• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

उद्योग समितिमा मन्त्री र सांसदबीच चर्काचर्की

सनराइज खबर संवाददाता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सम्बन्धित मन्त्रीको उपस्थितिमा मात्रै मन्त्रालय र त्यससंग सम्बन्धीत विषयको निर्णय गर्न संसदीय समितिलाई दबाब दिएका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री यादवले आफ्नो अनुपस्थितिमा आफ्नो मन्त्रालय मातहका विषयमा निर्णय नगर्न सभापतिलाई चेतावनी नै दिएका हुन् ।

सभापति विमल श्रीवास्तवले सम्बन्धित विषयमा सरोकार राख्ने पक्षसंग छलफल, राय, सुझाव लिए पनि निर्णय गर्दा मन्त्री नै राख्नुपर्ने प्रावधान नरहेको बताएपछि मन्त्री यादव आक्रोशित बनेका थिए । मन्त्रीको आवश्यकता नपर्ने भए म किन बस्ने ? भन्दै उनी बसेको कुर्सीबाट उठेका थिए । 

बैठक छोडेर मन्त्री बाहिरीन खोजेपछि केहीबेर स्थिति असहज बनेको थियाे ।

समिति सदस्यहरुको आग्रहमा ढोकाबाट फर्किएका मन्त्री यादवले मिडियाप्रति आक्रोश पोखे । उनले कस्तो समाचार लेख्ने कस्तो नलेख्ने सिकाउनुको साथै मिडियालाई कुन समाचार दिने, कुन नदिने भन्ने बारेमा निर्देशन दिन सभापतिको ध्यानाकर्षण नै गराए ।  

औद्योगिक व्यवसाय सम्बन्धि विधेयकमा छलफलका लागि बसेको बैठकको सुरु देखि नै तनाबपूर्ण बनेपछि समिति सदस्यहरुले समितिको संवैधानिक अधिकार, संसदीय पद्धती, क्षेत्राधिकार लगायत बारे आवश्यक ज्ञान राख्न मन्त्रीलाई सुझाएका थिए ।

समितिको क्षेत्राधिकारका विषयमा चर्काचर्की भएपनि बैठक निर्धारित विषय वस्तुमा प्रवेश नै नगरि शुक्रबार बस्ने गरि स्थगित भएको छ ।

 

 


 

प्रतिकृया दिनुहोस