विप्लव समूहमाथि प्रतिवन्धको अन्तर्कथा
काठमाडौं । उच्च राजनीतिक स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्दसँग वार्ता गर्न केही व्यक्तिलाई खटाएका थिए । उनीहरुले वार्ता गरे । वार्ता केही हदसम्म सकारात्मक नै थियो । तर, त्यस बीचमा विप्लवका केही रणनीतिक सूचना प्रधानमन्त्री समक्ष पुग्यो ।
त्यो सूचना थियो– विप्लवले नेकपाको केपी ओली खेमालाई नरम र पूर्व माओवादी पुष्पकमल दाहाल प्रचण्डको खेमालाई गरम व्यवहार गर्ने । अर्थात्, नेकपाभित्रका नेताहरुको अन्र्तविरोधमा खेल्ने ।
विप्लवसँग प्रचण्डको पनि केही च्यानल मार्फत् निरन्तर संवाद भइरहेको थियो । उच्च राजनीतिक स्रोत अनुसार प्रचण्डले संवादका लागि खटाएकाहरुमध्ये एकजना थिए– मणी थापा । नेकपाका नेता मणीले निरन्तर वार्ता गरेपछि प्रचण्डलाई रिपोर्ट दिए– ‘मैले सकिन, विप्लवजीहरुले आफ्नो बाटो लिएकै हो ।’
जानकार स्रोतहरु भन्छन्– विप्लवले सबैसँग विभिन्न च्यानलहरु मार्फत् संवाद गरिरहेका थिए, तर, एउटा दुर्घटनाले उनको सबै खेल चौपट भयो । त्यो खेल थियो– एनसेलमा वम विष्फोट गराउँदा सिंहप्रसाद गुरुङको मृत्यु । यो समूहले चन्दा उठाउन र आतंक फैलाउन वम विष्फोट गराउँदै आएको थियो । हत्या नगर्ने तर आतंक फैलाएर अर्थ संकलन पनि गर्ने र शक्ति बढाउँदै पनि लैजाने विप्लवको रणनीति सिंहप्रसादको मृत्युले चौपट भयो ।
त्यो घटनापछि विप्लवप्रति आक्रामक हुन सरकार बाध्य भयो । विप्लवलाई सदासर्वदा मानवअधिकारवादीहरुको ठूलो जमातले काँध थापिरहेको थियो । हत्यापछि उनीहरुले पनि पहिले जसरी काँध थाप्न सकेनन् ।
यसबीचमा विप्लव समूहले अर्काे गल्ती गर्यो । रोल्पामा वर्षमान पुनको प्रभाव क्षेत्रमा गएर उनका समर्थक विरुद्ध आक्रामक व्यवहार देखायो । केन्द्रमा शक्तिशाली रहेका पुनप्रति वफादारहरुप्रतिको आक्रामक व्यवहारले पूर्व माओवादी केन्द्रका नेताहरुलाई झस्कायो । विप्लव समूहले रोल्पामा सघन उपस्थिति बनाइसकेको भए पनि आक्रामक व्यवहार देखाउने गरेको थिएन । तर, आक्रामक व्यवहार देखाउन थालेपछि प्रचण्ड सहितका पूर्व माओवादी नेताहरुले वर्षमानमाथिको नभएर समग्र पूर्व माओवादी माथिको आक्रमण ठाने ।
यसबीचमा विप्लव समूहले अर्काे गल्ती गर्यो– चन्दा दिएन भनेर वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्षको घरमा विष्फोट गरेर । ठूलो उद्योगी तथा व्यापारीहरु विप्लव समूहसँग पहिले नै आजित भएका थिए । गुरुङमाथिको आक्रमणपछि उनीहरुले सरकार विरुद्ध दवाब बढाए ।
विप्लव माओवादीले जनयुद्ध नाम नदिई ‘एकीकृत जनक्रान्ति’ नामबाट हिँसात्मक गतिविधि गर्न थालेको निष्कर्षमा सरकार त्यसै पुगेको होइन । स्रोतहरुका अनुसार विप्लव समूहप्रति कडाई गर्न र प्रतिवन्ध लगाउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा उनी निकट नेताहरुले प्रधानमन्त्री ओलीलाई निरन्तर दवाब दिएका थिए ।
सिके राउतलाई विखण्डनकाे बाटाेबाट हटाएर मूलधारमा ल्याउन सफल भएपछि उत्साहित भएकाले पनि अाेली सरकारले विप्लवका गतिविधिमा राेक लगाउने निर्णय गरेकाे अनुमान गर्न गाह्राे छैन ।
अन्ततः विप्लव समूहको गतिविधिमा प्रतिवन्ध लगाउन सरकार वाध्य भएको छ ।


प्रतिकृया दिनुहोस