ओलीले देउवाको ट्याक्टिस नबुझ्दा डा. केसीको नाममा संसद अवरुद्ध
काठमाडौं । डा. गोविन्द केसीले प्रधानमन्त्री केपी ओली लगायतलाई ‘माफिया’ भन्दै गाली गरे । केसीले त्यसरी मुख छाड्दा ओली रिसाए कि रिसाएनन् भन्ने थाहा हुन सकेन । तर, ओलीलाई त्यसो भन्दा रिसाउने मानिस चाहिँ नेपाली कांग्रेसका थिए । उनी हुन् स्वयं कांग्रेस सभापति शेरबहादुर देउवा ।
डा. केसीले राजनीतिक दलका नेताहरुलाई सार्वजनिक रुपमै आमाचकारी गाली गर्ने गरेका छन् । उनको यो स्वभाव सबैलाई थाहा छ । केसीले ओलीलाई विशेष रुपमा लखेट्छन् र दुराग्रह राख्छन् भन्ने पनि सबैलाई थाहा छ । तर, केसीको तित्रामुखे शैली देउवालाई पटक्कै मन परेको छैन भन्ने चाहिँ भरखर थाहा हुन थालेको छ ।
डा. केसीले पछिल्लो पटक अनसन थालेपछि देउवालाई दवाब पर्यो— केसीको अनसनको समर्थनमा कांग्रेसले संसद वैठक अवरुद्ध गर्नुपर्छ भनेर । तर, देउवा तयार भएनन् । उच्च जानकार स्रोतहरुका अनुसार देउवा केसीप्रति कहिल्यै सकारात्मक थिएनन् र भएनन् । देउवाले निकटहरुलाई भन्ने गरेका छन्—‘चिकित्सा शिक्षा विधेयकका लागि मात्र केसी अनसन बसेका होइनन् ।’
पछिल्लो अनसनलाई त देउवाले काँध थापेर समर्थन दिने सम्भावना नै थिएन । कारण हो— यहाँसम्म आइपुगेको शान्ति प्रकृयालाई भाँड्ने गरी केसीले राखेको माग । द्धन्दकालीन मुद्दा उछालेर कांग्रेसलाई मात्र नभएर देशलाई समेत भड्खालामा हाल्ने नियत केसीको देखियो । यही कारण केसीको नाममा देउवाले संसद वैठक अवरुद्ध गर्न मानेनन् । जानकार स्रोतहरुका अनुसार देउवाको पूरै टिम केसीलाई काँधमा बोकेर हिँड्न तयार थिएन । तर, प्रतिपक्षमा रहेका कारण केसीको अनसनलाई समर्थन गर्न कांग्रेस वाध्य भयो ।
केसीले इलाममा अनसन थालेको दुई दिनपछि कांग्रेसका एक शशक्त युवा नेता, केही सांसद र अन्य केही नेताहरुले देउवालाई सामूहिक भेट गरेका थिए । उनीहरुले केसीको अनसनको समर्थनमा संसद वैठक अवरुद्ध गर्नुपर्छ भनी दवाब दिए । गफगाफको क्रममा उनीहरुले केसीले ओलीलाई माफिया भनेको स्वाद मानीमानी देउवालाई सुनाएका थिए । तर, देउवाले हपार्दै ओलीलाई त्यसरी माफिया भन्न हुन्छ ? जे भए पनि ओली प्रधानमन्त्री हुन्, उनलाई मनपरी भन्ने अधिकार केसीले कहाँबाट पाए ? पार्टीका नेताहरु सबै नेताहरुलाई माफिया भन्ने केसीको हैसियत के हो ? यस्ता प्रश्न गर्दै देउवाले कांग्रेसका केसी समर्थक ‘युवा टोली’लाई हपारेका थिए ।
केसीको मुद्दा चर्कंदै जाने र संसद वैठक उनकै नाममा अवरुद्ध गर्नुपर्ने परिस्थिति आउने देखेपछि देउवा पक्षले हतारहतार दुईटा अस्पतालको मुद्दालाई लिएर संसद वैठक अवरुद्ध गर्यो । अर्थात्, केसीको नाममा संसद अवरुद्ध नगर्ने रणनीति कार्यान्वयन गरियो ।
तर, प्रधानमन्त्री केपी ओलीले भने देउवाको ट्याक्टिस र उनको पार्टीभित्रको अप्ठेरो बुझिदिएनन् । गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामको अस्पताल सम्बन्धी असन्तुष्टिमा कांग्रेसले संसद अवरुद्ध गर्नुको कुनै तुक थिएन । गोविन्द केसी प्रकरण छल्न देउवाले दुईटा अस्पतालको झमेला झिकेर संसद वैठक अवरुद्ध गरेको गुह्य ओली र उनको टिमले बुझेन । त्यसैले हतारहतार दुईटा अस्पताललाई केन्द्र सरकार मातहत ल्याउने निर्णय ओली सरकारले गरिदियो ।
वास्तवमा ओली सरकारले चिकित्सा विधेयक पारित हुनु अघि नै कांग्रेसको माग पूरा गरिदियो । फलतः बिहिबारको प्रतिनिधिसभा र राष्ट्रियसभा वैठकमा गोविन्द केसीकै नाममा कांग्रेसले अवरोध गर्नुपर्ने वाध्यता आइलाग्यो ।
विधेयक पारित हुनुभन्दा पहिले केसीलाई भेट्न देउवा गएका थिएनन् । पारित भएपछि उनी शिक्षण अस्पताल महाराजगञ्ज पुगे, केसीलाई असनसन त्याग गर्न आग्रह गरे ।
तर, अझै पनि सभापति देउवा चेपुवामा पर्न सक्छन् । केसीले अनसन त्याग्नुपर्ने विचार देउवाले अगाडि ल्याए पनि कांग्रेसभित्र यो विचार नमान्नेहरुको ठूलो जमात देखिन सक्छ । उनीहरुले केसीले अनसन नत्यागुन् भने जसरी विचार दिन र व्यवहार गर्न सक्ने खतरा भने कायमै छ ।
याे पनि पढाैं-


प्रतिकृया दिनुहोस