• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

प्रजातन्त्र दिवस र लोकतन्त्र दिवसमा के फरक छ ?

सनराइज खबर डेस्क

सनराइज खबर डेस्क

प्रजातन्त्र र लोकतन्त्र– यी दुई शब्द पर्यायवाची हुन् । प्रजातन्त्र दिवस र लोकतन्त्र दिवस दुवै किन मनाउने ? प्रश्न उठ्ने गरेको छ । प्रजातन्त्र भनेको राजनीतिक प्रणाली हो तर ‘प्रजातन्त्र दिवस’ को अर्थ र सन्दर्भ यतिमा मात्र सीमित छैन । ०७ सालपछि नेपालले आफूलाई कसरी स्वतन्त्र र सार्वभौम राख्न प्रयास गर्यो, त्यो प्रयासमा कसरी सफल भयो भन्ने उद्वोधन गराउने दिन हो प्रजातन्त्र दिवस । ०७ साल फागुन ७ गते प्रजातन्त्र मात्र आएको थिएन, नेपालले नयाँ युगमा समेत प्रवेश गरेको थियो ।

नेपाली जनताले ‘राजनीति’ लाई औपचारिक रुपमा चिनेकै ०७ साल फागुन ७ मा हो ।

नेपाल यसरी सार्वभौम र स्वतन्त्र देशको रुपमा आजको समयसम्म आइपुग्ला भन्ने आशा धेरै थिएन ०७ सालमा । त्यसबेलाको विश्व परिवेश, दक्षिण एसिया तथा समग्र एसियाको परिवेशलाई हेर्दा नेपालले आफ्नो स्वतन्त्रता जोगाइरख्न सक्ला भन्नेमा शंकै थियो । नयाँ राजनीतिक परिवेशमा फड्को मार्नु सहज हुँदैन, नयाँ परिवेशलाई व्यवस्थापन गर्नु कठिन र चुनौतिपूर्ण हुन्छ । तैपनि सबै खाले चुनौतिहरुलाई समाधान गर्दै, स्वतन्त्रता, अखण्डता र सार्वभौमिकतालाई जोगाउँदै नेपालले ०७ सालपछिका दिनहरुमा आफूलाई बलियो र झन बलियो बनाउँदै लग्यो । प्रजातन्त्र दिवस मनाइरहँदा यो तथ्यमा ध्यान दिइनुपर्छ । 

युगसन्धीको दिन थियो ०७ साल फागुन ७ गते, त्यसैले प्रजातन्त्र दिवस मनाउनुपर्छ । 

लोकतन्त्र र प्रजातन्त्र एउटै हो भनेर एउटा दिवस मात्र मनाए हुन्छ भनी विचार ल्याउनु भनेको ऐतिहासिक सन्दर्भ बाहिर जानु हो । ०७ साल फागुन ७ गतेको मितिबाट नेपालले विश्व सामु वास्तविक अर्थमा एउटा राष्ट्रको रुपमा आफूलाई उभ्याउने र चिनाउने यात्रा थालेको हो । तसर्थ, प्रजातन्त्र र लोकतन्त्र दुई शब्दले समान अर्थ दिए पनि ‘प्रजातन्त्र दिवस’ र ‘लोकतन्त्र दिवस’ले समान अर्थ दिँदैन । यी दुई दिवस मनाउनुको अर्थ र उपादेयता भिन्न छ । यी दुई दिवसले दिने सन्देश र यिनको ऐतिहासिक पृष्ठभूमि फरक छ ।

प्रजातन्त्र आएको सात दशकपछि नेपाल कस्तो अवस्थामा छ ? यो प्रश्नको जवाफमा गर्वसाथ भन्न सकिन्छ– नेपाल उन्नत अवस्थामा छ । नेपाल प्रगति पथमा लम्किरहेको छ, विश्वकै उत्कृष्ट मध्येको संविधान छ, जननिर्वाचित प्रणालीले समाजमा जरा गाडेको छ, अर्थतन्त्र सुदृढ भएको छ, देशको प्रतिस्पर्धात्मक क्षमता बढेको छ, एउटा राष्ट्रका रुपमा विश्वमा नेपालले पहिचान बनाएको छ । नेपाल एक अजम्बरी राष्ट्र हो भन्ने तथ्य स्थापित भएको छ । हो, हामीले गर्नुपर्ने जति प्रगति उन्नति गरेका छैनौं तर ०७ साल र आजको अवस्थालाई तुलना गर्ने हो भने अकल्पनीय फड्को मारेका छौं । 

मुख्य कुरा– नेपाल र नेपालीले भविष्यका सम्भावनाहरुको अनन्त ढोका खोल्दैछन्, नेपाल र नेपाली प्रगति पथमा लम्किएका छन् । यो देशको भविष्य छ र यो देश बनाउन सकिन्छ, अवश्य बन्छ भन्ने विश्वाश नेपाली जनतामा छ । यस्तो आशा र विश्वाशको पृष्ठभूमिमा प्रजातन्त्र दिवस देख्न सक्छौं । 

प्रजातन्त्र दिवस भनेको राजनीतिक प्रणालीलाई इंगित गर्ने दिवस मात्र होइन, योभन्दा धेरै केही हो । मुलुकको सामथर््य, सम्भावना तथा भविष्यको विमर्श गर्ने दिवस हो । प्रजातन्त्र दिवसलाई वृहत अर्थ र सन्दर्भमा मनाइनु आवश्यक छ । 


 

प्रतिकृया दिनुहोस