क्राइस्टचर्च आक्रमणका मुख्य आरोपीलाई अदालतमा पेश गरियो
शुक्रबार न्युजिल्याण्डको क्राइस्टचर्चमा ४९ जनाको हत्या हुनेगरि भएको आक्रमणका मुख्य आरोपी २८ वर्षीय अष्ट्रेलियन नागरिक ब्रेन्टन टारेन्टलाई अदालतमा पेश गरिएको छ । न्युजिल्याण्ड प्रहरीले बन्दीले लगाउने लुगा र हतकडीमा हत्याको अभियोगमा उनलाई शनिवार अदालतमा पेश गरेको हो ।
शुक्रवारको साप्ताहिक प्रार्थनाको समयमा दिउँसो १ बजेर ४० मिनेट जाँदा एकजना बन्दुकधारीले अल नूर मस्जिदमा प्रार्थना गरिरहेकाहरुमाथि करिव पाँच मिनेट अन्धाधुन्ध बन्दुक चलाएका थिए । जसमा ४९ जनाको मृत्यु भयो भने ४८ जना घाइते अवस्थामा छन् ।
न्युजिल्याण्डकी प्रधानमन्त्री जोसिन्डा आर्डर्नले बन्दुकसम्बन्धी कानुनमा अब परिवर्तन गरिने जानकारी दिएकी छिन् । शनिवारको पत्रकार सम्मेलनमा प्रधानमन्त्री आर्डर्नले टारेन्टले प्रयोग गरेको गाडिमा थुप्रै हतियार भेटिएको र उसले आक्रमणलाई निरन्तरता दिने योजना बनाएको समेत बताएकी थिइन् ।
न्युजिल्याण्ड अदालतले टारेन्टलाई अप्रिल ५ सम्मका लागी हिरासतमा राख्न प्रहरीलाई अनुमति दिइसकेको छ । टारेन्टसँगै अन्य दुईजनालाई पनि हिरासतमा राखिएको छ, जसमा कसैको पनि यसअघि अपराधिक इतिहास छैन ।
एक दुई वर्षीय र अर्का १३ वर्षीय बालक समेत घाइते भएको घटनामा बङ्लादेश, भारत र इन्डोनेसिया लगायतका मुलुकका नागरिक परेको भनिएको छ । प्रधानमन्त्री आर्डर्नले सकेसम्म शव छिटै परिवारलाई हस्तान्तरण गर्ने भनेपनि घटनामा मृत्यु भएका कसैको नाम सार्वजनिक गरिएको छैन ।


प्रतिकृया दिनुहोस