• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

बाग्लुङको इमेज सहकारीका बचतकर्ताको १ करोड फिर्ता

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

बाग्लुङ । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई १ करोड रुपैयाँ फिर्ता गरिएको छ । 

सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका ५ सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि १ लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो । 

ढोरपाटनका ९२ बचतकर्ताले ३७ लाख प्राप्त गर्नेगरी चेक बुझेका छन् भने गलकोट नगरपालिकाका १ सय ४७ जना बचतकर्तालाई रकम फिर्ता गरिएको इमेज पीडित संघर्ष समिति गलकोट बुर्तिवाङ संयोजक मञ्जु शर्मा चालिसेले जानकारी दिनुभयो । 'दुई दिनमा करोड बचतकर्तालाई फिर्ता गरियो'-  उहाँले भन्नुभयो ।

गल्कोट र ढोरपाटनका पाँच सय ४७ बचतकर्तामध्ये एक लाखसम्मका बचतकर्ताले तत्काल फिर्ता पाउनेगरी प्रक्रिया अगाडि बढाइएको चालिसेको भनाइ छ । इलाका प्रहरी कार्यालय हरिचौर र जनप्रतिनिधिको रोहबरमा बचतकर्ताको रकम फिर्ता गरिएको हो । संयोजक चालिसेका अनुसार सहकारीका बाँकी बचतकर्ताको रकम फिर्ताका लागि मिना ग्रुप कम्पनी प्रालिसँग सहकार्य गर्नेगरी सम्झौतासमेत गरिएको छ । 

गत पुस २६ गतेसम्म सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको सहकारी ठगी मुद्दामा पीडितमध्ये पाँच सय ४७ जनाले बिगो दाबी नगर्ने गरी मेलमिलाप गर्नुभएको छ । सहकारीका बचतकर्ताले नेपालीको घरायसी जायजेथाबाट पाउनुपर्ने रकम पाएको भन्दै मेलमिलाप गरिदिनुभएको हो । 

बचतकर्ताको ठगिएको रकम रु २३ करोड ७५ लाख ४२ हजार तीन सय ४० बराबरको रकम घरसारमा मिलेर पाएको जनाउँदै मेलमिलाप गरेपछि मुद्दामा दाबी गरिएको बिगो रकमसमेत घटेको छ । पीडित ताराबहादुर कुँवर, मञ्जु शर्मा चालिसे र यमबहादुर कुँवरसमेत पाँच सय ४७ जनाको मुलुकी फौजदारी संहिता २०७४ को दफा ११७ बमोजिम मिलापत्र गर्न निवेदन आएकाले दफा ११८ ९३० बमोजिम मिलापत्र गरिएको आदेशमा उल्लेख छ । सहकारीका अध्यक्ष नेपाली पुर्पक्षका लागि अहिले थुनामा हुनुहुन्छ ।

– रासस

प्रतिकृया दिनुहोस