अभिभावक र चन्दादाताको साथले सम्भव भयो बस सेवा: प्रधानाध्यापक गणेश बहादुर चन्द
सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाको केन्द्रमा अवस्थित श्री प्रभाकर माध्यमिक विद्यालय, देवस्थलले चालु शैक्षिक सत्रदेखि विद्यार्थीहरूका लागि विद्यालय बस सेवा सञ्चालनमा ल्याएको छ। दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई विद्यालय आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो।
विद्यालयका प्रधानाध्यापक गणेश बहादुर चन्दका अनुसार अभिभावक तथा विभिन्न चन्दादाताबाट संकलित सहयोग रकमबाट बस खरिद गरिएको हो। समुदायको सक्रिय सहभागिता र सहयोगले विद्यालयले यस्तो महत्वपूर्ण सेवा विस्तार गर्न सफल भएको उनले बताए।
प्रधानाध्यापक चन्दले विद्यालयको नेतृत्व सम्हालेपछि शैक्षिक, व्यवस्थापकीय तथा भौतिक पूर्वाधारका क्षेत्रमा उल्लेखनीय सुधार भएको देखिएको छ। बस सेवा सञ्चालनसँगै अब विद्यार्थीहरूको नियमित उपस्थितिमा वृद्धि हुने र शिक्षामा थप सहजता आउने विश्वास गरिएको छ।
विद्यालय बस ढोरपिपल, बालुवा सङ्ग्रही, अम्रा र सल्लीबजार क्षेत्रबाट सञ्चालन हुने जनाएको छ। यस सेवाले विशेषगरी टाढा–टाढाबाट आउने विद्यार्थीहरूलाई ठूलो राहत पुर्याउने अपेक्षा गरिएको छ।
स्थानीय स्तरमै शिक्षा सुधारका लागि गरिएको यो प्रयासलाई उदाहरणीय कदमका रूपमा लिइएको छ।


प्रतिकृया दिनुहोस