• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

‘मिडिया र मानवअधिकारवादीलाई गरिखाने विषय बन्यो’- निर्मला हत्याकाण्ड

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेलले वर्तमान गृहमन्त्रीलाई प्रश्न गरे— ‘भक्तपुरमा भएको इन्काउन्टरमा कति दूरीबाट कसरी प्रहरीले प्रहार गरेको थियो ?’ कँडेलको प्रश्नमा गृहमन्त्री रामबहादुर थापाले भने— ‘कति दूरीबाट प्रहार गरिएको भन्ने हामीलाई जानकारी छैन ।’

बुधबार प्रतिनिधि सभा वैठकको प्रश्नोत्तर कालमा गृहमन्त्री थापाले सांसदहरुको प्रश्नको जवाफ दिएका थिए । कँडेलले उठाएको प्रश्नमा कांग्रेसकै सांसद वालकृष्ण खाँडले पूरक प्रश्न सोधे— ‘इन्काउन्टर गर्न कसले आदेश दिन्छ ? प्रधानमन्त्रीले कि ? गृहमन्त्रीले कि ? सुरक्षा प्रमुखले कि कसले ?’

जवाफमा गृहमन्त्री थापाले भने— ‘अपराधीको खोज गर्दै जाने क्रममा अपराधीद्धारा प्रहार गर्ने सम्भावना रहन्छ भने त्यस अवस्थामा प्रहरीले आत्मरक्षाका लागि पहिले प्रहार गर्न सक्छ । कानुनी रुपमा पनि व्यवस्था छ । माथिबाट आदेश दिनुपर्ने आवश्यकता हुँदैन ।’

गृहमन्त्री थापालाई सांसदहरुले निर्मला पन्तको हत्या सम्वन्धमा पनि प्रश्न सोधेका थिए । थापाले अपराधीहरुको खोजीका लागि अनुसन्धान भइरहेको जवाफ दिएका थिए । प्रश्न सोध्ने क्रममा केही सांसदहरुले अशोभनीय र संसदीय मर्यादा विपरितको वाक्य प्रयोग गरेका थिए । कांग्रेसकी सांसद डिला संग्रौलाले ‘निर्मलाका हत्यारा बालुवाटार र सिंहदरबारको कुर्सीमा छन्, कहाँ छन् सत्यतथ्य जवाफ दिनुपर्यो ।’  

यस्तो अशोभनीय वाक्यांशलाई सभामुखले संसदको रेकर्डबाट हटाउन आदेश भने दिएनन् । 

प्रश्नोत्तरमा गृहमन्त्री थापाले महिलासँग सम्वन्धित अपराध र हिँसाका घटनामा ९६ प्रतिशत अनुसन्धान पूरा भई अपराधीहरु कानुनको कठघरामा पठाइएको बताएका थिए । त्यसैमा पूरक प्रश्न सोध्दै नेकपाका सांसद महेश बस्नेतले त्यति धेरै प्रतिशत अपराधको अनुसन्धानमा सफल भएकोमा गृहमन्त्रीलाई बधाई दिए । 

महेशले निर्मला पन्त हत्याकाण्ड मिडिया र मानवअधिकारवादीका लागि गरिखाने र प्रतिपक्षका लागि राजनीति गर्ने विषय भएको छ । उनले यो पनि भने— ‘तत्कालीन एसपी दिलिप सिंह विष्टलाई बर्खास्त गरेर अनुसन्धान अगाडि बढाएकोमा धन्यवाद । दिलिपसिंहलाई एसपी बनाएर त्यहाँ राख्ने तत्कालीन नेतृत्वका साथीहरु कोको हुन् उतातिर पनि अनुसन्धान केन्द्रित हुन आग्रह छ ।’
 

प्रतिकृया दिनुहोस