भारतीय जनताको साथमा छौं
भारतको काश्मिर राज्यमा गराइएको आतंकवादी हमला निन्दनीय छ । त्यस्ता घटनाको चरम भतर््सना गरिनुपर्छ, परम विरोध गरिनुपर्छ । यो मानवताविरोधी आक्रमणले आक्रान्त भारतीय जनताप्रति नेपाली जनताको पूर्ण सहानुभूति छ, सम्पूर्ण रुपमा साथ छ ।
केही समय यता काश्मिरमा आतंकवाद नियन्त्रण गर्न भारत सरकार धेरै हदसम्म सफल देखिएको थियो । काश्मिरी जनताले शान्तिसँग बाँच्ने दिन आउने आशा पलाएको थियो । तर, काश्मिरको शान्तिलाई चिर्दै जुन आतंकवादी आक्रमण भएको छ त्यसले समग्र दक्षिण एसियालाई दुःखी र चिन्तित तुल्याएको छ । आक्रमणमा ४४ जना मानिस मारिएका छन् । यो घटनाले पूरै भारत शोकमा डुबेको छ ।
कुनै पनि आतंकवादी आक्रमणमा व्यक्ति अगाडि देखिन्छ । व्यक्तिको पछाडि समूह हुन्छ र समूहको पछाडि कुनै देश हुन्छ । आतंकवादको जरा पहिल्याउँदै जाँदा त्यसको प्रायोजक र संरक्षक कुनै न कुनै देश देखिन्छ । यो तीतो सत्यले शान्तिप्रेमी विश्व नागरिकहरुको मन पोल्छ । आतंकवाद निर्मूल पार्ने काममा सबैभन्दा ठूलो चुनौति नै यही हो ।
विश्वशक्तिहरुको रुचि, चासो र स्वार्थको क्षेत्र बन्दै गइरहेको छ– दक्षिण एसिया । त्यसैले यस क्षेत्रका देशहरुले आतंकवादप्रति विगतमा भन्दा सजग हुनुपर्छ । यस क्षेत्रमा आतंकवादको सामना गर्नु सजिलो छैन, किनभने आतंकवादले जाति, वर्ण, भाषा, धर्म र राजनीतिको खोल ओढेको हुन्छ ।
आतंकवादी आक्रमणका योजनाकारहरुले भौतिक आक्रमणसँग एकाकार गर्नेगरी मनोवैज्ञानिक आक्रमणको व्यूह रचना गरेका हुन्छन् । आक्रमणको प्रतिक्रियास्वरुप जनतामा असन्तोष भड्कियोस्, जनता विभाजित होउन् भन्ने ध्येय राखेका हुन्छन् । त्यसैले आतंकवादी आक्रमणले ‘चेन इफेक्ट’ सिर्जना गर्नसक्छ । आतंकवादीका यस्ता उद्देश्य सफल नहोस् भनेर जनता सगज बन्नुपर्छ, निश्चय पनि भारतीय जनता यसप्रति सजग हुने नै छन् ।
काश्मिरमा भएको आतंकवादी आक्रमणको विरोध तथा भारतीय जनता र सरकार प्रति साथ समर्थन प्रकट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेका छन् । प्रधानमन्त्री ओलीले आतंकवादको विरोध तथा भारतीय जनता र सरकारको समर्थनमा जुन विचार राखेका छन् त्यो नेपालको विचार हो, नेपाली जनताको विचार हो ।
दक्षिण एसियामा भविष्यमा आइपर्ने चुनौति सामना गर्दै आतंकवाद निर्मूल गर्न एकीकृत प्रयास जरुरी छ । आतंकवादको स्रोत जातीय, धार्मिक, भाषिक, राजनीतिक लगायतका अतिवादी–भड्काउवादी विचार हुँदै आएको छ । यस्ता विचारलाई निस्तेज पार्न सकियो भने आतंकवादको जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्नेमा यस क्षेत्रका देशहरुले वोध गर्न आवश्यक छ ।
काश्मिरमा गरिएको आतंकवादी हमलाको निन्दा गर्दै भारतीय जनताप्रति पूर्ण साथ र समर्थन प्रकट गर्दछौं ।


प्रतिकृया दिनुहोस