• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

करोडपति हुन लागे २२ वर्षिय घनश्याम  

विकास अधिकारी/विक्रम केसी 

विकास अधिकारी/विक्रम केसी 

हुनेवाला करोडपति हुन् घनश्याम श्रेष्ठ । उमेर सिर्फ २२ वर्ष । राम्रै खालको घडेरी काठमाडौं उपत्यकामा किन्ने चक्करमा छन् । 

यी हुनेवाला करोडपतिको व्यवसाय यात्रा सुरु भयो १४ वर्षको उमेरबाट । त्यो उमेरमा उनले पसल खोले आफ्नै घरको आँगनमा । भुईंमा कपडा विच्छाए । अलिकति किराना सामान सजाए । धनकुटाको महालक्ष्मी नगरपालिका त्यसरी सुरु भयो फुच्चे घनश्यामको व्यापार । आगनको सानो पसल देखेर गाउँलेहरुले अनौठो माने । तर, माया गरेर सामान पनि किनिदिए ।

ती फुच्चे घनश्याम अहिले २२ वर्षका भएका छन् । काठमाडौंमा छन् । शानदार व्यसाय गरिरहेछन् । 

सपनाको व्यवसाय

‘ठूलो भएपछि तिमी के बन्न चाहन्छौ ?’– बालबालिकालाई सोध्ने गरिन्छ । घनश्याम ‘डाक्टर इन्जिनियर बन्छु’ भन्दैनथे । 

‘मोटरसाइकल मेकानिक बन्छु’ भन्थे । 

खोई, किन हो कुन्नि उनलाई सानैदेखि मोटरसाइकल मेकानिक बन्न मन लाग्यो । मोटरसाइकल मेकानिक बनेको मात्र कल्पिन्थे ।धनकुटाका सडक बजारतिर उनी वर्कशप अगाडी उभिन्थे । मोटरसाइकल मर्मत गरेको ध्यानपूर्वक हेर्थे । 

मोटरसाइकल मेकानिक बनेको कल्पना, आगनको किराना र पढाई गरेर दिन बित्न थाल्यो । र, एकदिन उनले एसएलसी पास गरे ।कुन क्याम्पस पढ्ने ? कुन विषय पढ्ने ? सोच्दै थिए । त्यसैबेला ठूलाबाका छोरा दाजु भोगेन्द्र धनकुटा आए । दाजुले सोधे– ‘मोटरसाइकल वर्कशपमा काम गर्न काठमाडौं जान्छस् ?’

स्तब्ध भए घनश्याम । सपना हो कि विपना हो भयो । यस्तै वाक्य सुन्न वर्षाैंदेखि तड्पिरहेका थिए । देववाक्य झैं लाग्यो दाजुको प्रश्न ।

‘जान्छु’– एक स्वासमा बोले घनश्याम । 

यो कुरा उनले बालाई सुनाए, आमालाई सुनाए । तर, नसोचेको एउटा आपत आइलाग्यो । 

ती दिन सम्झँदै घनश्याम भन्छन्– ‘बाआमाले तँ गइस् भने भाइबहिनी कसले हेर्छ ? पसल कसले चलाउँछ भन्नुभयो, जान पर्दैन भन्नुभयो ।’

बाआमाले यसो भन्लान् भन्ने उनले सोचेकै थिएनन् । हुन पनि घरखर्च आगनको सानो पसलले थेगेको थियो । एसएलसीसम्मको खर्च त्यहि पसलले व्यहोरेको थियो । बाआमाले अनुमति दिएनन्, अब के गर्ने ?

के गर्ने भन्ने प्रश्नको जवाफ सरल थियो । जसरी पनि काठमाडौं जाने र मोटरसाइलक वर्कशपमा काम गर्ने । अठोट गरे घनश्यामले ।

उनले जुक्ति लगाए । छिमेकमा विवाह थियो । यहि मौकामा पसलको सबै सामान छिमेकीलाई एकमुष्ट बेचिदिए । त्यसपछि घरबाट भागेर दाजुसँग काठमाडौं आए । 

काठमाडौं आएपछि ज्ञानेश्वरमा दाजुको वर्कशपमा काम थाले । तीन हजार पाँच सय रूपैयाँ तलब थियो । सुरुमा केही दिन बाईक धुने काम गरे । त्यसपछि अरु काम गरे । इन्जिन खोल्थे, मर्मत गर्थे, वाइकको सम्पूर्ण काम गर्न थाले । 

मोटरसाइकलको इन्जिन र शरीरसँग खेल्दाखेल्दै ६ वर्ष बितेछ । धेरै कुरा सिके । काममा धेरै गल्ति गरे अनि धेरै सिके पनि । तलब बढेर नौ हजार रूपैयाँ पुग्यो । 

आफ्नै वर्कशप

घनश्यामको आफ्नै वर्कशप छ अहिले । र, यो वर्कशप विवाहले जुराइदिएको हो । विवाह पनि वर्कशपले नै जुराइदिएको हो । 

रामेछापका राम श्रेष्ठ बाइक बनाउन सधैं घनश्यामकाेमा आउँथे । राम एउटा खाजा घर चलाउँथे । घनश्याम पनि खाजा खान उनकैमा पुग्थे। आवतजावतको क्रममा रामकी बहिनी कमला श्रेष्ठसँग माया बस्यो । 

त्यो माया विहेमा परिणत भयो । तीन वर्ष भइसक्यो विहे गरेको । बिहेपछि कमलाले आफ्नै वर्कशप खोलौं भनिन् । यही थियो घनश्यामको सपना पनि ।

यसमा दाजुले पनि सहयोग गरे । हाँडीगाउँमा ठाउँ मिलाउनेदेखि आफन्तबाट पैसा जोहो गर्नेसम्मका काममा थोरै तनाव भएन । जेनतेन दुई लाख ५० हजार रुपैयाँ लगानीमा काठमाडौंको हाँडिगाउँमा वर्कशप सुरु भयो । भाईलाई पनि धनकुटाबाट काम गर्न काठमाडौं ल्याए  ।

नयाँ वर्कशप । घनश्याम आत्तिए । ग्राहक आउने हुन् कि नआउने हुन्, चिन्ता लाग्यो । 

ग्राहक आउन थाले । पहिलेपहिले चिनेकाहरु पनि आउन थाले । हेर्दाहेर्दै घनश्यामकोमा मेला लाग्न थाल्यो । उनले एकजना कामदार राखे ।

शानदार ढंगले वर्कशप चल्न थाल्यो ।

फेरी दुई जना कर्मचारी थपे । घनश्यामको वर्कशपमा ग्राहकको ओइरो लाग्न थाल्यो । वर्कशपको गति बढ्दै गयो । घनश्यामको खुसीको सीमा थिएन । 

तर, एकदिन अकल्पनीय विपत्ति आइलाग्यो ।

घरभेटिले भने– ‘म यहाँ नयाँ घर बनाउँदैछु । अब यो ठाउँ खाली गर्नुपर्याे ।’ 

नचलेको ठाउँमा चमत्कार

मजासँग चलिरहेको वर्कशप छाड्नुपर्ने भएपछि उनी आत्तिए । डेढ वर्ष निकै मेहनत गरेर वर्कशप चलाएका थिए । ग्राहक कमाएका थिए । नियमित आउने ग्राहक नै सयौं थिए । 

निकै दौडधूप गरेपछि धोविखोला किनारमा एउटा सटर फेला पारे । त्यो सटरमा पहिले पनि मोटरसाइकल वर्कशप नै रहेछ । नचलेपछि छाडेर हिँडेका रहेछन् । 

घनश्यामसँग विकल्प थिएन । भनिन्छ, व्यापारको सबैभन्दा महत्वपूर्ण तीन तत्व भनेको ‘लोकेशन, लोकेशन र अन्ततः लोकेशन’ नै हो । घनश्यामले अब सफल हुन व्यापारको सर्वमान्य सिद्धान्तलाई नै गलत सावित गर्नुपर्ने भयो । उनी नचल्ने लोकेशनमा वर्कशप सार्न वाध्य भए । 

नयाँ ठाउँमा वर्कशप सुरु भयो । टोलवासीले भने– यहाँ वर्कशप चल्दैन, तिमी डुब्छौ ।

तर, घनश्यामलाई डुब्न नदिनेहरुको ठूलो जमात थियो । ती थिए पूराना ग्राहक । नयाँ ठाउँमा वर्कशप थालेकै दिन पूराना ग्राहकहरु आउन थाले । 

पहिलेका करिव ५० प्रतिशत ग्राहक आए । एक महिनामै पहिलेको ठाउँको भन्दा धेरै ग्राहक बटुल्न सफल भए । त्यतिमात्र होइन, अझ एकजना कामदार पनि थपे । 

देख्नेहरु भन्न लागे– घनश्यामले चमत्कार गर्यो । 

हाल घनश्यामसँग चार जना कर्मचारी छन् । वर्कशपमा भ्याई नभ्याई छ । नयाँ ग्राहकहरु सोध्छन्– ‘तिम्रो साहू कता छ ?’

घनश्याम भन्छन्– ‘बाहिर जानुभएको छ ।’

घनश्याम आफैं मालिक हुन् भन्ने धेरैलाई पत्यार नै लाग्दैन ।

घनश्याम भन्छन्, ‘वर्कशप थालेको जम्मा दुई वर्ष भयो, तर ग्राहक भने १५ वर्षमा पनि कमाउन नसकिने संख्यामा कमाइसकेको छु ।’

अँ साँच्चै, अघि घनश्यामलाई काठमाण्डौं जान्छु भन्दा जान नदिने बुवा आजकल भन्न थालेका छन् रे, ‘मेरो छोरो त हिम्मतवाला पो रैछ । यसले ढुक्कसँग गरीखान्छ ।’

यो सफलता 

साधारण लाग्ने व्यवसायमा घनश्यामले असाधारण सफलता पाइरहेछन् । उनको सफलता यसकारण पनि असाधारण छ कि उनको उमेर सिर्फ २२ वर्ष हो । अनि, सानैदेखि मोटरसाइकल वर्कशप खोल्ने सपनाले पनि उनको कामलाई असाधारण बनाउँछ ।

कुनै पनि पेसामा कामदारलाई टिकाउनु नै सफलताको आधार हो । घनश्यामले आफ्नो कामदारलाई सन्तुष्ट बनाएका छन्, त्यसैले समर्पित छन् ।

सफल हुन घनश्यामले केही गजब ट्रिक लगाएका छन्–

- हासेर बोल्ने, मीठो बोल्ने

ग्राहकलाई सम्मानजनक व्यवहार गर्ने

ग्राहकसँग व्यक्तिगत सम्वन्ध बनाउने

साधारण कामको शुल्क नलिने

जे मर्मत गर्न आउँछन्, त्यसबाहेकका पनि थप मर्मत गरिदिने

उधारोमा पनि काम गरिदिने

आफ्नो काममा समर्पित हुने, कामलाई माया गर्ने

‘कति कमाइयो घनश्याम भाई ?’ जसले पनि उनलाई सोध्छन् । जवाफमा मुसुक्क हास्छन् मात्र । 

यो प्रश्नको जवाफ हामीसँग चाहिँ उनले नहासी दिए– ‘काठमाडौंमा एउटा राम्रै घडेरी किन्ने विचारमा छु ।’

यस्तै अर्काे सामग्री

राजेन्द्रको गाई, यूरोप अमेरिका यहीँ

एकमात्र सरकारी कार्यालय जसले गर्छ ३० मिनेटमै जनताको काम

 

प्रतिकृया दिनुहोस