हिलो नै मुनाको क्रिम, माटो नै मुहारको पाउडर
‘यो मेरो स्वर्ग हो’– गर्वसाथ मुना निङलेखुले भनिन् । मुनाको यो स्वर्ग ललितपुरको गोदावरीमा छ । करिब ४० रोपनीमा फैलिएको छ मुनाको स्वर्ग । अरुले यसलाई तरकारी बारी देख्छन् होला तर मुनाका लागि स्वर्ग नै हो ।
यो स्वर्ग मुना आफैंले सिर्जना गरेकी हुन् । स्वर्गको नाम हो– सुरक्षा । अर्थात् सुरक्षा एग्रो फर्म ।
शानदार छ एग्रो फर्म । २० जना भन्दा धेरै कामदार अहोरात्र खटिन्छन् । लहलह तरकारी फल्छ । ठाउँको ठाउँ विक्री हुन्छ, नाफै नाफा छ, घाटा केही छैन । दर्जनौं परिवार पालिएका छन् । यो फर्ममा पुग्नेको मुखबाट निस्कने पहिलो वाक्य हुन्छ ‘वाह, क्या गज्जब खेति !’
बारीभरी तरकारी नै तरकारी छ, साग, काउली, गोलभेडा.... केके हो केके तरकारी पनि । अनि गाई छ, कुखुरा छ । यो फर्ममा के छैन ? सबथोक देख्न सकिन्छ । यहाँ एउटा चिज चाहिँ देख्न सकिन्न । त्यो हो यो शानदार फर्म र फर्मकी रचनाकार मुनाको संघर्षमय अतित ।
आउनुस्, मुनाको संघर्ष पढौं–
मुना असाध्यै छटपटिमा थिइन्, २०६९ को कुरा हो। छटपटिको कारण के भने ०६० सालमा जन्मिएकी जेठी र ०६४ सालमा जन्मिएकी कान्छी छोरीलाई कसरी पढाउने, बढाउने अनि हुर्काउने ?
पति नेपाल प्रहरीमा इन्स्पेक्टर थिए । तलबले काठमाडौंमा खर्च धान्न मुस्किल थियो । त्यसबेला एउटा समाचार पढिन्– भ्रष्टाचार नियन्त्रणमा महिलाको भूमिका हुनुपर्छ । कुरा अनौठो लाग्यो । पत्नी र परिवारको रवाफ पूरा गर्न पति भ्रष्टाचारी बन्छन् भन्ने समाचारले मन छोयो । आफैलाई नियालिन् ।
जागिरमा असाध्यै इमानदार र कर्तव्यपरायण पति भ्रष्ट बनेको कल्पना गरिन् । विचलित भइन् ।
हुनत त्यस अघि पनि मुनाले केही कामहरु गरेकी थिइन्, विहे अगाडि जागिर पनि खाएकी थिइन् । बिहे पछि केही व्यवसाय गर्ने प्रयास पनि गरेकी थिइन् । व्यवसाय गर्दा डुबेकी पनि थिइन् । तर, अब चाहिँ केही न केही गरिछाड्ने अठोट गरिन् ।
०६९ सालका ती दिन चिन्ता र चिन्तनमा बिताइन् र एकदिन जुरुक्क उठिन् । भक्तपुरको सिपाडोल गइन् । तरकारी खेति तालिम लिन थालिन् । त्यहिँ दुई रोपनी जग्गा भाडामा लिएर खेति थालिन् ।
‘किसानको छोरी हूँ, किसान बन्नमै आनन्द देखें, अरु पेसामा भन्दा राम्रो भविष्य पनि देखें’– मुना भन्छिन् ।
दुई रोपनीमा तरकारी रोपिन् । तरकारी बढ्छ, फल्छ अनि बेचौंला भनेर मीठो सपना देख्न थालिन् । अहँ, मुनाको बारीले राम्ररी तरकारी फलाएन, आम्दानी दिएन ।
बरबाद भयो, एउटा सपना भताभुंग भयो ।
आगोले पोलेको घाउलाई आगोमै..
निरास थिइन् मुना । पतिले चिन्ता नगर भन्थे तर मन मान्दैनथ्यो । ‘आगोले पोलेको घाउ आगोमा नै सेकेर निको पार्नुपर्छ’ आमा र बाले भनिरहने उखान सम्झिइन् ।
तरकारी खेति छाडिन् तर सपना विपना जहिले पनि मनमा तरकारी खेति गरेको, लहलह तरकारी फलाएको मात्रै कल्पना गर्थिन् । त्यसपछि फेरि थालिन् तरकारी खेति ।
यहाँनेर उनको स्वभावको पनि चर्चा गरौं । फरासिली छिन्, साहसी छिन्, हक्की छिन् । साहसी स्वभाव काम आयो । ललितपुरको गोदावरी मा ०७१ मा अलिकति जग्गा भाडामा लिइन् ।
दुई रोपनीमा असफल भएकी मुनाले फेरि खेति गर्ने आँट कसरी गरिन् ? मुना भन्छिन्– ‘तालिम लिएकी थिएँ अनि दुई रोपनीमा खेति गर्दा असफल भएकी थिएँ । असफलतालाई पनि मैले तालिमकै रुपमा लिएँ । अनि फेरि खेति थालें ।’
मुनालाई असफल हुने छुट थिएन। यो असफलताको मूल्य धेरै नै महंगो हुनेवाला थियो । असफल भइयो भने आफ्नो परिवार आर्थिक रुपमा थला पर्ने चिन्ता थियो । यति प्रतिवद्ध र होसियारीपूर्वक खेतिमा लागिन् कि असफलताको गुन्जायस नै थिएन ।

मुनाको पसिना बग्न थाल्यो । तरकारी फल्न थाल्यो । मज्जाले फल्न थाल्यो ।
फैलियो खेति
एक वर्षमै मुनाले चमत्कार गरिन् । थप जग्गा भाडामा लिइन् । आलु, गोलभेडा, वन्दा, काउली, काँक्रा, फर्सी... अनेक तरकारी । शानदार भयो फर्म, गज्जब भयो आम्दानी । जग्गा थप्दै गइन् ।
र, एउटा यस्तो दिन पनि आयो । त्यसबेला बारीभरी गोलभेडा रोपेकी थिइन्। राम्ररी सप्रन्छ अनि फलाएर बेचौंला भन्दै थिइन् । ‘व्हाइट फ्लाई’ रोग लाग्यो । हेर्दाहेर्दै गोलभेडा स्वाहा भयो । सुरक्षा कृषि फर्म थला पर्यो ।
उक्सिने उपाय केही थिएन । कि फर्म छाड्नपर्यो, कि फेरि थाल्नुपर्यो । असफल भए पनि सफलताको स्वाद चाखिसकेकी थिइन् । त्यसैले उठाइन् कुटो कोदालो अनि पसिन् बारीमा ।
मुना भन्छिन्– ‘त्यसपछि मैले यति धेरै मेहेनत गरें कि कुनै सीमा थिएन । माटोमै जीवन लगाएँ । आफन्तहरु किन यसरी रुप नै बिग्रने गरी काम गरेको भन्थे तर हिलो नै मेरो क्रिम थियो, माटो मेरो पाउडर थियो ।’
पति अहिले डिएसपी छन् तर मुना किसान छिन् । विदाको बेला फर्ममा पतिले पनि सघाउँछन् । विदामा दुई छोरीहरु पनि फर्ममा आउँछन् र रमाउँछन् । ‘छोरीहरुका लागि मामाघर जस्तै हो यो फर्म, यहाँ आउन पाउँदा खुसी हुन्छन्’– मुना भन्छिन्।
अहिले चालीस रोपनीको छ मुनाको स्वर्ग ।
मुनामा के छ ?
दुई छोरीकी आमा एक गृहिणीले यो सफल फर्म कसरी सिर्जना गरिन् होला ? यसमा मुनाको स्वभाव, मेहेनत र लगनशीलताले काम गरेको छ ।
र, कृषि फर्म सफल हुन नभई नहुने अर्काे गुण हो मिलनसार स्वभाव । कृषि फर्म एक्लैले गर्न सकिँदैन, कामदार चाहिन्छ । कामदारलाई सन्तुष्ट बनाएर टिकाएर राख्नु सजिलो काम होइन । मुनाले धेरै पटक कामदार अभाव भोगिन् । कामदारको अभावले फर्म नै बन्द गर्नुपर्ला जस्तो अवस्था पनि भोगिन् ।
मुनाले जुक्ति लगाइन्– कामदारलाई आम्दानीको हिस्सा दिने । पहिले आम्दानीको पाँच प्रतिशत दिइन्, पछि दस प्रतिशत दिइन् । परिणाम के भयो भने कामदारहरुले असाध्यै मेहेनत गरेर काम गरे ।
अहिलेकी मुना
मेहेनती मुना धेरै माथि उठिसकेकी छिन् । अब उनी तरकारी बारीमा थोरै समय दिन्छिन्, धेरै समय चाहिँ कन्स्ट्रक्सन कम्पनीमा दिन्छिन् । उनले तरकारी बारीको सफलताबाटै कन्स्ट्रक्सन कम्पनी खोलेकी छिन् । मुनाले तरकारी बारी धेरै परिवारमा भाग लगाइदिएकी छिन्, उनीहरुले नै खेति गर्छन्, कमाउँछन्, खान्छन् ।
तरकारी बारी छाडेको ? यो प्रश्नमा मुना भन्छिन्– ‘छाडेकी छुइन र छाड्दिन पनि, पहिले जति समय दिन सक्दिन तर कुनै न कुनै तरिकारले तरकारी खेतिको साथमा सधैं रहनेछु ।’
भन्छिन्– ‘मेहेनत गर्नेले कहिल्यै दुःख पाउँदैन, विदेशमा मेहेनत गरे लाख कमाइन्छ, स्वदेशमा मेहेनत गरे करोड कमाइन्छ ।’ उनको अर्काे पनि भनाइ छ– ‘विदेशमा कमाएको अस्थायी हुन्छ, स्वदेशमा कमाएको स्थायी हुन्छ ।’
यस्तै अन्य सामग्री
एक विलक्षण यात्रा : भूटानको आँशुदेखि अमेरिकाको हासोसम्म
राजेन्द्रको गाई, यूरोप अमेरिका यहीँ


प्रतिकृया दिनुहोस