'बाह्य भाषालाई मान्यता दिन हुँदैन' - सांसद नेपाली
काठमाडौं । सांसद खेमराज नेपालीले मैथिली भाषालाई रेडियो नेपालको केन्द्रीय प्रशारणबाट हटाएकोमा आपत्ती जनाएका छन् ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले मैथिली भाषा एउटा प्रदेशमा मात्रै सिमित नभएको बताए । ‘रेडियो नेपालको केन्द्रीय प्रशारणबाट हटाइएको छ, सत्य के हो ? त्रुटि हो भने अबिलम्ब सच्याउनतर्फ सम्बन्धित निकायको ध्यान जाओस्’, उनले भने ।
मैथिली भाषालाई संरक्षण र सम्बर्द्धन गर्न उनले सरकारको ध्यानाकर्षण पनि गराए । ‘मैथिली भाषा एउटा भाषा मात्र होइन, यो एउटा संस्कृति, सभ्यता र प्राचिन परम्परा पनि हो । सम्पूर्ण आर्यवत् खण्डको समुन्नत र प्राचीन भाषा हो । मैथिली भाषाको विकास विना नेपाल पूर्ण हुनै सक्दैन’ नेपालीले भने ।
उनले मैथिली भाषा नेपालका राष्ट्रिय विभूती जनक र सीतासँग सम्बन्धित रहेको पनि बताए । मैथिली र भोजपुरी लगायत भाषाहरु संकटमा पर्दै गएको पनि उनले बताए ।
बाह्य भाषालाई मान्यता दिन नहुने भन्दै उनले नेपालकै भाषाहरुलाई अझ शक्तिशाली, समृद्ध र सम्मानित बनाउनुपर्ने बताए । ‘यो सदिच्क्षा हाम्रा सम्माननिय प्रधानमन्त्रीका ज्यूको पनि छ’ उनले भने ।
यसैगरी सांसद कमला कुमारी वलीले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने सरकारको योजना चुनौतीपूर्ण रहेको बताइन् । ‘यो आफैमा चुनौतीपूर्ण छ । त्यसका लागि सबै मिलेर देशको विकास गर्न अग्रसर हुनुपर्छ । अथाह सम्भावना बोकेको पर्यटन क्षेत्रलाई सबै मिलेर प्रवर्द्धन गर्नुपर्छ’ वलीले भनिन् ।
उनले प्रमुख पर्यटकीय स्थललाई आकर्षक पर्यटकीय स्थलको रुपमा विकास गर्न स्तरीय सडक, सभाहल तथा सम्मेलन केन्द्र जस्ता पूर्वाधार विकास गर्नुपर्ने बताइन् । नेपाल एकीकरणका सिलसिलामा प्रयोग भएका ऐतिहासिक गढ, किल्ला र बाटोहरु संरक्षण गरी आकर्षक पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने उनको रहेकाे छ ।
राष्ट्रियसभाको अर्को बैठक आईतबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।


प्रतिकृया दिनुहोस