• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

विद्युतीय सवारीसाधनमा बढाइएको कर घटाउन नाडाको आग्रह

समाचार

समाचार

काठमाडाैं । अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले विद्युतीय सवारीसाधनमा बढाइएको कर घटाउन आग्रह गरेको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत विद्युतीय सवारीसाधनको भन्सार र अन्तशुल्कमा वृद्धि गरिएको भन्दै नाडाले कर घटाउन आग्रह गरेको हो । 

काठमाडौँमा आज आयोजित कार्यक्रममा नाडाका अध्यक्ष धुव्रबहादुर थापाले विद्युतीय सवारीसाधनमा पुरानै कर लागु हुनुपर्नेमा जोड दिनुभयो । ‘सरकारले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्नुपर्ने भन्दै आएको छ, तर आगामी आर्थिक वर्षको बजेटमा भन्सार र अन्तशुल्क कर बढाइएको छ, सरकारको भनाइ र गराइ फरक भयो’, उहाँले भन्नुभयो । 

उहाँले सय किलोवाट क्षमताभन्दा तलका विद्युतीय सवारीसाधनमा पुरानै कर लागू गरिएकामा स्वागत गर्दै दुई सय किलोवाट क्षमताका विद्युतीय सवारीसाधनमा पुरानै व्यवस्था अनुसार भन्सार र अन्तशुल्क कायम गर्न आग्रह गर्नुभयो । 

यस्तै, नाडाले विदेशी मुद्राको सञ्चितिलाई देखाउँदै असार मसान्तसम्म सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउनसमेत आग्रह गरेको छ । विदेशी मुद्राको सञ्चिति र शोधनान्तर स्थितिमा सवारी आयातले खासै असर पार्ने नदेखिएको भन्दै नाडाले आयातप्रतिबन्धको सहज समाधानका लागि सरकारसँग अपिल गरेको छ । 

अध्यक्ष थापाले नयाँ सवारी साधनमा मात्र अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेमा जोड दिनुभयो । सवारीसाधन खरिदपछि सामान्य नम्बर राखेर पुनःइम्बोस्ड नम्बर प्लेट जडान गर्दा उपभोक्तामा दोहोरो खर्च हुने भन्दै उहाँले नयाँ सवारीसाधनलाई अनिवार्य गर्न आग्रह गर्नुभयो ।

यस्तै अभिक ज्योतिले सरकारको नीतिका कारण दुई पाङ्ग्रे सवारीसाधनको बिक्रीवितरण नै बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले दुई सय सिसी माथिका दुईपाङ्ग्रे सवारीसाधनलाई सरकारले विलासिताको वस्तुमा राखेर आयात रोक्दा तथा भन्सार र अन्तशुल्क दर बढाउँदा बिक्रीवितरण बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा २०० सिसी माथिका सवारीसाधनमा बढाइएको कर तत्काल फिर्ता हुनुपर्ने ज्योतिले जोड दिनुभयो । 

कति बढ्यो कर

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा दुई पाङ्ग्रे र विद्युतीय सवारीसाधनको भन्सार र अन्तशुल्क महसुलमा वृद्धि भएको घोषणा गर्नुुभएको थियो । 

यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उहाँले दुई सय सिसी माथिका दुई पाङ्ग्रे सवारीसाधन र सय किलोवाट क्षमताभन्दा माथिका विद्युतीय गाडीको भन्सार तथा अन्त शुल्क वृद्धि भएको बताउनुभएको थियो । 

सरकारले सय किलोवाटदेखि दुई सय किलोवाटसम्मका विद्युतीय कार, जीप र भ्यानमा ३० प्रतिशत अन्तशुल्क बढाएको छ । यस्तै २ देखि तीन सय किलोवाटभन्दा बढीमा ४५ प्रतिशत, तीन सय किलोवाटभन्दा बढीको कार, जीप र भ्यानमा ६० प्रतिशत अन्तशुल्क लगाइएको छ । यस अघि विद्युतीय सवारीसाधन आयात गर्दा अन्तशुल्कमा पूर्ण छुट दिएको थियो । 

यस्तै, बजेटमार्फत सय किलोवाटदेखि दुई सय किलोवाटसम्मका ३० प्रतिशत, दुई सय देखि तीन सय किलोवाट सम्मकामा ३० प्रतिशत र तीन सय किलोवाट बढीमा ६० प्रतिशतले भन्सार कर वृद्धि गरिएको छ । 

हाल एक सय किलोवाट क्षमताको विद्युतीय सवारी साधनमा १० प्रतिशत, दुई सय किलोवाटसम्मका १५, तीन सय किलोवाटसम्मका ३० र तीन सय किलोवाट माथिका गाडीमा ४० प्रतिशत भन्सार शुल्क थियो ।

यस्तैगरी, दुई सय देखि २ सय ५० सिसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत भन्सार महसुल लगाइने भएको छ । यसअघि ३० प्रतिशतमात्रै भन्सार महसुल लाग्ने गरेको थियो । २ सय ५० देखि पाँच सय सिसीसम्मकोमा ७० प्रतिशत र पाँच सय देखि माथिका मोटरसाइकलमा ८० प्रतिशत भन्सार शुल्क कायम गरिएको छ । दुई पाङ्ग्रेमा ३० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था थियो । 

यस्तै दुई सय सीसी माथिका मोटरसाइकलमा अन्तशुल्क बढाइएको छ । दुई सय सिसीदेखि २ सय ५० सिसी नाघेको मोटरसाइकलमा ८० प्रतिशत छ । हाल दुई सय देखि २ सय ५० सिसी ननाघेको मोटरसाइकलमा ६० प्रतिशत अन्तः शुल्क लाग्ने गरेको थियो । २ सय ५० देखि पाँच सय सिसीसम्मका ९० प्रतिशत र पाँच सय सिसीदेखि माथिकामा एक सय प्रतिशत अन्तशुल्क लाग्ने गरेको छ । 

अहिले २ सय ५० देखि पाँच सय सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ । पाँच सय देखि आठ सय सिसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत र आठ सय सिसी माथिका गाडीमा एक सय प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ । 

–रासस
 

प्रतिकृया दिनुहोस