ओली, प्रचण्ड र विप्लवलाई एउटा चिठ्ठी
हेल्लो विप्लवजी,
नेकपाका ठूला नेताहरुलाई तथा पूर्व प्रधानमन्त्रीहरुलाई मार्न खोज्नुभएकोैरे हो ? अहँ, नमार्नुहोस् । उहाँहरुले परिवार, नातागोताको सपना पूरा गरिसक्नुभएकै छैन, अझै पूरा गर्न बाँकी छ । जनताको सपना पूरा गर्ने पालो आएकै छैन । अहिले नै मार्नुभयो भने बर्बाद हुन्छ । यो देश डुब्छ ।
हाम्रा पूर्व प्रधानमन्त्री र नेताहरुलाई मारेर के पाउनुहुन्छ ? मार्ने नै भए हामी जनतालाई मार्नुस्, तपाईंको कथित क्रान्तिले आखिरमा मार्ने हामी जनतालाई नै हो । पहिले पहिलेका तपाईंका कम्युनिष्ट क्रान्तिले पनि जनता नै मार्यो । अबको क्रान्तिले पनि जनता नै मार्ने हो ।
नेतालाई नमार्नुस्, किनभने ज्यानमारा क्रान्ति सफल भएपछि यिनै नताहरुसँग मिलेर तपाईंहरुले लुटिखाने हो । पछि मिल्नुपर्छ भने अहिले किन मार्नुहुन्छ ?
विप्लवजी, हामी जनता यसै मरेका छौं, उसै मरेका छौं, मरेतुल्य बनेका छौं । सबैले जनता मारेकै छन् । अब तपाईंले पनि मार्नुस् । जनता स्वाहा पार्नुस् ।
हेल्लाे प्रचण्डजी
विप्लव र उनको पार्टी कहाँबाट जन्मियो प्रचण्डजी ? तपाईंकै गर्भबाट जन्मियो । यो देशको सबैभन्दा ठूलो पार्टीको अध्यक्ष पहिले पनि हुनुभयो, अहिले पनि हुनुहुन्छ । दुई पटक प्रधानमन्त्री बन्नुभयो । अनि जनताले के पाए ?
तपाईंले जनयुद्धकालमा ठूलाठूला सपना देखाउनुभयो । ती सपनाको चीहानबाट विप्लवको पार्टी भूत बनेर निस्किएको हो । जनयुद्ध सकेर शान्तिपूर्ण बाटोमा आएपछि धेरैलाई लागेको थियो– तपाईंले अवश्य देश बनाउनुहुन्छ । त्यसैले तपाईंको पार्टीको आकार दिन दुई गुणा रात चारगुणा बढ्यो ।
तपाईंले दुई पटक प्रधानमन्त्री बनेर नामका अगाडि ‘भूपू प्रधानमन्त्री’ मात्र लेखाउनुभयो । चाहेको भए धेरै काम गर्न सक्नुहुन्थ्यो तर गर्नुभएन । गर्न त गर्नुभयो तर आफ्नो परिवारका लागि मात्र । परिवार, नातागोता, आफन्त, आसेपासेका लागि बहुत काम गर्नुभयो तर देश र जनताका लागि गर्नुभएन ।
तपाईंमा प्रचुर क्षमता छ, उर्जा छ, तपाईं केही गर्न सक्ने क्षमता भएको नेता हो । तर, किन गर्नुभएन ? तपाईंप्रति आशा र अपेक्षा थियो, विश्वाश पनि थियो । तर, गर्नुभएन । विप्लवहरु भन्छन्– तपाईंले धोका दिनुभयो । हामी पनि भन्छौं– क्षमताको सहि सदुपयोग नगरेर अर्थात् दुरुपयोग गरेर तपाईंले धोका दिनुभयो ।
तपाईं यो देशको भूपू प्रधानमन्त्री र केपी ओलीले साथ दिएमा हुनेवाला प्रधानमन्त्री पनि हो । देशको सबैभन्दा ठूलो पार्टीको पचास प्रतिशत अध्यक्ष तपाईं पनि हो । तपाईं जस्तो नेताले मलाई मार्न खोजे भन्दै रोइलो गर्दा जनतामा के असर पर्यो ? विचार गर्नुभएको छ ? यतिका वर्ष शासनसत्तामा हालीमुहाली गरेपछि पनि शान्ति सुरक्षाको यो बेहाल छ र मलाई मार्न खोजे भन्दै रोइलो गर्न परेको छ तपाईंले । यो तपाईंको असफलता होइन र ?
अब आफ्नै गर्भबाट जन्मिएको विप्लव समूहलाई के गर्नुहुन्छ ? हामी हेरिरहेका छौं ।
हेल्लाे केपी ओलीजी
तपाईंको अनुहार हेरेर जनताले चुनावमा भोट दिएका होइनन्, कुरा सुनेर दिएका हुन् । तपाईंका कुरा गफमा परिणत भए । तपाईंका कुराहरु काममा परिणत भएका थिए भने विप्लवले जनयुद्ध भाग–२ गर्ने हिम्मत नै गर्दैनथे । त्यसैले विप्लव समूहको माता प्रचण्ड हुन्, पिता तपाईं केपी ओली हो । तपाईंहरुको अकर्मण्यताले विप्लव समूह फैलिएको हो ।
कुरा र गफमा कति फरक हुन्छ भन्ने तपाईंलाई हेरेर जनताले थाहा पाइरहेका छन् । दुई तिहाई शक्तिको सरकार एक वर्ष चलाइसक्नुभयो । यो अवधीमा विप्लव समूह बारे थाहा पाउनुभएन ? यो समूहलाई निस्तेज पार्न सक्नुभएन ? किन सक्नुभएन ?
साँच्चै नै विकास र समृद्धिको ढोका खोलिदिनुभएको थियो भने विप्लव समूह निस्तेज हुने थियो । ओली सरकारले पनि केही गर्न सक्दैन भन्ने मनोविज्ञानको जगमा विप्लव समूह उभिएको छ । यो कुरा बुझ्नुभएको छ ?
प्रधानमन्त्रीज्यू,
विप्लव समूहको भविष्य तपाईंको काँधमा छ । तपाईंले साँच्चै नै विकास र समृद्धिको ढोका खोल्नुभयो, सुशासन दिनुभयो भने विप्लव समूह समाप्त हुन्छ । तपाईंको यही पारा हो भने विप्लव समूह फैलिन्छ । के गर्नुहुन्छ ? विप्लव समूहलाई फैलाउनुहुन्छ कि खुम्च्याउनुहुन्छ ? अर्काे पनि प्रश्न छ– तपाईंको गर्भबाट जनअभिमत र जनमत संग्रह जन्मिएको छ । यी दुईले देशलाई लखेट्न थालिसकेका छन् ।
देशलाई लखेट्ने यस्तैयस्तै चिज जन्माउँदै जानुहुन्छ भने... भो, यो भन्दा धेरै केही नलेखाैं ।
अन्त्यमा
विप्लवजी, प्रचण्डजी, केपी शर्माजी र अन्य नेताजीहरुले के बुझ्नुपर्यो भने, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजी लगायत देशका समस्त ठूलाबडाजीहरुले के बुझ्नुपर्यो भने यसरी नै चाहिँ देश चल्दैन । यसरी पार्टी पनि चल्दैन । यसरी केही पनि चल्दैन । यसरी कहिँ पनि पुगिँदैन ।
राजनीतिमा इमान मार्ने काम तपाईंहरुले गर्नुभयो, निष्ठा मार्ने काम तपाईंहरुले गर्नुभयो । जनतालाई आकांक्षाको शिखरमा पुराएर पछार्ने काम गर्नुभयो । जनताका सपनाको हत्या गर्ने काम गर्नुभयो । तपाईंहरु अकर्मण्य बन्ने, तपाईंहरु आलोपालो सरकार चलाउने, तपाईंहरु आलोपालो हतियार उठाउने, तपाईहरु मिलीजुली खाने, बाँडिचुँडि खाने । यो सब तमासा हामी हेरिरहेका छौं ।
तपाईंहरुलाई म चेतावनी दिन चाहन्छु, खबरदारी गर्न चाहन्छु । तपाईंहरु एकथरीलाई विप्लव समूह खतरा लाग्दो हो, अर्काथरीलाई सत्तापक्ष खतरा लाग्दो हो । वास्तविक खतरा तपाईंहरुले चिन्नुभएको र देख्नुभएको छैन । तपाईंहरुका लागि वास्तविक खतरा नयाँपुस्ता, युवापुस्ता हुन् । इमानदार नेपाली जनता हुन् । अब जनता भुलभुलैयामा पर्दैनन्, नयाँ र युवा पुस्ताले तपाईंहरु सबैको भण्डाफोर थाल्नेछन् ।
याद गर्नुहोस्, नयाँ पुस्ताले लोकतन्त्र र संसदीय व्यवस्था मर्न दिने छैन । नव पुस्ता र युवा पुस्ताले तपाईंहरुलाई बाईबाई भन्दैछ । हरेक पार्टीभित्र नयाँ पुस्ता उदाइरहेको छ, समाजमा नयाँ पुस्ता उदाइरहेको छ ।
अरु कसैसँग नडराउने तपाईं ठालुहरु विप्लवसँग किन डराएकाे ? नडराउनुस्, उनी र उनकाे समूह पनि नयाँ बाेतलमा पूरानाे रक्सी हुन् । डराउने नै भए नव युवा पुस्तासँग डराउनुहोला, हतियारधारी भन्दा विचारधारी युवा पुस्ता धेरै शशक्त छ । यो चेतावनी बेलैमा बुझ्नुहोला ।
( लेखक दिनेश कोइराला नेपाली कांग्रेसका नेता हुन् । )


प्रतिकृया दिनुहोस