• ११ श्रावण २०८३, सोमबार
  • Monday,27 July,2026

कर्णालीप्रति सरकार अझै उदासीन : सांसद शाही

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सरकारले सार्वजनिक गरेको बजेटमा कर्णाली प्रदेशलाई अपेक्षाअनुसार प्राथमिकता नदिएको आरोप लगाउनुभएको छ ।

शुक्रबार संसद् परिसरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले वर्तमान बजेट अघिल्लो समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेटभन्दा समेत कमजोर रहेको दाबी गर्नुभयो ।

उहाँले रातो किताब सार्वजनिक हुन बाँकी रहे पनि प्रारम्भिक विवरणले नै कर्णालीप्रति सरकार गम्भीर नरहेको संकेत गरेको बताउनुभयो । भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत ठूलो बजेट विनियोजन भए पनि कर्णाली प्रदेशका लागि निकै न्यून रकम छुट्याइएको उहाँको भनाइ छ ।

सांसद शाहीका अनुसार नाग्म–गमगढी सडक कालोपत्रेका लागि विनियोजन गरिएको रकममध्ये अधिकांश हिस्सा यसअघि नै सुनिश्चित भइसकेको बजेट हो । बाँकी रकम कर्णाली करिडोरसहित अन्य पूर्वाधार आयोजनामा सीमित रूपमा बाँडिएको उहाँले उल्लेख गर्नुभयो ।

कर्णालीलाई विकास र पूर्वाधारका दृष्टिले पछाडि पार्ने प्रवृत्ति दोहोरिएको आरोप लगाउँदै उहाँले सरकारले प्रदेशको आवश्यकता र सम्भावनाअनुसार पर्याप्त लगानी नगरेको टिप्पणी गर्नुभयो ।

प्रतिकृया दिनुहोस