राजेन्द्रको गाई, यूरोप अमेरिका यहीँ
राजेन्द्र खनाल यूरोप जाने भए, पोल्याण्डको भीसा लाग्यो । यूरोप पुगेको सपना देख्न थाले । कमाएको कल्पना गर्न थाले । यूरोप उड्नु केही दिन बाँकी थियो । एउटा घटना भयो ।
राति ११ बजेको थियो । ‘राजेन्द्र राजेन्द्र’ भन्दै चिच्याएको आवाज आयो । काठमाडौं महानगरपालिका वसुन्धराको कुरा हो यो ।
सुतिसकेका राजेन्द्र, जुरुक्क उठे । पल्लो घरबाट आवाज आएको थियो । छिमेकी बा बेहोस भएर ढलेछन् । आमाले कराउँदै राजेन्द्रलाई गुहारेकी रहिछन् । छिमेकी बालाई अस्पताल लगियो । रातभर अस्पताल बसे राजेन्द्र । उपचार हुँदै थियो, बिहान पख छिमेकी आमाले रुँदै भनिन्– ‘छोराछोरी अष्ट्रेलिया अमेरिका छन्, बालाई यहाँ यस्तो छ । सन्तान भएर पनि काम लागेन ।’
राजेन्दको ह्रयदमा भूकम्प गयो ।
श्रवणकुमार बन्ने अठोट
आफ्ना बा नभएर छिमेकी बा विरामी भएका थिए । तैपनि राजेन्द्र वेचैन भए । छिमेकी बाको विमारीले भन्दा छिमेकी आमाको आँशुले राजेन्द्र विचलित बनेका थिए । बिहान घर आएपछि बा गोविन्द खनाल र आमा इन्दिरालाई अगाडि राखेर राजेन्द्रले भने– ‘म विदेश जान्न !’
‘किन ?’ आमाले सोधिन् ।
राजेन्द्र केही बोलेनन् । छोराको अनुहारमा निश्चय थियो, अठोट थियो । बाआमा अवाक बने ।
राजेन्द्रले भने – ‘तपाईंहरुलाई छाडेर म विदेश जान्न ।’ ०६६ सालको कुरा हो यो ।
पृष्ठभूमिमा थियो अघिल्लो रातको छिमेकी बा विरामी भएको घटना । दाजु त्यसबेला चितवनमा जागिर गर्दै थिए । ‘म विदेश गएपछि बाआमा विरामी हुँदा कसले हेर्छ ?’ राजेन्द्रलाई यही प्रश्नले विचलित बनाएको थियो । र, श्रवणकुमार बने राजेन्द्र । अठोट गरे– विदेश जान्न, बाआमासँग यहिँ बसेर केही गर्छु ।
त्यो दिन आमा सम्झन्छिन्– ‘राजेन्द्रले त्यसो भन्दा म त केही बोल्नै सकेको थिइन ।’
तर के गर्ने ? प्रश्नको जवाफ राजेन्द्रसँग थियो । गाई पाल्ने अनि जागिर खाने ।
गाई र राजेन्द्र
राजेन्द्रको गाईसँग अपूर्व सम्वन्ध छ । ठट्यौलो पाराले भन्छन्– ‘शायद म पूर्वजन्ममा गाई थिएँ, यदि थिइन भने आउँदो जन्ममा गाई बन्छु होला ।’

राजेन्द्रलाई गाई असाध्यै मन पर्ने । कति मन पर्ने भने सानैमा गाईको वरिपरी खेल्थे, झुम्मिन्थे । मलाई गाई किनीदिनुपर्यो भन्थे ।
राजेन्द्रको एकमात्र माग थियो– गाई । फुच्चे छोराले असाध्यै कचकच गरेपछि बाले एउटा गाई किनीदिए– १४ हजार रुपैयाँमा । ०५४ सालको कुरा हो यो । राजेन्द्र ६ ७ वर्षका थिए । उनी आफैले गाईको सम्पूर्ण स्याहार त किन गर्न सक्थे र, तैपनि बाले किनीदिए ।
आफ्नै गाई हुँदा राजेन्द्रको खुसीको सीमा रहेन । बा र आमाको पछिपछि लागेर गाईको सक्दो स्याहार गर्थे ।
अहा, एकदिन त गाई ब्यायो । फूच्चे गाई (वाच्छी) घरमा थपियो । राजेन्द्रको खुसीको सीमा रहेन । वाच्छी र राजेन्द्र साथी बने । वाच्छीको वरिपरी खेलिरहन्थे । पढाईमा भन्दा गाईमा ध्यान थियो राजेन्द्रको । स्कूलबाट घर आइपुग्नासाथ गोठमा पुगेर गाई र वाच्छीलाई छोइहाल्थे । बिहान उठ्नासाथ पनि गोठ पुगिहाल्थे ।
गाईको अगाडि टाउको तेर्साउँथे, गाईले चाटिदिन्थिन् । गाईले चाट्दा राजेन्द्र दंग पर्थे ।
छोराको बारेमा आमा इन्दिरा भन्छिन्– ‘यो सानैदेखि पशुप्रेमी हो ।’
राजेन्द्र अहिले सानो छैनन्, २७ वर्षको लक्का जवान छन् ।
स्नातक र गाई
होटल म्यानेजम्यान्ट पढेका राजेन्द्र जागिर खोज्न निस्किए । होटल तिब्बतमा जागिर खाए । सेवासुविधा निक्कै राम्रो थियो । होटलको जागिर अनि घरमा गाई, भ्याइनभ्याइ थियो । होटलमा काम गर्दा गाईलाई पर्याप्त समय दिन भ्याएनन् ।

होटलमा काम सकेर घर आउनासाथ गोठमा पुग्थे । राजेन्द्रलाई देखेपछि सबै गाई खुसी हुन्थे । गाईहरुले ‘हामीलाई छाडेर कहाँ गएको थिइस्’ भनेर सोधे झैं लाग्थ्यो उनलाई ।
होटलको जागिर राम्रो थियो । पढाई पनि जारी थियो, होटल र गाई कुन छान्ने ? राजेन्द्रले गाई छाने, दुई वर्ष गरेकाे होटलको जागिर चटक्कै छाडे । त्यसपछि पढाइ र गाईमा लागे । स्नातक सक्दा गोठमा सातवटा गाई भइसकेका थिए । जागिर त्यसै छाडेका थिएनन्, विशाल गाई फार्म बनाउने सपनाले तानेर जागिर छाडेका थिए ।
सिटी गाई फार्म
वसुन्धराको सहरी क्षेत्रमा सातवटा गाई पाल्नै मुस्किल थियो । त्यसैले टोखामा जग्गा भाडामा लिए । अढाई रोपनी जग्गामा गाई फार्म सुरु भयो, साथमा तरकारी खेति पनि ।
नाम राखे– सिटी काउ फार्म । दुई वर्ष अघिको कुरा हो यो ।
राजेन्द्र भन्छन्– ‘पहिलो दिन यो फार्ममा गाई ल्याउँदा मेरा लागि यूरोप अमेरिका यही हो भन्ने मनमा आएको थियो ।’
पोल्याण्ड जाने यात्रा मोडिएर टोखाको गाई फार्ममा आइपुगेको थियो । सबैजसो साथीहरु विदेश थिए । विदेशमा भएका साथीहरु भन्थे– ‘के गर्दैछस्, नेपालमा के बसिराखेको ?’
राजेन्द्र भन्थे– ‘गाई पालिरहेको छु, गोठाला बनेको छु ।’
साथीहरु हास्थे, खिसी गर्थे ।
टोखामा गाईपालन गरेपछि आम्दानी व्हात्तै बढ्यो, गाईले दूध पनि धेरै दिन थाल्यो । राजेन्द्र दिनरात मेहेनत गरिरहेका थिए । सुनौलो दिन सुरु भयो । तर, अचानक ग्रहण लाग्न थाल्यो । गाई विरामी पर्न थाले, दिनमा सय लिटरसम्म दूध हुन्थ्यो ४० लिटर पनि हुन छाड्यो । सबै गाई विरामी । छेर्न थाले । दुब्लाए ।
पशु चिकित्सकहरुलाई गुहारे । राम्रा डाक्टर आउन नमान्ने, सहयोगी पठाउने । उनीहरुले उपचार दिन सकेनन् ।
गाई फार्ममा ग्रहण बढ्दै गयो, राजेन्द्र निरास बन्दै गए । विरामी गाई हेर्न नसक्ने भए । विरक्त भएका राजेन्द्र बाआमालाई गाई जिम्मा लगाएर चितवन घुम्न गए ।उत्साहित भइहाल्ने अनि निरास पनि भइहाल्ने उमेरजन्य कमजोरी राजेन्द्रले देखाए ।
ज्यान चितवन पुगे पनि मन चाहिँ गोठमै थियो, विरामी गाईमै थियो । अहँ, सकेनन् राजेन्द्रले निरास भएर बस्न । फर्किए टोखा ।
गाईहरुको हालत झन खराब भएको थियो । कुनै पनि औषधी उपचारले काम गरेको थिएन । जति उपचार गर्दा नि ठिक नभएपछि गाईको दाना जाँच गरे । शंका लाग्यो । दाना परिवर्तन गरिदिए । अनि थाहा भयो– दानामा खराबी रहेछ । गाई तन्दुरुस्त हुन थाले, खुसीको सीमा रहेन । सिटी गाई फार्ममा लागेको ग्रहण हट्यो । गाईहरुको ‘बाँबाँ’ ले गोठ गुन्जन थाल्यो । भाँडाभरी दूध आउन थाल्यो ।
अरु पाँचवटा गाई थपे । गोबर मलले बारीभरी गोलभेडा, बोडी, सिमी, काउली, साग, धनिया, फर्सी फल्न थाल्यो ।
अहिले १५ ओटा गाई छन् । दैनिक २०० लिटर जति दूध हुन्छ । तरकारी पनि प्रशस्त बेच्छन् ।
राजेन्द्र पूरै सफल छन् । उनले गाई फार्म विस्तार गर्ने योजना बनाइरहेछन् । ‘काठमाडौंलाई गाई नै गाईको सहर बनाउनुपर्छ, त्यसैले मैले फार्मको नाम सिटी गाई फार्म राखेको हूँ’ राजेन्द्र भन्छन् ।
सफलता विश्लेषण
राजेन्द्र किन सफल भए भन्ने विश्लेषण गरौं । उनको सफलताका निम्न कारण पहिचान गर्न सकिन्छ–
- गाईप्रति वाल्यकालदेखिकै लगाव उनको सफलताको एउटा कारण हो । यही रफ्तारले अघि बढे राजेन्द्रले नेपालकै नमूना गाई फार्म बनाउन सक्छन् ।
- सफलताको अर्काे कारण यूरोप नगएर नेपालमै केही गर्ने निर्णयले सिर्जना गरेको मनोवैज्ञानिक दवाब पनि हो । गाई फार्म गरेर यूरोप अमेरिका गएर कमाए जति कमाउनुपर्ने मनोवैज्ञानिक चुनौति थियो । त्यो चुनौति स्वीकार गरेकाले सफल भए ।
- उनको सफलताको कारण नम्बर एक चाहिँ मेहेनत र समर्पण नै हो । अहिले फार्ममा १५ वटा गाई छ तर कामदार सिर्फ एकजना मात्र । सबै काम आफै भ्याउँछन्, परिवारले पनि सघाउँछन् । सानो मेहेनत छैन फार्मले यो रुप पाउनुमा ।
- सफलताका लागि समर्पण चाहिन्छ । गाईपालनप्रति उनको समर्पण अपूर्व छ ।
- सफलताका निरन्तर सिक्नुपर्छ । आजकाल राजेन्द्र ‘गाई डाक्टर’ पनि हुन् ।

कसैको गाई विरामी भयो भने डाक्टरलाई भन्दा राजेन्द्रलाई पहिले बोलाउँछन् । अनि, विदेशिएका साथीहरु पनि फर्किएर गाई पालन गर्छाैं भनिरहेका छन् उनलाई ।
कमाई कति ?
‘आम्दानी कति छ राजेन्द्रजी ?’
प्रश्न सुनेर राजेन्द्र हास्छन् र भन्छन्– ‘म यूरोप अमेरिका जान्न, बाँकी कुरा आफै बुझ्नुस् ।’
यस्तै अर्काे सामग्री


प्रतिकृया दिनुहोस