• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

राष्ट्र रक्षा : चाणक्य र ओली

दयालबहादुर शाही

दयालबहादुर शाही

इतिहासका निर्माता ढुुंगाका देउताहरु होइनन्, जनदेवता हुुन् । युगदेखि युगसम्मका घटनाले यो पुष्टि गरेको छ, चुनौतिले महानायक जन्माउँछ । चुुनौतीले कहिले चाणक्य जन्माउँछ । आवश्यकताले कहिले पृथ्वीनारायणको उदय गराउँछ, कहिले वीपीलाई अघि सार्छ र कहिले मदनलाई काखी च्याप्छ र घेराबन्दीले जन्माउँछ ओली । 

इतिहासका हरेक कालखण्डमा साधुहरुले गरेको जनताको तपका अगाडि स्वादुहरुको छलछाम टिकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतत्वमा संक्रमणकालीन नेपालले पार गरिरहेको कठिन यात्रा, हासिल गरेका उपलब्धी र बोकेको विराट सम्भावनाहरुको भ्रूण चाणक्यकालीन भारतीय महाद्विपले उठाएको चुनौति र राष्ट्र रक्षा जस्तो महानतम् सफलतासँग मिल्दोजुल्दो छ । 

उहिलेका चाणक्य र अहिलेका ओली

बाइस सय वर्षअघि यूरोपबाट राज्यहरुलाई जित्दै आँधी झैं एसियातिर मोडिएका विश्वविजेता सिकन्दर र उनका उत्तराधिकारी सेलुकसको सामना गर्न आचार्य चाणक्यले यस भूखण्डका परम्परागत ढर्राका राजाहरुलाई उखेलेर चन्द्रगुप्तको नयाँ पुस्तालाई राज्यसत्ताको केन्द्र भागमा ल्याएका थिए । चाणक्यले जनता र देशप्रति प्रतिवद्ध शासक र चुनौतिकै हाराहारीको चेतना आपूर्ति गरी जनताको शक्तिलाई संगठित गरेका थिए । उनले जनताको शास्त्रवल र शस्त्रवलको जीर्णोद्धार गरी यस भूखण्डको शक्तिलाई पर्सियन विजेताहरुको आँधी रोक्न सकेका थिए । 

चाणक्यको त्यो प्रयोग आज एसियाको जेठो राज्य नेपाललाई समाप्त पार्न गरिएको निरन्तरको हस्तक्षेप सामना गर्न ओलीले देखाएको सौर्य र धैर्यमा दोहोरिएको छ । तत्कालीन एमालेको पुरानो ढर्रा र जुम्सोपनको जरो उखेल्नु ओलीको महत्वपूर्ण देन थियो । जुम्साहरुको सट्टा तेजकरार नयाँ पंंतिको बलमा नेपाली कांग्रेस र तत्कालिन माओवादीका अगाडि एमालेलाई स्वाभिमानको मेरुदण्ड उभ्याउनु ओलीको असल सुरुवात थियो । त्यही असल सुरुवातले बिहानीले दिनको संकेत गरेझै आशावादिताको रक्तसंचार गरेको थियो । 

नाकाबन्दीको चुनौतिले पार्टीभित्रै गुट गर्न मात्र जान्ने आक्षेप खेपिरहेका ओलीलाई एमालेको मात्र नभई राजनेताको सक्कली हैसियतमा प्रमाणित गराइदियो । ओलीले जनताको सबल नेतृत्व गरी नयाँ नेपाललाई काँध थापेको तथ्य अहिलेको जीवित सत्य हो । अपजश र कमजोरी जति ओली थाप्लोमा खन्याएर श्रेय मात्र कुम्ल्याउने प्रतिस्पर्धीहरुले नै प्रकारान्तरले मैदान खाली गरेर ओलीलाई सघाउने सिलसिला जारी छ । 

कर्ताकै लागि प्रत्यूत्पादक

एघार पुस्तासम्म शासकीय सत्ताको मियो बनेको शाहवंशीय राजतन्त्र, राजाका हितैसीहरुको क्लब मानिने पंचायती व्यवस्था, विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला जस्ता शिखरपरुषहरुले सिंगो जीवन लगानी गरेर विचार, जनाधार र संस्कारले युक्त पारेको पाको र पुरानो दल नेपाली कांग्रेस कसैको पनि निरन्तरको हस्तक्षेप सामु सिप नचलेपछि वीर जाति नेपालीको चेतना र संवेग यतिबेला ओली लहरको ब्राण्डमा उर्लिएको छ । 

तर, अस्तित्व समाप्त पार्न खोजिएको मातृभूमिको रक्षा गर्न ओलीको नेतृत्वमा नेपाली जनताले पाएको यस सफलतालाई स्वीकार गर्न बिकेका कलम र कलमजीवीहरुलाई गाह््रो परेको छ । ओलीको उदयलाई रोक्न सामरिक अखडाहरु प्रयोग गर्ने संझौतासहित महाशक्ति अमेरिकासँग हिमचिम बढाइरहेको भारत र मोदी लहरको सुनामीमा उछालिएको भारतीय जनमतलाई चुनौतिको पहाडको रुपमा खडा गरी त्रसित पार्न खाजिएको थियो । 

ओलीलाई नेपाल र नेपालीको विपक्षमा उभ्याउन प्राकृतिक विपत्ति भूकम्पले पारेको क्षतिमाथि नाकाबन्दी, गृहयुद्धका लागि असफल अभ्यास र सरकार गठन विघठनका खेल लगायतका राजनीतिक विपत्तिको जोहो गरिएको थियो । अत्तालिने जतिले थाह पाउन नसकेको वा बुझेर पनि बुझ्पचाएको जीवित सत्य भनेकै ओलीलाई थला पार्न गरिएका जालसाजीहरु कर्ताकै लागि नै प्रत्युत्पादक हुँदै गएको सिलसिला हो । 

चुनौतिको यो चौघेरोको बीचमा ओलीलाई टिकाउने शक्तिको मुहान भनेको जनता प्रतिको ओलीको समर्पण हो । नाकाबन्दीको बेला सत्यसँग नलड्ने शक्तिसँग नझुक्ने उद्घोषका साथ देखाएको हिम्मत र देशभक्तिले ओलीलाई जनताको दिलमा र विरोधीलाई भिरमा पुराएको छ । मरेको बाघका जुँगा उखेल्नु, ढलेको रुखका टुप्पोमा उक्लनु सजिलो हुन्छ । त्यसरी नै बडा कष्ट खेपेर हासिल भएका महानतम् राजनीतिक उपलब्धिलाई तत्कालिक घटनाले उछाल्ने संवेदनासँग जोडेर तपसिलमा पार्नु पनि सजिलो हुन्छ । तर, व्यक्ति र स्वार्थसमूह निर्मम र कृतघ्न भए पनि सत्य, इतिहास र जनता सत्पात्रप्रति निर्मम र कृतघ्न बन्न जान्दैनन् ।

अहिले नेपालले संकटमाथि विजय पाएको सत्यलाई छोप्न गरिएको जालसाजी थाह पाउन ओलीको उदय रोक्न बुनिएको तानाबानाको समीक्षा आवश्यक हुन्छ । यसका लागि ओलीको जनता प्रतिको साधना र ओलीप्रेरित युवापुस्ताको मनोविज्ञान, योजना र सपना थाहा पाउनुपर्ने हुन्छ र बिरोधीले गर्ने गरेको तुष्टिकरण माथि प्रकाश पार्नुपर्ने हुन्छ । नेपालको दोश्रो संविधान सभा पनि विफल पार्ने नियतसाथ भारतले एस. जयशंकरलाई विशेषदूत पठाएर दलहरुलाई नेपाली जनता वा भारतीय हस्तक्षेप मध्ये एक रोज्न धममस दिएको थियो । 

नेपालको संविधान २०७२ सुशील कोइरालाको पालामा घोषणा भएको भनेर कांग्रेस घिरौंला जत्रो नाक पार्छ तर लगत्तै ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्न कोइरालालाई नै भारतले अघि सार्नुले कांग्रेस भारतको  त्यति बेलाको रुचिका लागि बाधक थिएन भन्ने प्रष्ट हुन्छ । त्यति बेला नेपालमाथि रचिएको जालसाजीको किस्ता यसप्रकार थियो ः

१) दुईदुई वटा संविधान सभा असफल पारी विश्वसामु नेपालको छवी र हैसियत कमजोर बनाएर नेपाललाई असफल राष्ट्र बनाउने र बदनाम गर्ने ।

२) टिकापुर काण्डजस्तै आन्तरिक विद्वेष बढाएर देशलाई गृहयुद्धतिर धकल्ने ।

३) सीमावर्ती क्षेत्रमा शरणार्थी थुपारेर प्रत्यक्ष हस्तक्षेपका लागि बाटो खुला गर्ने ।

४) संविधान घोषणा गर्नु अघि नै कांग्रेस एमाले गठबन्धन टुटाउने ।

५) एमाले र माओवादीको गठवन्धन बन्न नदिने ।

६)  दैनिक उपभोग्य वस्तुको अपूर्ति गराउन नसकेको झोंकमा ओली सरकारबिरुद्ध जनता उतार्ने र सरकारलाई सडकबाटै विस्थापन गर्ने ।

७) माओवादी केन्द्र विभाजन सरकारलाई अल्पमतमा पार्ने ।

८) एमालेभित्रै खेलेर ओलीलाई कमजोर पार्ने ।

यी सबै हत्कण्डाले काम नदिनुका साथै उल्टै शशक्त प्रतिवाद भएपछि एमाले र माओवादीको गठबन्धनलाई टुटाएर बदला लिने काम भयो । दुई पार्टीको गठबन्धनलाई जुगको मापदण्डमा ननापेर छाकको मापदण्डमा नाप्नका लागि उक्साउँदै नौ महिने सरकारजस्तो सस्तो बेसाहामा युगका रथ हाँक्ने महारथी शक्तिलाई प्रलोभनमा पारेर फसाइयो । नेपालमा पहिलो पटक दुई ठूला पार्टी बीच चुनाबी तालमेल गराएर तेश्रो पार्टी बिरुद्ध ब्रह्मास्त्र प्रयोग पनि ओली नेतृत्वकालको एमालेमाथि भयो । 

वास्तबमा स्थानीय तहको चुनाबमा कांग्रेसले खाजेको भनेको माओवादीलाई अचानो बनाएर एमालेलाई सदाका लागि धरासायी पार्ने थियो तर जनताको चेतनाका कारण परिणाम उल्टो आयो । यी सबै तगारा पन्छाएर भएको ओली उदयले यही पुष्टि गरेको छ । 

वैरीहरुले कुरिरहेको गौंडो

वास्तबमा कांग्रेस र माओवादीको हिमचिम र चुनावी तालमेल जरजर शरीरलाई भिन्न समूहको रगत दिनु जस्तै अप्राकृतिक राजनीति थियो भने एमाले माओवादी बीचको चुनावी तालमेल एउटै समूहको रगत दिनु जस्तै सुल्टो राजनीतिक अभ्यास थियो । कांगे्रससँगको सहकार्यका कारण माओवादी भिरको डिलमा पुगेर पतन कुरिरहेको थियो भने एमालेसँगको सहकार्यले माओवादी एमालेसँगै सफलताको शिखर आरोही बन्यो । 

एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बनेपछि हस्तक्षेपका राजनीतिक खेलाडीलाई महासंकट थपिएको छ । वामपन्थीहरुको फुटमा छिना चलाउदै सूक्ष्म व्यवस्थापन गर्न पल्केकालाई सत्तारुढ दलको चट्टानी एकता ठूलो चुनौति बनेको छ । अब समीकरणका खेतीवाल र महत्वाकांक्षाका व्यापारीले कांग्रेसलाई वहुपत्नीको धनी, चरम उपयोगितावादी लोग्ने जस्तो र वामघटकहरुलाई आफैं जस्ती अबला दिदीबहिनीको खुशी खोस्न सक्दाको आनन्द उठाउने जेठीकान्छी जस्तो नाजुक हालतमा नपाउने भएका छन् । 

यदि स्थानीय चुनावमा एमालेविरुद्ध थापिएको धराप नेपाली जनताको चेतनाले निष्क्रिय नपारेको भए राजनीति र परिस्थति यति चाँडै सङलो हुने थिएन । ओली लहरका कारण आज कांग्रेसका अगाडि नेकपा निरीह जेठीकान्छी होइन पाखुरा बटारिएको लक्का जवान छिमेकीको रुपमा अवतरित छ ।

अब नेपालका बैरीहरुले कुरिरहेको गौंडो भनेकै पार्टी एकतापछिको संक्रमणकालको प्रसवपीडा खेपिरहेको सत्तारुढ दलको आन्तरिक जीवनको संवेदनशीलता हो । सरकारले गरेका रणनीतिक महत्वका सन्धि, सुधार, विकास निकास, योजना र आयोजनालाई योजनावद्धढंगले उपहास गर्ने र ओझेलमा पार्ने बोलकबोल गरेका जतिको छटपटी विचित्रसँग बढेको छ । सदिऔं देखिको शोषण उत्पीडनका कारण जनताका परेका घाउ निको पार्न दुई तिहाई वहुमत जादुको छडी किन बनेन भनेर जनतालाई सरकारप्रतिको मोहभंग गराउन दूष्प्रचार युद्ध पेचिलो बनाइएको छ । 

संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य र सहअस्तित्वको मर्मलाई गलत ढंगले अर्थ लगाएर नेकपाका जनप्रतिनिधिबीच फुट पारिँदै छ । स्थानीय, प्रदेश र संघले गरेका राम्रा कामलाई समयको उपहारवर्षा भन्ने र कमजोरी जति व्यवस्था, लोकतन्त्र, प्रधानमन्त्री, दुई तिहाई र कम्युनिष्टको थाप्लोमा हाल्ने षडयन्त्र उद्योग चलिरहेको छ ।

बाह्य लगानी, सहयोग, अनुदान रोक्न लगाएर जनतामाथि घात गरिदै छ । कुनै जनप्रतिनिधिको ख्याति व्यक्तिका नाममा सीमित पारिदै छ र कुख्यात जनप्रतिनिधिको कमजोरी थुपार्ने कन्टेनर वामपन्थीहरुले पाएको जनादेशलाई बनाइँदै छ । छिमेक नीति, सत्तारुढ दलको आन्तरिक जीवन, द्वन्द्वकालिन न्याय र सत्य निरुपणको सवाल, प्रतिपक्षसँगको सम्वन्ध, सतारुढ गठबन्धन र सरकार बाहिर रहेका मधेसवादी दलहरुसँगको सम्वन्ध मध्ये कहाँ भ्वाङ पार्न सकिन्छ र सरकारलाई थला पार्ने भनेर गिद्दे नजर छरिँदै छ । 

संक्रमण कालको पार्टीको आन्तरिक जीवन केही समय अस्तव्यस्त हुनु अनौठो होइन । बरु यसलाई प्रधानमन्त्रीको रहर र बानीसँग जोड्नु अनौठो कुरा हो ।

भारतको भाजपा र नेपालको नेकपा

हिजो मोदीको उदयको बेला उठेको मोदी लहरलाई पनि एमालेको आगमन रोक्ने हाउगुजी बनाइएको थियो । भारतमा भाजपाले पाँच वटा राज्यको विधान सभा चुनावमा भोगेको पराजयलाई पनि नेकपा र ओलीसँग जोडिँदै छ । एक्लै आफूमात्र हावी हुँदा मोदीले भाजपालाई डुबाए जस्तै ओलीले नेकपालाई डुबाउने भए भन्ने विश्लेषण गरिँदै छ । जब कि ओली र मोदीमा धेरै अन्तर छ । मूल अन्तर विदेश नीतिमा छ । मोदीको अर्घेल्याइँ र ओलीको शालीनता विस्तारै विश्वसामु छर्लङग भएको छ । भाजपाको चुनावी हारका मोटा कारणहरु मध्ये मोदी सरकारको असफल नेपाल नीति एक हो । नेपाली जनताका लागि भारतीय जनता र भारतीय जनताको लागि नेपाली जनता बाहेक देशदेशान्तर भरि आफ्नो भन्ना कोही छैनन् । 

भारतकै उत्तर दक्षिणका भूगोलमा जनस्तरमा बरु अविश्वास छ तर नेपालीलाई विश्वास नगर्ने भारतीय कमै छन् । स्वतन्त्रता कालको जातीय हिँसाको व्यवस्थापनदेखि सीमा रक्षासम्म नेपाली युवाहरुले भारतका लागि ज्यानको बाजी लगाएका छन् । यो तहको संवेदनशीलतामाथि डोजर लगाएर हितैसी नेपालीमाथि नाकाबन्दी लगाएको भारतीय जनतालाई रुचेन । विधान सभाको निर्वाचनमा अभिव्यक्त जनमतले यही संकेत गरेको छ । एकल नेतृत्वका दृष्टिले ओली र मोदीलाई एउटै डालोमा हाल्नु अन्याय हुन्छ । पार्टी प्रमुख बन्नका लागि पार्टी फोड्नु नेपालका वामपन्थी नेताहरुको बालरोग हो । मदन भण्डारीपछि ओलीको नेतृत्वकालमा मात्र पार्टी एकताको मीठो सुगन्ध पार्टी पंतिःले सुँघ्न पाएको छ । 

जुन पार्टीमा दुई अध्यक्ष छन्, जुन पार्टी खुला छलफल, संस्थागत परिपाटी र आन्तरिक लोकतन्त्र जस्ता राजनीतिक रसायनका कारणले विश्वका परम्परागत ढर्राका कम्युनिष्ट पार्टीहरु भन्दा भिन्न छ र जुन पार्टी लोकतन्त्रमाथिको अग्राधिकार हाम्रो हो भन्ने पूूँजीवादपन्थीहरुलाई जनताको समर्थन हासिल गरी ओठतालु सुकाइदिन्छ, त्यो पार्टीमाथि एकल नेतृत्वको आक्षेप पूर्वाग्रह मात्र हो । नेकपामा जति बहश बिबाद भए पनि निकासका लागि सार्थक सम्वाद र एकताको महत्व थाहा पाउने चेत छ, जोश र होशको सन्तुलन छ । 

एकल नेतृत्वको अभ्यासमा जति भाजपा गयो त्यति नेकपा गएको छैन र भविष्यमा पनि जाने छैन । मोदी प्रधानमन्त्री भएको दुई वर्षसम्म भाजपामा कसैले मोदीको विपक्षमा मुख खोलेको देखिएन । किनकी मोदीको वाक्पटुताले गर्दा नै भाजपाले सन् २०१४ मा लोकसभा चुनाव जितेको थियो । अप्रत्यासित जित कुम्ल्याइदिएकाले नीतिन गडकरी, राजनाथ सिंह लगायतका शीर्ष नेताहरु नै मोदीका अगाडि मैन झैं पग्लिएका देखिन्थे । 

नेकपामा ओलीले प्रत्यक्ष अप्रत्यक्ष घेराबन्दी सामना गर्नुपरेको छ । भाजपाको प्रारम्भिक हारको अर्को कारण कांग्रेस आई प्रति भारतीय जनतामा रहेको न्याउरी मारी पछुतोको मनोविज्ञानले काम गरेको छ । मनमोहन सिंहको पालामा भारतले उच्च आर्थिक बृद्धि दर हासिल गरे पनि कांग्रेसको शालिनताबाट अन्ना हजारे, रामदेव प्रदर्शनले धेरै भाउ पाउनुको राजनीतिक लाभ भाजपाको पोल्टामा परेको थियो । जबकी ओलीको उदयका जरा गोविन्द केसीको अनुकम्पामा नभई त्यस्ता फण्डाहरुको सामना गर्दै भएको छ । नेपालमा नेपाली कांग्रेससँग कांग्रेस आईमा जस्तो पुनरुत्थानका लागि जनसमुदायमा न्याउरी मारी पछुतो गराउने खालको न गौरव गर्न लायकको बिगत छ न ल्याकत छ । ओली र मोदीमा रहेको अर्को अन्तर केन्द्रीय राजनीतिको अनुभवको पक्ष हो । ओलीसँग केन्द्रीय राजनीतिको उतारचढाबपूर्ण व्यहारिक भोगाई छ तर प्रान्तीय राजनीतिमा खारिए पनि मोदी भारतीय कर्मचारीतन्त्र सामु निरीह रहेको अनेक घटनाले पुष्टि गरेका छन् ।

निष्कर्ष 

ओलीलाई जिप्टाउन गौंडो कुरेर बसेकाहरु निरास हुनुको बिकल्प देखिँदैन । किनकी ओलीको उदय वर्षाको च्याउ फूले जस्तो एकाएक नभई चौतारोको वरपिपल जस्तै घामपानी, असिना, प्रताडना, उपेक्षा, गोडमेल, मलजल, मानसम्मान र अपमानको लामो सृङखला पार गरेर भएको हो । नीतिशास्त्रले भनेको छ– जसरी ताडेर, चुटेर, घोटेर तथा पोलेर सुनको परीक्षण हुन्छ त्यसरी नै त्याग, शील, धैर्य र कर्मले महापुरुषको परीक्षा हुन्छ । शास्त्रले भनेको वा अह्राएको कारणले नभई व्यहारिक सुुझबुुझ र इतिहासका आवश्यकतालाई ख्याल गरी ओलीको राजनीतिक रथ अघि बढेको छ । पार्टीमा मनमोहन अधिकारीको अनादर नगर्नु, आफुभन्दा कान्छा मदन भण्डारी, माधव नेपाल जस्ता प्रतिभालाई नाइनास्ती नगरी सघाउनु, संव्रmमणकालीन सरकारको बेला कोइराला बन्धुहरुलाई कांग्रेसका नेताले भन्दा बढी सघाउनु, कृष्णप्रसाद भट्टराईको स्मृति समारोहमा भट्टराई आफ्नो लागि पितातुल्य बताउनुले यो देशलाई काँध थाप्ने जोकोहीलाई पनि ओलीले आदर गरेको प्रष्ट हुन्छ । 

अग्रजलाई आदरसत्कार, युवापुस्तालाई प्रेरणा र उचित मार्गप्रदर्शन गर्ने उनै ओलीलाई ताछ्न व्यक्तिका तहमा गएर कसले के पायो र के पाएन जस्ता अवसरको भागबण्डालाई पेचिलो पारिदै छ । आफूप्रतिको निन्दा र प्रशंसा नअल्मलिएर जनताको दुुःखको जरो उखेल्ने समृद्धिको महाअभियान नै ओलीको साधनाको चुुरो रहेको छ । महाशक्ति अमेरिका, महामित्र भारत र चीन, नयाँ नेपालरुपी रथको एक पाङग्रो प्रतिपक्ष दल कांग्रेस, उदियमान शक्ति मधेसवादी दल, लामो समयसम्म देशको मियोका रुपमा रहेका राप्रपामा गोलबन्द भएका देशभक्तहरु कसैसँग पनि नठोक्किएर सरकारलाई जनताको सेवा र समृद्धिमा समर्पित गर्ने ओलीको सदीक्षालाई पत्थर जवाफ दिएर केही र कोही जनताबाट टाढिँदै छन् । उनीहरु ठूलो भ्रममा छन् । उनीहरुमा जनताको चेतना, सामथ्र्य, एकता, वल र सर्वोपरितामा विश्वास छैन र जनताको शक्ति अभिव्यक्ति हुने वा यसको प्रकट हुने तरिकाको ज्ञान छैन । 

उहिले चाणक्यले कर्तव्यच्यूत राजाहरुलाई हात्तीले केराको थाम उखेलेझंै उखेलेर लक्ष्यवर्ती पुस्तालाई राज्यसत्ताको केन्द्रभागमा ल्याएझैं ओलीको सुनामीले पनि देशद्रोही जतिलाई उखेलिसकेको छ र देशभक्तहरुको पोल्टामा सुन्दर भविष्य थमाइसकेको छ । ओली नेतृत्वको यो विजययात्रा रुपी बिरुवालाई जब नेकपाले धैर्य र विवेकको मलजल दिएर दिगो पार्न सक्ने छ तब उखेलिए पनि चिल्न नछोड्ने सिस्नो जस्ता बिरोधीहरु या त कुहेका देखिने छन् या सुकेर कर्कलोको हालतमा भटिनेछन् ।  
              
    

प्रतिकृया दिनुहोस