राष्ट्रिय गौरवका आयोजना अघि बढाउन वित्तिय चुनौती छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले खतिवडाले आन्तरिक स्रोतबाट सञ्चालित राष्ट्रिय गौरवका आयोजना अगाडि बढाउन अहिले वित्तिय चुनौती रहेको बताउनु भएकाे छ ।
राष्ट्रिय सभाकाे राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा मन्त्री खतिवडाले वैदेशिक सहायता प्राप्त नहुने र आन्तरिक स्रोतबाट जुटाउनुपर्ने आधा दर्जन बढी गौरवका आयोजना अगाडि बढाउन वित्तिय चुनौती रहेको बताउनुभयो ।
आफ्नै स्रोतबाट निर्माण सुरु गरिएका आयोजनामा स्रोत जुटाउन कठिन भएको बताउँदै उहाँले दातृ निकायले लागत उठ्न लामो समय लाग्ने आयोजनामा लगानी नगर्ने भएकाले बजेट नहुने बताउनुभयो ।
सञ्चालनमा रहेका आयोजनाहरुमा कोराेनाका कारण भने बजेट अभाव हुन नदिने उहाँले बताउनुभयो । अन्य क्षेत्रबाट भएपनि स्रोत व्यवस्थापन गरेर व्यवस्थापन गरिने मन्त्री खतिवडाले जानकारी दिनुभयाे ।
उहाँले विदेशी सहायतामा आश्रित केही आयोजनामा समस्या हुने गरेको समेत बताउनुभयो । उनीहरुले राख्ने गरेका सर्तहरु पुरा गर्न सक्ने अवस्था सँधै नहुने भएकाले केही आयोजना कार्यान्वयनमा ढिलाइ हुने गरेको उहाँको भनाई छ ।
एमसीसी अनुमोदन गर्ने नगर्ने विषयमा चाँडो निर्णय गरी अगाडि बढ्नुपर्ने भन्दै म न्त्री खतिवडाले एमसीसी अनुमोदनको विषय संसद्मा विचाराधिन रहेकाले एमसीए नेपाल अन्तरर्गतको काम प्रभावित भएको बताउनुभयो ।
सरकारले अहिले आफ्नो खर्चले स्थानीय आवश्यक खर्च गरिरहेको भएपनि दाताले दिने रकमको टुंगो नभएको उहाँले बताउनुभयो । एमसीसी अनुमोदन नभए सरकारले अन्य स्रोतबाट आयोजना अगाडि बढाउने उहाँकाे भनाइ छ ।
एमसीसी परियोजनाको सहयोगमा सरकारले लप्सीफेदी—रातामाटे—हेटौंडा र लप्सीफेदी—रातमाटे—दमौली—बुटवल ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माणको योजना अगाडि बढाएको छ । एमसीसी संसदबाट अनुमोदन नभए सरकारले अन्य स्रोतबाट साे परियाेजना पूरा गर्ने यसअघि नै बताइसकेको छ ।


प्रतिकृया दिनुहोस