• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

विवाह गर्नासाथ विदेशी महिलालाई नागरिकता दिनुपर्छ : राजेन्द्र महताे

सनराइज खबर संवाददाता

काठमाडौं । राजपाका सांसद् राजेन्द्र महतोले नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिनुपर्ने बताउनु भएको छ ।

विवाह भएर आउनासाथ नागरिकता दिने वैवाहिक सम्बन्धले राष्ट्रियतामाथि कतै प्रभाव नपार्ने उहाँको भनाई छ । ‘जनस्तरको सम्बन्ध नटुटाऔं, यसले परिवारभित्र दुईवटा राष्ट्रियता जन्माउँछ’ - उहाँले भन्नुभयो ।

अ‌ाइतबार बसेकाे प्रतिनिधि सभाकाे राज्यव्यवस्था तथा सुशासन समितिकाे बैठकमा बाेल्दै महतोले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलालाई नागरिकता दिन ७ वर्षको प्रस्ताव गरिएकोमा असहमति जनाउनुभयो । यसले समाजलाई असर गर्ने समेत उहाँले दाबी गर्नुभयाे ।

यो व्यवस्था संविधानको मर्मविपरित भएको उहाँले बताउनुभयो । यो व्यवस्था महिला अधिकार विरुद्ध भएको पनि महतोले जिकिर गर्नुभयाे ।

सांसद् राजकिशोर यादवले पनि ७ वर्षको प्रावधान नस्वीकार्ने बताउनुभयो । यसले नकारात्मक प्रभाव पार्ने भएकाले स्वीकार्न नसकिने उहाँको भनाई छ । ‘कि त राष्ट्रिता खतरामा पर्‍याे भनेर अन्य मुलुकका नागरिकसँग नेपालीलाई विवाह गर्नैै नदिउँ, कि अहिले जे व्यवस्था छ त्यही नै कायम गरौँ’- उहाँले भन्नुभयो ।

सांसद् प्रेम सुवालले भने नागरिकता कुनै सिनेमा हलको टिकट नभएको बताउँदै जसलाई पायो त्यसलाई दिन नहुने बताउनुभायो । यसले राष्ट्रियता माथिनै आँच आउने उहाँको भनाई थियो ।

 

प्रतिकृया दिनुहोस