संसदीय समितिले सुरेश वाग्ले अस्पतालबारे मन्त्रीसँग छलफल गर्ने
काठमाडौं । संसदीय समितिले सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पतालका बारेमा सरोकारवाला मन्त्रीहरुसँग छलफल गर्ने भएको छ ।
त्रिवि शिक्षण अस्पतालको परिसरमा रहेको सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल लामो समय देखि सञ्चालनमा नआएकाले समितिले त्यसबारेमा छलफल गर्न लागेको हो ।
संघीय संसद प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले सो अस्पतालको अवस्थाबारे शिक्षा, स्वास्थ्य र सहरी विकास मन्त्रालयसंग छलफल गर्ने भएको हो ।
मंगलबार सिंहदरबारमा बसेको बैठकमा सदस्यहरुले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको बहुवर्षीय परियोजना अन्तरगत सन् २०११ मा ३ बर्षमा निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको अस्पताल अहिले सम्म नबन्नु सरकारी गैह् जिम्मेवारीको पराकाष्टा भएको भन्दै सम्बन्धीत मन्त्रीलाई बोलाई कडा निर्देशन दिन सभापतिको ध्यानाकर्षण गराएका थिए ।
समिति सदस्य अञ्जना विशंखेले लामो समय भईसक्दा पनि निर्माण नभएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शहरी विकास मन्त्रालयलाई छलफलका लागि समितिमा बोलाउनुपर्ने बताइन्
त्यसैगरी समितिका अर्का सदस्य जीवन राम श्रेष्ठले सरकारकै आयोजनाका बारेमा सरकारी निकायले नै खोजी नगर्नू गैरजिम्मेवारीको पराकाष्टा भएको भन्दै सम्बन्धीत निकायलाई कडा कारवाहीको निर्देशन गर्नुपर्ने बताए ।
त्यसैगरी समिति सदस्यहरु खगराज अधिकारी, उमाकान्त चौधरी, उमेश श्रेष्ठ लगायतले पनि अस्पताल निर्माणका बारेमा सम्बन्धीत मन्त्रालयले गरेको लापरवाहीबारे मन्त्रीलाई बोलाई छलफल गर्नुको साथै कडा निर्देशन दिनुपर्नेमा सभापतिको ध्यानाकर्षण गराए ।
छलफलपछि समितिले बुधबार सरोकारवाला मन्त्रालयहरु शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शहरी विकास मन्त्रालयलाई छलफलका लागि बोलाएको हो ।
नेपाल सरकारर स्वास्थ्य मन्त्रालयको बहुबर्षीय परियोजना अन्र्तगत सन् २०११ डिसेम्बर १४ मा ३ बर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरि सम्झौता भएको सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्र भवन निर्माणका लागि २ पटक भेरिएशन आदेश र तेश्रो पटक म्याद थप भईसकेको छ ।
पटक पटक थप भएको समयमा पनि निर्माण कार्य सम्पन्न नभएपछि अहिले भेरिएशन स्वीकृति र म्याद थपको प्रक्रिया नै अगाडि बढाईएको छैन ।


प्रतिकृया दिनुहोस