संघीय संसद्मा पनि उठ्यो नेपालमा राम जन्मिएकाे विषय
काठमाडौं । भगवान राम नेपालमै जन्मनुभएको हो भन्ने विषयले संघीय संसद्को समितिमा पनि प्रवेश पाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एक दशक पहिले झापाको दमकमा आयोजित एक कार्यक्रममा राम भारतमा नभएर नेपालमा जन्मिएको भन्नुभएको थियो । अहिले प्रधानमन्त्री बनेपछि पनि उहाँले रामको जन्म नेपालमै भएको हो भन्नुभएपछि बहस सिर्जना भएको छ ।
‘रामको जन्म नेपालमा भएको र अयोध्या नेपालमा पर्छ’ भनि प्रधानमन्त्रीले भानु जयन्तीको दिन अभिव्यक्ति दिनुभएको थियो । सांसद्हरुले राम नेपालमा जन्मिएकाे सत्यतथ्य पत्ता लगाउनुपर्ने बताउनुभएको छ ।
नेकपाका सांसद् नारदमुनी रानाले समिति बैठकमा भन्नुभयो– ‘भारतका प्रधानमन्त्रीले मनपरी बोल्दै हिँडेका छन् । बुद्ध भारतमा जन्मिएको भनेका छन् । नेपालका प्रधानमन्त्रीले राम नेपालमा जन्मिएको भन्नुभएको छ । यसको खोज अनुसन्धान गरियोस् । पुरातत्व विभागले यसको जिम्मा लिओस् ।’
नेपाली कांग्रेसका सांसद् दिव्यमणि राजभण्डारीले अयोध्या र ठोरीका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई व्यक्तिगत रुपमा लिन नहुने बताउनुभयो । उहाँले ठोरीको अनुसन्धानलागि के व्यवस्था भएको छ भन्ने प्रश्न गर्नुभयो ।
नेकपाका अर्का सांसद् सरला कुमारी यादवले प्रधानमन्त्रीले कुरा उठाएपछि त्यसलाई पुरातत्व विभागले उत्खनन गर्दै अध्ययन अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कांग्रेसकै अर्का सांसद् पुष्पा भुसालले यस्ता विषयलाई हल्का छलफलको विषय बनाउन नहुने बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका अवसरमा राम नेपालमा जन्मेको र भारतमा रहेको अयोध्या नक्कली भएको अभिव्यक्ति दिएपछि अहिले यो विषय चर्चाको विषय बनेको छ ।


प्रतिकृया दिनुहोस