केपी ओली र लि क्वान यु, नेपाल र सिंगापुर
गरिबीको अपूर्व नमूना थियो त्यो टापु देश । अव्यवस्था, अविकास, निरासाको दुर्दान्त नमूना थियो । आशाको कुनै किरण देखिरहेको थिएन । न गर्वलायक अतित थियो, न आशलाग्दो भविष्य थियो । थियो त सिर्फ निरासा, निरासा अनि निरासा । अर्थात्, निरासाको अर्काे नाम थियो सिंगापुर ।
अहिले के छ अवस्था सिंगापुरको ? सिंगापुर नाम विश्वले चिन्छ, ‘वाह सिंगापुर’ भन्छ ‘अहा सिंगापुर’ भन्छ । सफलता र समृद्धिको अर्काे नाम हो सिंगापुर । विकास र सुशासनको पर्याय हो सिंगापुर ।
झिंगापुर थियो सिंगापुर । झिंगापुरबाट सुन्दरतम् सिंगापुर सजिलोसँग बनेको होइन । त्याग, समर्पण, सटिक योजना, कठोर कानून कार्यान्वयन.... आदि इत्यादिले बनेको हो आजको सिंगापुर ।
सिंगापुरको चर्चा किन गरिएको हो भने सन् १९६५ मा स्वतन्त्र हुँदा सिंगापुरको जे अवस्था थियो, नेपालको आजको अवस्था धेरै दृष्टिले त्यस्तैत्यस्तै छ । त्यसबेला सिंगापुरसँग आशा र सपना थिएन तर नेपालसँग आशा छ, सपना छ । सिंगापुरसँग गर्वलायक अतित थिएन तर नेपालसँग गर्वलायक अतित छ ।
त्यसबेला सिंगापुरसँग केही थिएन तर आज नेपालसँग सबैथोक छ । हो, नेपालसँग सबैथोक छ । नेपालसँग सिर्फ एक चिज छैन– सम्भावनालाई पक्रने सामथर््य छैन ।
घट्दो निरासा, बढ्दो आशा
सिंगापुरको ऊबेलाको हालत किन चर्चा गरिएको हो भने त्यति निरास, हतास र सम्भावनाविहीन बनेर सुतेको देश त जुरुक्क उठेर विश्वलाई नै चमत्कार देखाइदियो भने नेपालले किन सक्दैन ? अवश्य सक्छ ।
लामो सशश्त्र द्धन्द भोग्यो नेपालले, भ्रष्टाचार नै भ्रष्टाचार भोग्यो, संविधान निर्माणको नाममा देश क्षतविक्षत हुने गरी अस्थिरता र अराजकता भोग्यो । त्यसपछि भूकम्प भोग्यो । भूकम्पपछि नाकावन्दी भोग्यो । भोग्नसम्म भोग्यो नेपालले, नेपालीले पाउनसम्म दुःख पाए । निरासाको गहिरो खाडलमा समाज जाकिन लागेको थियो ।
तर, चुनाव भयो । चुनावले केही आशा जगायो । चुनाव परिणामले पुन उही निरासा, वेथिति, अव्यवस्था, अस्थिरता, भ्रष्टतन्त्रमा मुलुकलाई यथावत राख्ने खतरा पनि थियो । तर, नेपाली जनताले महान निर्णय गरे– एउटा गठवन्धनलाई बहुमत दिए । केपी ओली प्रधानमन्त्री बने ।
निरास नेपाली समाजले आशाको बाटो समात्यो ।
विचार गरौं– चुनावले एउटा पक्षलाई बहुमत नदिएर त्रिशंकु संसद बनाएको भए के हुन्थ्यो ? रातोदिन मन्त्री फेरिने, एउटा प्रधानमन्त्री हट्ने र अर्काे प्रधानमन्त्री बन्ने, अस्थिरता र अराजकता हुने अवस्था दोहोरिन्थ्यो । नेपाली जनता झन निरास हुन्थे ।
तर, जनताले विगतको अस्थिरता र अराजकतालाई विदा गरेर स्थिरता र सुशासन रोजे ।
यो एक वर्षमा प्रष्टसँग देख्न सकिन्छ– मुलुकमा आशा र जागरण पलाएको छ । सिंगापुर स्वतन्त्र भएर लि क्वान युको सरकार बन्दा जसरी त्यहाँ आशा जागेको थियो, त्योभन्दा कैयन गुणा आशा नेपाली जनतामा जागेको छ ।
देशको अविकासको अवस्था ऊबेलाको सिंगापुरको जस्तै छ तर जनतामा आशा र उत्साह ऊबेलाको सिंगापुरे जनताको भन्दा कैयन गुणा धेरै छ ।
यति वर्णन गरेपछि प्रश्न उठाउनैपर्ने हुन्छ– प्रधानमन्त्री केपी शर्मा ओलीले लि क्वान युको जस्तो भूमिका निर्वाह गर्न सक्छन् ? लिले जसरी ओलीले आफ्नो देशलाई जुरुक्क उठाउन सक्छन् ? यो प्रश्नमा कसैले ‘सक्छन्’ भनेर जवाफ देलान्, कसैले ‘सक्दैनन्’ भन्ने जवाफ देलान् । सहि जवाफ चाहिँ ‘सक्नुपर्छ, सक्नैपर्छ’ हो ।
चुनौति नै चुनौति
सिंगापुर स्वतन्त्र बनेपछि लि क्वानका अगाडी अनेक चुनौति थिए । इण्डोनेसिया र मलेसिया दुई असहयोगी मुलुकहरूको बीचमा नयाँ देशका रूपमा सिंगापुरलाई स्थापित गराउनु सानो चुनौति थिएन । तीन लाख मानिस वेरोजगार थिए, बहुसंख्यक नागरिक दुखमा डुबेका थिए । प्राकृतिक स्रोत र साधन केही थिएन ।
भ्रष्टाचार शून्य शासन व्यवस्था, लगानी मैत्री वातावरण, लगानीको सुरक्षाको ग्यारेन्टी व्यवहारमा पनि देखाएका कारण सिंगापुर बिस्तारै एसियामा आर्थिक रूपमा उदाउँदै गयो । लिले सिंगापुर निर्माणका लागि लगानीमैत्री वातावरणका बनाउन एउटा छाता संगठनको परिकल्पना गरे जसले त्यहाँको भ्रष्टाचारलाई तुरून्त नियन्त्रणमा लिन सक्थ्यो । नीति लगानीमैत्री बनाइयो, कानुन लगानीमैत्री बनाइए, त्यसपछि वैदेशिक लगानी आकर्षित हुन थाल्यो ।
वैदेशिक लगानी आकर्षित गर्ने प्रधानमन्त्री ओलीले पनि प्रयास गरिरहेको देखिन्छ । उनको एउटा महत्वाकांक्षी योजनाले मूर्त रुप लिन लागेको छ । त्यो हो– औद्योगिक पार्क । नेपालमा औद्योगिक क्षेत्र त छ तर औद्योगिक पार्क छैन । सातै प्रदेशमा औद्योगिक पार्क बनाउने ओलीको योजना कार्यान्वयनको चरणमा छ । यो योजना कार्यान्वयन भएपछि देशले फेरि अर्काे फड्को मार्नेछ ।
सिंगापुरमा लि क्वान युले जेजे चुनौति भोगे त्यस्तै खालको चुनौति केपी ओलीले पनि भोगिरहेछन् । लि विकासका योजना बुन्थे, त्यसलाई अगाडि बढाउन खोज्थे तर उनलाई उडाइन्थ्यो । यहाँ केपी ओलीले पानी जहाजको परिकल्पना गर्दा पनि त्यसरी नै उडाइयो, हावादारी भनियो । तर, अहिले आएर प्रष्ट भयो– ओलीको पानी जहाजको सपनामा दम छ । उनले पानी जहाज कार्यालय नै उद्घाटन गरे । समुद्रसँग नेपाल ‘वाटर लिंक्ड’ बन्ने संघारमा छ ।
नेपालमा पनि भ्रष्टाचार व्याप्त छ । भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्री ओलीका लागि ठूलो चुनौति हो । भ्रष्टाचार नियन्त्रणमा ओलीको प्रतिवद्धता उच्च छ तर उनले त्यस अनुरुप काम गर्न सकिरहेका छैनन् । भ्रष्टाचार नियन्त्रणमा अनेक तगारा देखिन्छन् तैपनि प्रयास गरिरहेछन् । यहाँनेर लिको कठोरताको स्मरण गरौं । लिले भ्रष्टाचार मुद्दामा आफ्नै विश्वाशपात्र मन्त्रीहरुलाई बर्खास्त गरे । राष्ट्रिय विकास मन्त्री टान किया गान, वातावरण मन्त्री बि टुन बिन, सांसद फे यु कोकलाई भ्रष्टाचारको अभियोगमा जेल हाले । मन्त्री तेह चियाङ वाङले त भ्रष्टाचार मुद्दा लागेपछि आत्महत्या नै गरे ।
भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा लि र ओलीलाई तुलना गर्नु अन्यथा हुनेछ । लिले कठोर नयाँ कानुन बनाउन सक्थे तर ओलीले चाहे अनुसार कानुन बनाउन सक्दैनन् । परम्परागत कानूनी दायरा र संस्थाहरुलाई नै उपयोग गरेर भ्रष्टाचार नियन्त्रण गर्नु ओलीका लागि लरतरो चुनौति होइन ।
आर्थिक समृद्धि
आर्थिक समृद्धिको सपनाका पूरा गर्न ओलीले नयाँ बाटो कोरेका छन् । यसलाई ‘ओलीपथ’ भन्दा अत्यूक्ती नहोला । राजनीतिका विभिन्न धुरीबाट अनेक आवाज उठिरहेका बेला वामपन्थी ध्रुवीकरणको बलमा आएको बहुमतले देश विकासको नयाँ दिशानिर्देश गरेको छ । ओलीले बारम्बार भनिरहेछन्– अब अकल्पनीय विकास नेपालको मार्ग हुनेछ ।
जसरी लिले मुलुक निर्माणमा कसैसँग गलत सम्झौता गरेनन् त्यसैगरी ओलीले पनि सम्झौता नगर्ने इमानदारी र प्रतिवद्धता यो एक वर्षमा देखाएका छन् । तर, ओलीमा पर्याप्त कठोरता देखिएको छैन, ओली अझै दृढ र लक्ष्यमा पुग्न कठोर हुन सक्नुपर्छ जसरी लिले गलत काम गर्ने आफ्ना मन्त्रीलाई समेत कारबाही गरी जेल हाले, यो पनि मननीय हुनुपर्छ ओलीका लागि ।
विरोध हुन्छ कि भनेर हच्किने छुट ओलीलाई छैन । उनले एक वर्ष भ्रष्टाचार रहित सरकार त चलाए तर भ्रष्टाचारीहरुप्रति कठोर चाहिँ हुन सकेनन् । भ्रष्टाचारीलाई आफै कारबाही गर्ने अधिकार ओलीलाई छैन तर उनले भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरुलाई धेरैभन्दा धेरै परिचालित गर्न आवश्यक छ । यस सन्दर्भमा के पनि बुझ्नुपर्ने हुन्छ भने ओलीले कर्मचारी तन्त्र तथा निकायहरुलाई कानुनको दायरामा बसेर मात्र परिचालित गर्न सक्छन्, त्योभन्दा बाहिर जान सक्दैनन् । समृद्धिको वाधक भ्रष्टाचार हो भन्ने ओलीले बुझेको देखिन्छ ।
यहाँ सिंगापुरको चर्चा गर्दै सिक्नुपर्छ किन लेखिएको हो भने सिंगापुरले पनि विश्वका विभिन्न देशकाट सिकेको थियो । खासगरी जापानी व्यवस्थापनबाट सिंगापुरले धेरै सिकेको थियो । नेपालले पनि अन्य देशको अनुभवबाट सिक्न सक्नुपर्छ । प्रधानमन्त्री ओलीको स्वभाव केही न केही पढिरहने, केही न केही सोंचिरहने र सिकिरहने खालको छ । त्यसकारण यहाँ सिंगापुरको उदाहरण दिइएको हो । अर्काे कुरा, लिको जस्तो प्रतिवद्धता, समर्पण र इमानदारी ओलीमा देखिन्छ ।
सन् १९९२ मा दक्षिण कोरियाका राष्ट्रपति किम योङ सामले लिसँग सल्लाह मागे । लिले तपाईंंको देशको सबैभन्दा ठूलो समस्या नै भ्रष्टाचार हो भने । त्यपछि किमले आफ्नो देशमा भ्रष्टाचार विरुद्ध अभियान छेडे, आफ्ना तीनजना मन्त्रीलाई भ्रष्टाचारमा कारवाही गरे, पूर्व राष्ट्रपतिहरुलाई पनि भ्रष्टाचारमा कारवाही गरे, सयौं कर्मचारीलाई कारवाही गरे ।
आर्थिक समृद्धिका लागि प्रतिवद्ध र सवल नेतृत्व चाहिन्छ । अहिले नेपालसँग त्यो छ । समृद्धिका लागि आशा र उत्साह चाहिन्छ, भविष्यप्रतिको विश्वाश चाहिन्छ, नेपालसँग त्यो छ । प्राकृतिक स्रोत साधन सिंगापुरसँग केही थिएन तर नेपालसँग प्रचुर छ । त्यसैले नेपाल बन्छ ।
विगतका कतिपय प्रधानमन्त्रीले नेपाललाई ‘सिंगापुर’ बनाउँछु भनेका थिए, तर नेपाल कहिल्यै सिंगापुरको एक छेउ पनि पुगेन । वस्तुत अवधारणा नै गलत थियो । नेपाललाई नेपाल बनाउने हो, सिंगापुर बनाउने होइन । सिंगापुरबाट त सिक्ने हो ।
नेपाललाई ‘नेपाल’ बनाउने प्रतिवद्धता केपी शर्मा ओली र उनको पार्टी नेकपामा देखिन्छ । यो प्रतिवद्धतालाई जनताले कटिवद्ध भएर साथ दिनुपर्छ, त्यसो भए ‘सुखी नेपाली, समृद्ध नेपाल’ साकार हुनेछ । अनि, नेपाल बन्छ, अवश्य बन्छ ।


प्रतिकृया दिनुहोस