• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

परराष्ट्रकै कर्मचारीले सीमाबारेका दस्तावेज लुकाए : माधव नेपाल (भिडियाेसहित)

सनराइज खबर संवाददाता

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले परराष्ट्र मन्त्रालयका कर्मचारीले नेपाल–भारत सीमा सम्बन्धमा गरिएका सम्झौताका पुराना दस्तावेज लुकाएको आरोप लगाएका छन् । 

संघीय संसद्, प्रतिनिधि सभाअन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा पूर्वप्रधानमन्त्री नेपालले सरकारका कर्मचारीबाट नै पुराना दस्तावेज लुकाउने काम भएको दाबी गरे । उनले कर्मचारीको नियत र मुलुकप्रतिको उत्तरदायित्वमाथि नै शंका व्यक्त गरे ।

राष्ट्रसेवक कर्मचारीले अन्य देशको हितमा हुने गरी काम गर्नका लागि विभिन्न किसिमका सुविधा लिने गरेको सुन्नमा आएको भन्दै उनले शंकास्पद कर्मचारीमाथि निगरानी बढाउन सरकारको ध्यानाकर्षण पनि गराए ।

पूर्वप्रधानमन्त्री नेपालले कैलाली घटनाबारे सर्वत्र चर्चा भइरहँदा पनि सरकार र सम्बन्धित निकायबाट सम्बोधन नहुँदा जिम्मेवार व्यक्ति र संस्थाप्रति नै शंका उत्पन्न भएको टिप्पणी गरे ।

सीमा विवाद, विगतमा भएका असमान सन्धि सम्झौता, तटबन्ध, डुबानलगायत समस्याको समाधान खोज्दा नेपालको हितमा कुठाराघात नहुने गरी खोजिनुपर्ने उनले बताए ।

उनले तराई क्षेत्रमा बर्सेनि हुने डुबान समस्याको सम्बोधन गर्दा नेपाल भारतको बराबरभन्दा पनि भारतले ठूलो आर्थिक दायित्व बहन गर्नुपर्ने तर्क गरे ।
 

प्रतिकृया दिनुहोस