• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

विपत्तिमा विप्लव समूह : छिन्नभिन्न संगठन एकत्रित गर्ने प्रयास

विक्रम केसी

विक्रम केसी

काठमाडौं । विप्लव समूह र सरकार बीच चेसको जस्तो चालबाजीपूर्ण खेल हुन थालेको छ । प्रधानमन्त्री केपी ओलीले चैत महिनाभित्र विप्लव समूहलाई नियन्त्रणमा ल्याइने घोषणा गरे । लगत्तै विप्लव समूहका नेता नेत्रविक्रम चन्दले चैत महिनाभित्र आफ्नो समूहलाई लगाइएको प्रतिवन्ध नहटाए सरकारलाई नै प्रतिवन्ध लगाउने घोषणा गरे ।

के चैत महिनाभित्र विप्लव समूह नियन्त्रणमा आइसक्छ ? प्रश्न उठ्न थालेको छ । प्रधानमन्त्री ओलीले किन चैत महिनाभित्रको समयसीमा घोषणा गरे ? यो पनि प्रश्न उठ्न थालेको छ । 

विप्लवको ट्याक्टिस र फुट

विप्लवका सामु विभिन्न चुनौति छन् । अहिलेको मुख्य चुनौति तीनवटा हो । पहिलो हो– आफै गिरिफ्तारीबाट जोगिनु । दोस्रो हो– नेता कार्यकर्तालाई गिरफ्तारीबाट जोगाउनु । तेस्रो हो– आफू विपत्तिमा फसेको प्रचार र मनोविज्ञान चिर्दै सरकारमाथि हावी हुनु । 

अहिले विप्लव समूहका नेता कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका छन् । मध्य र पूर्व क्षेत्रमा विप्लवको संगठन क्षतविक्षत भएको छ । विप्लव समूह थला पर्यो भन्ने धारणा फैलन थालेको छ । यसबाट विप्लवको संगठनभित्र पनि हतास मनस्थिति विकास भएको हुनसक्ने आकलन गर्छन् विगतमा जनयुद्धमा लागेर हाल निष्क्रिय बसेका ओमबहादुर पुन । उनका अनुसार अहिले विप्लव समूहभित्र चरम निरासा फैलिएको छ । त्यो निरासा चिर्न विप्लवले प्रतिवन्ध नखोले सरकारमाथि नै प्रतिवन्ध लगाउने घोषणा गरेका हुन् । 

‘विप्लवको घोषणा स्टन्ट हो’– उनी भन्छन् । रक्षात्मक बनेको आफ्नो समूहलाई आक्रामक देखाउन र सरकारलाई टक्कर दिएको देखाउन विप्लवलाई अत्यावश्यक छ । यही कारण विप्लवले बन्द घोषणा सहितका कार्यक्रम ल्याएका हुन् । 

विप्लवले सरकारलाई काउन्टर दिएको देखाउन ट्याक्टिस अपनाउँदै गर्दा सो समूहभित्रको विभाजन पनि प्रकट भएको छ । विप्लव आफैले सामान्यतया विज्ञप्ति दिँदैनथे । प्रवक्ता खड्गबहादुर विश्वकर्माले विज्ञप्ति जारी गर्थे । सरकारी गिरफ्तारीबाट केही महिना पहिले छुटेपछि प्रकाण्ड पार्टीभित्र विवादमा परे । सरकारसँग मिलेमतो गरेर छुटेको, आर्थिक अनियमितता गरेको आरोप उनीमाथि लगाइएको बुझिन्छ । यसका साथै उनलाई प्रवक्ता पदबाट हटाइएको पनि प्रष्ट भइसकेको छ ।

वैचारिक खाेल कायम रहेसम्म...

विप्लव समूहलाई पहिले सरकारले कम आकेको थियो । सरकार अर्थात् तत्कालीन माओवादी केन्द्रको नेतृत्वले । एकीकरण अघि विप्लवको आकार र हैसियतबारे एमाले नेतृत्वलाई खासै मतलब थिएन । 

एकीकरणपछि नेकपाका नेताहरु सरकार चलाउने र पार्टी एकीकरण गर्नेतिर लागे । आफ्नो नेतृत्वमा बलियो सरकार बनेपछि नेकपाका नेताहरुले विप्लव समूहतिर ध्यान दिनै छाडे । तर, त्यस बीचमा विप्लव समूहले राम्रैसँग आकार बढाइसकेको थियो । आकार बढाउनुको मुख्य दुई कारण थिए । पहिलो हो– विप्लव समूहमा बसेर जस्तो काम गरे पनि पक्राउ परिँदैन, जति पनि चन्दा उठाउन सकिन्छ भन्ने प्रचार हुनु । दोस्रो हो– विप्लव समूहले अलिदिन हिंसा मच्चाउँछ त्यसपछि धूमधामसँग मूलधारको राजनीतिमा पसेर राज गर्छ । 

यसकारण विप्लवको आकार बढ्दै गयो । तर, बढेको आकार एकीकृत जनक्रान्ति उर्फ जनयुद्ध थाल्न भने पर्याप्त थिएन । विप्लव समूहले कल्पनै गरेको थिएन प्रतिवन्ध लाग्ला भन्ने । नख्खु वमकाण्डमा सिंहप्रसाद गुरुङ मारिएका थिएनन् भने विप्लव समूहले अरु लामो समय खुला रुपमा उत्पात र लुटपाट मच्चाउन सक्थ्यो, संगठन बनाउन सक्थ्यो । तर, भाग्यले कोल्टे फेर्यो । 

अहिले के छ विप्लव समूहको अवस्था ? यस सम्वन्धमा नेपाल प्रहरीका एक अधिकारी भन्छन्– ‘विप्लव समूहलाई चैत महिनाभित्र नियन्त्रणमा ल्याइसक्ने भनेर प्रधानमन्त्रीको घोषणा आएको छ, यसो गर्न सम्भव छ ।’ सनराइज खबरसँग अनौपचारिक कुरा गर्दै उनले बताए– ‘तर, यसमा एउटा समस्या छ ।’

उनका अनुसार विप्लवको संगठन मध्य नेपाल र पूर्वी नेपालमा खासै शशक्त छैन, पश्चिम नेपालमा छ । विप्लव समूहलाई हल न चलको अवस्थामा पुराउन सकिए पनि समाप्त नै पार्न नसकिने उनको दावी छ । उनका अनुसार विप्लव समूहले वैचारिक खोल ओढेको छ, वैचारिक खोल कायम रहेसम्म सो समूहको उपस्थिति कुनै न कुनै रुपमा रहन सक्छ ।

क्षति कति ?

सरकारले गतिविधिमा प्रतिवन्ध लगाएसँगै विप्लव समूहका करिब तीन सय गिरफ्तार भएको बुझिन्छ । गिरफ्तार भएकामा अधिकांश पूर्व र मध्य क्षेत्रका छन् । पश्चिम क्षेत्रमा विप्लवको संगठनलाई खासै क्षति नभएको बताइन्छ । ‘मध्यक्षेत्र र पूर्व क्षेत्रमा विप्लवको गतिविधि शून्यप्राय हुने अवस्था छ’– एक प्रहरी अधिकारीको दावी छ ।

पश्चिम क्षेत्रमा कार्यकर्ता ठूलो संख्यामा गिरफ्तार नभए पनि पलायन हुने र संगठन छाड्ने क्रम देखिएको छ । अचानक पूरै भूमिगत हुन परेपछि संगठन तितरवितर भएको छ । तितरवितर संगठनलाई विप्लवले समाल्नु अघि नै पूरै ध्वस्त पार्ने सरकारी रणनीति रहेको बुझिन्छ ।

प्रतिकृया दिनुहोस