• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

भूकम्पपछिको पुनःनिर्माणकाे कामलाई तीव्रता दिन ५५ अर्ब बजेट  विनियोजन

सनराइज खबर

काठमाडाैं । आर्थिक वर्ष २०७७/७८ मा भूकम्पपछिको पुनःनिर्माणका लागि  ५५ अर्ब  रूपैयाँ बजेट विनियोजन भएको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आगामी आवको बजेटमा निर्माणाधीन धरहरा, रानीपोखरी र सिंहदरबारलगायत सबै संरचनाको पुनःनिर्माण सम्पन्न गरिने  बताउनु भयाे ।

साे बजेटले  निजी आवास, पुरातात्विक सम्पदा, विद्यालय भवन, स्वास्थ्य संस्था र सरकारी भवन तथा क्षतिग्रस्त अन्य संरचनाको पुनःनिर्माणमा टेवा पुर्‍याउने उहाँले बताउनुभयाे ।

विद्यालय भवनको बाँकी काम पुनःनिर्माण सम्पन्न गर्न सम्बन्धित स्थानीय तहको साझेदारीमा स्थानीय आवश्यकता अनुसार डिजाइन गरी विद्यालय व्यवस्थापन समितिबाट निर्माण गरिने उहाँले बताउनु भयाे ।

पाँच वर्षअघिको भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनःनिर्माण आगामी आर्थिक वर्षमा सम्पन्न गरिसक्ने नीति राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको नीति तथा कार्यक्रममा पनि उल्लेख थियो ।

हालसम्म चार लाख ९५ हजार निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । क्षतिग्रस्त ७५३ पुरातात्विक सम्पदामध्ये ४०२ को पुनःनिर्माण सम्पन्न भएको जनाइएको छ । भूकम्पले भत्किएको धरहराको ४० र रानीपोखरीको ७० प्रतिशत पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । 

नदी कटान र वातावरणमा प्रतिकूल प्रभाव नपर्ने गरी नदीजन्य निर्माण सामग्रीको सहज आपूर्ति हुने व्यवस्था गरी पुनःनिर्माणको कामलाई तीव्रता दिइने सरकारको नीति छ ।

पुनःनिर्माण गर्न आवश्यक निर्माण सामग्रीका लागि नीतिगत र कानूनी व्यवस्था गरी निर्माण सामग्रीको सहज आपूर्तिका लागि सम्भाव्य एवं उपयुक्त उत्पादन केन्द्र तोकिने नीति सरकारले लिएकाे छ ।

प्रतिकृया दिनुहोस