• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

केपी ओली र विश्वप्रकाश दुवैले गरे रोचक त्रुटि

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाली राजनीतिमा आज रमाइलो घटना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मासँग गासिएको यो घटना कुनै राजनीतिक विषय चाहिँ होइन । विषय हो– गीतसंगीत ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकार एक वर्ष पुगेको अवसरमा देशवासीको नाममा सम्वोधन गरे । सम्वोधनको क्रममा उनले एउटा गीतको पनि चर्चा गरे । ओलीले चर्चा गरेको गीत थियो– ‘ए कान्छा, मलाई सुनको तारा खसाइदेउ न ।’

गीतको मात्र चर्चा गरेका थिए भने केही थिएन, उनले गायक गायिकाको पनि नाम लिए । ओलीले यो गीत नारायण गोपाल र अरुणा लामाले गाएको बताए । 

यसमा ओलीले एउटा त्रुटि गरेछन् । उनको त्रुटिमा विश्वप्रकाशले ध्यान दिएका रहेछन् । आइतबार कांग्रेस केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा विश्वप्रकाशले ओलीको त्रुटि औंल्याउँदै भने– ‘उहाँले गायक गायिकाको नाम गलत भन्नुभयो ।’

‘सुनको तारा..’ गाउने गायक गायिका कोे हुन् त ? विश्वप्रकाशले ठोकुवा गरेर भनिदिए– ‘तारा देवी र लाक्पा शेर्पा ।’ गायक गायिकाको नाम पनि प्रधानमन्त्रीको सम्वोधनमा बदलिएको भन्दै विश्वप्रकाशले दुःख लागेको बताए । 

ओलीले गायक गायिकाको नाम त्रुटि गरे, सो त्रुटिलाई विश्वप्रकाशले सच्याए । यतिसम्म त कुरा ठिकै थियो । तर, जाँच पड्ताल गर्दा के देखियो भने त्रुटि औंल्याउने र सच्याउने विश्वप्रकाश आफैले पनि त्रुटि गरेछन् । 

ओलीले गायकको नाम मात्र गलत भनेका थिए, विश्वप्रकाशले चाहिँ गायकगायिका दुवैको नाम गलत भनेर झन रमाइलो स्थिति सिर्जना गरे । 

वास्तवमा ‘सुनको तारा’ गीत अरुणा लामा र रुद्रमणि गुरुङले गाएका हुन् । 

प्रधानमन्त्री ओलीले विगतमा पनि ‘गीत त्रुटी’ गरेका थिए । उनले एकपटक भाषणमा ‘पोहोर साल खुसी फाट्दा’ गीत उदृत गरेका थिए र गायिका ‘अरुणा लामा’ भन्नुपर्नेमा ‘तारादेवी’ भनेका थिए । 

ओली र शर्माले त्रुटि गरेका हुन्, गल्ती होइन । यस्ता ससाना त्रुटि जोबाट पनि हुन्छ, चर्चित नेताहरुले त्रुटि गर्दा चाहिँ रमाइलो घटना बनेको छ । 
 
 

प्रतिकृया दिनुहोस