‘अत्यधिक जरिवाना गर्ने हो भने राजस्व तिर्नेभन्दा जेल बस्ने धेरै हुन्छन्’
काठमाडौं । सांसदहरुले राजस्व चुहावट रोक्नका लागि अत्यधिक जरिवानाको व्यवस्था गर्दा लक्ष्य प्राप्त गर्न नसकिने भन्दै जरिवाना कम गर्नुपर्ने धारणा राखेका छन् ।
सोमबार बसेको संघीय संसद्, प्रतिनिधि सभाअन्र्तगत अर्थसमितिको बैठकमा राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सदस्यहरुले दण्ड जरिवाना धेरै राख्दा राजस्व तिर्नभन्दा कैद मात्रै भोग्ने प्रवृत्ति बढ्ने आंशका व्यक्त गरे ।
समिति सदस्य लक्ष्मणलाल कर्णले बिगोको शतप्रतिशत जरिवाना नै उपयुक्त हुने भन्दै दुई सय प्रतिशत जरिवानाको व्यवस्थाले राजस्व तिर्नेभन्दा पनि कैद मात्रै भोग्ने प्रवृत्ति बढ्ने तर्क गरे ।
त्यसैगरी समिति सदस्य प्रेम सुवालले राजस्व असुलीमा राजस्व विभागको प्रभावकारिता नदेखिएको बताए । ‘राजस्व कार्यालय तातो हावा जस्तो छ । आगो बल्ने चाहिन्छ । तातो हावाले केही हुँदैन’, सुवालले भने, ‘लामखुट्टे पनि मर्दैन अहिले । यो विधेयकले चाहिँ काम गर्ला जस्तो लागेन ।’
उनले कुनै पनि उत्पादित वस्तुको मूल्य बढेसँगै राजस्व पनि बढ्नुपर्ने भन्दै मूल्य बढ्ने तर राजस्वमा प्रभाव नदेखिँदा चुहावट धेरै हुने गरेकाले यसलाई विधेयकले सम्बोधन गर्नुपर्ने बताए । राजस्व चुहावटको मुद्दामा अधिक जरिवाना वा कैदभन्दा निश्चित अवधिको कैद व्यवस्था गरिनुपर्ने धारणा राखे ।
संशोधित विधेयकमा ५० लाख रुपैयाँसम्मको बिगोमा ६ महिना कैद, ५० लाखदेखि एक करोड रुपैयाँसम्मको बिगोमा ६ महिनादेखि एक वर्ष कैद, एक करोडदेखि तीन करोड रुपैयाँसम्मको बिगोमा एकदेखि तीन वर्ष कैद र तीन करोडमाथि जतिसुकै बिगो भए पनि तीनदेखि पाँच वर्षसम्म कैदको व्यवस्था गरिएको छ ।
बैठकमा राजस्व अनुसन्धान विभागका प्रमुख दीर्घराज मैनालीले राजस्व असुलीलाई प्रभावकारी बनाउन जरिवाना लगायत दण्ड सजायको व्यवस्थालाई संशोधन गरिएको जानकारी गराएका थिए ।
त्यसैगरी अर्थमन्त्रालयका राजस्वतर्फका सचिव राजन खनालले प्रदेश र स्थानीय तहमा पनि कर उठाउने, कर लगाउने र सञ्चित कोषको व्यवस्था गरिएकाले चुहावट अनुगमनका लागि अन्तरिम व्यवस्था गरिनुपर्ने बताए । उनले राजस्व चुहावटमा मिलेमतो गरेको पाइएमा राष्ट्रसेवक कर्मचारीलाई पनि निलम्बन गरी अधिकतम ९० दिनसम्म थुनामा राख्न सक्ने व्यवस्था विधेयकमा गरिएको बताए ।
यसअघि राजस्व चुहावटको मुद्दामा कर्मचारीलाई के गर्ने भन्ने सम्बन्धमा ऐन मौन थियो । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विगतमा राजस्व संकलन तथा परिपालना गराउने निकाय र राजस्व सम्बन्धी कानुन परिपालन गर्दा त्रुटि भएकाले प्रभावकारी बनाउन राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखिएको बताए ।
उनले ढुवानी मालिक र चालक दुवैलाई जिम्मेबार बनाउन मालसामान र सवारीसाधनको ट्रयाकिङको व्यवस्था गरिएको स्पष्ट पारे ।
समितिले सोमबार राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ लाई संशोधन गर्न बनेको विधेयकका संशोधनकर्ता सम्बन्धित मन्त्री तथा विभागसँग छलफल गरेको हो ।


प्रतिकृया दिनुहोस