'कश्मीर घटनाबारे सरकार बोलोस्, अनि हामी बाेल्छाै' - सांसद जितेन्द्र नारायण
काठमाडौं । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा कश्मीर समस्याबारे चर्चा चलेकाे छ । बैठककाे विशेष समयमा बोल्दै सांसद जितेन्द्र नारायण देवले कश्मीर समस्याबारे सरकारले धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
छिमेकी मुलुकहरुले आ–आफ्नो धारणा सार्वजनिक गरिरहेका बेला नेपाल मौन बस्नु सफल कुटनीति नहुने भन्दै उनले राष्ट्रिय सहमतिका साथ यसबारे सरकारले धारणा सार्वजनिक गर्नुपर्ने बताए । उनले भने – ‘परराष्ट्रमन्त्री ज्यूले यस घटनालाई नजिकबाट नियाल्दै छौ भन्नुभयो । यो नियाल्ने काम कहिलेसम्म हुन्छ ? आँट छ भने सरकारले बोलोस् अनि कांग्रेसले आफ्नो प्रतिक्रिया दिन्छ ।’
पछिल्ला कार्यशैलीले सरकार उत्तरतिर फर्कने प्रयत्न गर्दैछ भन्ने संदेश गएको भन्दै उनले यस्तो सन्देशले नेपाललाई भविष्यमा समस्या पार्ने चेतावनी दिए ।
भारतसँगको कुटनीतिक सम्बन्धमा असन्तुलन पैदा हुदा पर्न सक्ने सामाजिक, राजनीतिक र आर्थिक असरबारे समयमै सोच्न उनले आग्रह गरे ।
उनले नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालले आफ्नो चासोका विषयमा अडानका साथ प्रस्तुत हुन नसकेको आरोप पनि लगाए । सन् १९५० को सन्धिका बारेमा नेपालले आफ्ना कुराहरु राख्न नसकेको भन्दै उनले असन्तुष्टी जनाए । उनले भने ‘व्याक टु मंगलमान भयो । घुमिफिरी रुम्जाटार भयो ।”
०४८ मै उठेको विषयमा अहिले पनि अगाडि नबढेर आवश्यक रोडम्याप बनाउन दुवै देशका परराष्ट्र सचिवलाई दिएको निर्देशनलाई उपलब्धि मान्न नसकिने उनको भनाइ छ ।
शैक्षिक माफियालाई कारबाही
त्यसैगरी सांसद रामप्रित पासवानले सरकारले शैक्षिक माफियालाई कडा कारबाही गर्नुपर्ने बताए ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीईभीटीले सार्वजनिक गरेको प्रोफिसेन्सी सर्टिफिकेट इन जेनेरल मेडिसिनको नतिजामा दलित लगायतका विद्यार्थीलाई दिईने कोटामा गैरदलितको नाम निकालिएको भन्दै उनले सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
ट्राफिक लाइट व्यवस्थापन
त्यस्तै, सांसद भैरव सुन्दर श्रेष्ठले ट्राफिक लाइट व्यवस्थापन भए लाइटसँगै जोडिएका सीसीटीभीको मद्दतमा अपराधी पत्ता लगाउन सकिने बताएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले भने – ‘विकसित देशमा प्रहरी खटिनु पर्दैन । कैयन अपराधिक घटना हुन्छन्, त्यहाँ ट्राफिक लाइटसँगै जोडिएका सीसीटीभीले त्यस्ता अपराधिलाई समाउन सकिन्छ’ ।
सुर्खेतबाट कोरियन भाषा सिक्न काठमाडौं आएका एक विद्यार्थी चोरीको आरोपमा पक्राउ परेर निर्दोष सावित भएको केही समयपछि निधन भएको घटना सुनाउँदै उनले प्रहरीको अनुसन्धान फितलो भएको बताए ।
सवारी साधनको कारबाहीबाट उठेको राजस्वबाटै भएपनि सरकारले ट्राफिक लाइट व्यवस्थापन गर्नुपर्ने उनले बताए । ‘ट्राफिक प्रहरीले सवारीसाधन कारबाहीमा गएको वर्ष करिब ३१ करोड राजस्व उठाएका छन् । त्यसबाट १०–१५ करोड रकम छुट्याउने हो भने काठमाडाैका महत्वपुर्ण ठाँउमा हामी उज्यालो देख्छौँ’ उनले भने ।
यसबाट ट्राफिक प्रहरी पनि सुरक्षित हुने उनको भनाइ छ । ‘अध्यारोमा हातले यता जाउ उता जाउ भन्दा गुडिरहेका गाडीले ट्राफिकको ज्यान जान सक्छ’ श्रेष्ठले भने ।


प्रतिकृया दिनुहोस