकका बासिन्दालाई जंगली जनावरको आक्रमणबाट जोगाउने लगायत विषयमा सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आ–आफ्नो क्षेत्रगत र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद विमला नेपालीले भ्रष्टाचार विरुद्ध अभियान चलाएको भन्ने सरकारकै मन्त्रीहरु भ्रष्टाचारमा संलग्न भएको आरोप लगाए । उनले सिंहदरबारदेखि मन्त्री क्वाटरसम्म बिचौलिया मार्फत् मन्त्रीका आफन्तहरुले बार्गेनिङ गरेको गुनासो आएको तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ठुलाबडाले गरेको करोडौको भ्रष्टाचार नदेख्ने र साना कर्मचारीलाई फसाउने काम गरेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
सांसद बिमला बिकले बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाघको आक्रमणमा गेरुवा र ठाकुरद्वारा गाउँपालिकाका दुई जना स्थानीयको निधन भएको भन्दै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग माग गरिन् । मुलुकभर नै जंगली क्षेत्र वा निकुञ्ज नजिक बस्ने सर्वसाधरण जंगली जनावरको आक्रमणबाट बच्न बासस्थान छोडेर अन्यत्र जाने क्रम बढेको भन्दै उनले निकुञ्जको सिमानामा ठुला पर्खाल निर्माण गरि स्थानीयको जीउ धनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद भरतकुमार शाहले सरकारले मलखादमा यसअघि दिदै आएको अनुदान रकममा कटौती गरेको भन्दै किसानले पाएको सुविधा कटौती नगर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद भीमसेनदास प्रधानले सरकारले यस वर्षलाई वृक्षारोपण वर्ष घोषणा गरेको भएपनि त्यस विपरित वन मास्ने काम भएको तथा राजधानी नजिकका वरपरका डाँडामा पनि भू–माफिया र बालुवा उत्खनन् गर्ने व्यवसायीले वनजंगल मास्ने काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद मिना सुब्बाले मुलुकभर डेंगुको प्रकोप फैलिरहदा पनि नियन्त्रणतर्फ सरकार गम्भिर बन्न नसकेको भन्दै त्यसतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराइन् । उनले धरानबाट देखिएको डेंगु संक्रमण अहिले ४२ जिल्लामा फैलिसक्दा पनि प्रभावकारी कदम चाल्न नसक्नु ‘सरकारको असक्षमता र लापरवाही’ भएको बताइन् ।
सांसद यज्ञबहादुर बोगटीले अछाम जिल्लाको मध्यपहाडी लोकमार्ग अन्तर्गत गैहीटार विनायक खण्ड अन्र्तग कमलबजार नगरपालिका वडा नम्बर ५ कीर्तिपुर खण्डमा लामो समय देखि सुख्खा पहिरो गइरहेको भन्दै नियन्त्रणका लागि तत्काल पहल गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
सांसद राजेन्द्रकुमार केसीले भने शुन्य समयमा बोलेका विषयको कही कतैबाट सुनुवाई नभएको भन्दै आफुलाई उपलब्ध गराइएको समयमा मौन बसेका थिए ।


प्रतिकृया दिनुहोस