• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

संसद्का दुवै सदनको बैठक आज, अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने

सनराइज खबर संवाददाता

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज (बुधबार) बस्दैछ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको हो ।

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ टेबुल गरिने कार्यसूची रहेको छ । साथै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम तय गरिएको छ ।

यस्तै, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आजै राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन् । साथै, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैबीच, प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि आज बिहान बस्दैछ । बैठकमा किसानलाई रासायनिक मलको सहज तथा सुलभ आपूर्तिका विषयमा छलफल हुने जनाइएको छ ।

समितिले रासायनिक मलको मौज्दात, वितरण प्रणाली तथा आगामी योजनाबारे कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पदाधिकारीहरूसँग विस्तृत छलफल गर्ने कार्यसूची तय गरेको छ ।

प्रतिकृया दिनुहोस