अल्लो प्रशोधन उद्योग : सम्भावना राम्रो, चासो कम
रामेछाप । रामेछापको शैलुङस्थित दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाको सल्लेटारमा सञ्चालन रहेको शैलुङ अल्लो प्रशोधन उद्योग अहिले बन्दप्राय अवस्था छ ।
स्थानीय कच्चाबस्तु अल्लोको सदुपयोग गरी कपडा बनाउने यो उद्योगले अहिले निक्कै सङ्कट झेलिरहेको छ । उद्योग अघि बढाउने कि बन्द गर्ने भन्ने अवस्थामा स्थानीय लगानीकर्ताहरू पुगेका छन् ।
सीमान्तकृत थामी समुदायको बस्तीमा तिनै थामी समुदायको सामूहिक लगानीमा सञ्चालित शैलुङ अल्लो प्रशोधन उद्योगलाई उद्योग स्थापना गरेकै वर्ष विपत्ति आइलाग्यो । गत भदौ ८ गतेको भीषण वर्षाको कारण आएको बाढी पहिरोले उद्योगको भवनमा क्षति पुर्यायो । बल्ला बल्ल सुरु गरेको उद्योगमा सुरु गरेकै वर्ष क्षति पुगेपछि उद्योग सञ्चालकहरू अब कसी अघि बढ्ने भन्ने अन्योलमा छन् ।
उद्योगका अध्यक्ष भीमबहादुर थामीका अनुसार अल्लो प्रशोधनको काम सुरु गरेको दुई वर्ष भएको भए पनि कम्पनी दर्ता गरेर उद्योग सुरु गरेको एक वर्ष भयो । स्थानीय शैलुङको जङ्गलमा पाइने सिस्नो जातको अल्लो सङ्कलन गरेर लोकताबाट धागो निकाली भाङ्ग्रो लगायत विभिन्न लुगा उत्पादन गर्ने सो उद्योगमा नसोचेको विपत्ति आइलागेको छ । उद्योगको भवनमा क्षति पुगेपछि गत भदौ महिनादेखि उद्योग सञ्चालनमा आउन सकेको छैन । ‘भवनको गारो भत्किएर भित्र छिर्नै डर मर्दो छ, त्यसैले भित्र बसेर काम गर्ने अवस्था छैन’, उहाँले भन्नुभयाे।
भवन भित्र बसेर तानबाट लुगा बनाउने काम नभए पनि अल्लो सङ्कलन गर्ने र लोक्ता निकाल्ने काम भने भइरहेको उद्योगका अध्यक्ष भीमबहादुरले बताउनुभयाे । ‘शैलुङको जङ्गलमा अल्लो प्रशस्त पाइन्छ, त्यतिकै खेर गएको अल्लोबाट कपडा बनाऊँ भनेर काम सुरु गरेको, यो विपत्ति आइलाग्यो’, भीमबहादुरले भन्नुभयाे।
उत्पादन गरेको कपडाले माग धान्न नसकेको भीमबहादुर बताउनुहुन्छ । कारखानाबाट भाङ्ग्रो, पटुका, गलबन्दी, पछ्यौरा, सल, गम्छा लगायतका कपडा उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयाे । ‘गाउँमा नै माग धान्न सकेका छैनौँ, गाउँ बाहेक पनि झापा, इलाम लगायतका ठाउँबाट पनि माग आएको छ, बिक्रीमा समस्या छैन, तर उत्पादनमा नै समस्या भयो’, भीमबहादुरले भन्नुभयाे ।
वाग्मती प्रदेश सरकारले उपकरण लगायतको सहयोग गरेर सञ्चालनमा आएको उद्योगमा क्षति पुगेको ६ महिना बढी भयो । लगानी नै उठिनसकेको अवस्थामा भवनमा क्षति पुगेपछि अब उद्योग कसरी सञ्चालन गर्ने भन्ने चिन्ता स्थानीलाई छ । ‘आर्थिक रूपले विपन्न समुदाय छ, हाम्रो पहुँच छैन, सबैतिर भनेका पनि छौँ, धेरैले अवलोकन पनि गरेका छन्, तर कसैले पनि सहयोग गरेका छैनन्’, दोरम्बा शैलुङ गाउँपालिका–१ का वडा सदस्य मङ्गले थामीले भन्नुभयाे।
बाढी पहिरोले गाउँ नै क्षतविक्षत भएकोले गाउँलेहरू आफ्नो बस्ने बासकै व्यवस्थापनमा जुटे । त्यसैले उद्योगको लागि समय नै दिन भ्याएनन् । अब गाउँको अवस्था सामान्य बन्दै गएकोले उद्योग सञ्चालनको काममा आफूहरू जुटेको मङ्गलेले बताउनुभयाे । ‘हामीले गाउँपालिकालाई पनि भनेका छौँ, जिल्लाको उद्योग कार्यालयलाई पनि भनेका छौँ, अन्य निकायलाई पनि अनुरोध गरेका छौँ, अब कतैबाट पनि भएन भने श्रमदान गरेर भए पनि भवन मर्मत गरेर उद्योग सञ्चालनमा ल्याउने छौँ’, मङ्गलेले भन्नुभयाे।
सो उद्योगमा दैनिक १० जना बढीले रोजगारी पाएका थिए । त्यस बाहेक अल्लो सङ्कलन गर्ने, लोक्ता निकाल्ने, धागो बनाउनेले पनि आम्दानी गर्दै आएका छन् ।
यो उद्योगलाई निरन्तरता दिने हो भने स्थानीयले रोजगारी पाउनुको साथै स्थानीय उत्पादनको प्रवर्धनमा समेत सहयोग पुग्ने देखिन्छ । यसमा सबैभन्दा बढी स्थानीय सरकारको ध्यान जान आवश्यक छ ।


प्रतिकृया दिनुहोस