बाढीको जोखिम बढेपछि तिब्बतमा उद्धार अभियान रोकियो
बेइजिङ (एजेन्सी)। तिब्बतको सीमा क्षेत्रमा गएको भीषण पहिरोका कारण बेपत्ता भएकाहरूको खोजी तथा उद्धार अभियान प्रभावित भएको छ। पहिरोपछि थप बाढी आउन सक्ने जोखिम बढेपछि चिनियाँ अधिकारीहरूले तत्कालका लागि उद्धार कार्य स्थगित गरेका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार पहिरोबाट बगेको गेग्रान र लेदो जम्मा भएर बनेको अस्थायी तालमा पानीको दबाब बढेको र त्यसबाट पानी बाहिर निस्किएर उद्धार टोली परिचालन गरिएको क्षेत्रमा बग्न थालेपछि जोखिम बढेको हो।
जोखिमपूर्ण अवस्था सिर्जना भएपछि उद्धारमा खटिएका सबै टोलीलाई हाल रहेकै स्थानमा सतर्क अवस्थामा रहन र थप निर्देशन नआएसम्म अघि नबढ्न भनिएको छ।
यसअघि घटनास्थलमा पुगिसकेका आपत्कालीन उद्धार टोलीलाई समेत सम्भावित बाढीबाट जोगिन सुरक्षित दूरी कायम गर्न निर्देशन दिइएको छ। सीसीटीभीका अनुसार केही टोलीलाई घटनास्थलबाट करिब एक किलोमिटर पछाडि हटाइएको छ।
पहिरोका कारण उक्त क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको अनुमान गरिएको छ। यद्यपि, प्रतिकूल मौसम, कठिन भौगोलिक अवस्था र पुनः बाढी आउन सक्ने सम्भावनाका कारण बेपत्ताको खोजी तथा उद्धार अभियान थप चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन्।
उद्धार कार्य तत्काल रोकिए पनि टोलीहरूलाई तयारी अवस्थामा राखिएको र जोखिम कम भएपछि खोजी तथा उद्धार अभियान पुनः सुरु गरिने बताइएको छ।


प्रतिकृया दिनुहोस