• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

जनअभिमतलाई जनमत संग्रह भन्नु कुव्याख्या हो– महेश बस्नेत

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । सिके राउतसँग सरकारले सहमति गरेपछि एकथरीलाई ज्वरो आएको र अर्काथरीलाई टाउको दुखेको टिप्पणी नेकपाका सांसद महेश बस्नेतले गरेका छन् । 

प्रतिनिधि सभा वैठकमा बोल्दै सांसद बस्नेतले भने– ‘सिके राउतसँगको सहमति दुईखाले साथीहरुले रुचाएका छैनन् । एकखाले ती हुन् जो मुलुकमा पृथकतावादी आन्दोलन, अराजकतावादी आन्दोलन चर्कियोस् भन्ने चाहन्थे । विभिन्न मानवअधिकारवादी डलरवादी लगायतको खेति यो सम्झौता पछि रोकिएको छ। उनीहरुको टाउको दुखेको छ ।’

उनले अगाडि भने– ‘एकथरी नेताहरु आफूलाई सेलिव्रिटी बनाउन चाहन्छन्, भावुक राष्ट्रवादी कुरा गर्दै आजको बजारमा बिक्ने कुराहरु गर्छन् । उनीहरुलाई अहिले ज्वरो आएको छ ।’

बस्नेतले भने– ‘उनीहरुलाई सिटामोल खुवाएपछि जरो र टाउको दुख्ने कन्ट्रोल होला जस्तो लाग्छ ।’ 

बस्नेत भन्दा पहिले बोल्ने प्रतिपक्षी सांसदहरु तथा नेकपाका सांसद भीम रावल लगायतले जनअभिमत भनेको जनमत संग्रह हो कि होइन भनी प्रश्न उठाएका थिए । 

‘सहमतिको बूँदा नम्बर २ मा लेखिएको जनअभिमत भनेको जनमत संग्रह होइन, आवधिक निर्वाचन हो’ बस्नेतले भने– ‘कुन नेपाली शब्दकोषले जनअभिमतलाई जनमत संग्रह भन्छ ? संविधानको कुन धाराले जनअभिमत भनेको जनमत संग्रह हो भन्छ ? जनअभिमतलाई जनमत संग्रह भनेर कुव्याख्या नगरौं ।’

राउतसँगको सहमतिलाई सांसद बस्नेतले शान्ति सम्झौतापछिको सर्वाधिक महत्वको सहमति बताए ।

पृथकतावादी समस्या समाधान भएपछि प्रधानमन्त्री केपी ओली राजनेताका रुपमा विकसित भन्दै बस्नेतले भने– ‘यो सम्झौतापछि उहाँ नेपालको शिखर व्यक्तित्व, राजनेताको रुपमा विकास हुनुभएको छ। अगाडि बढ्नुस् प्रधानमन्त्रीज्यू, नेपाली जनताको तपाईंलाई साथ छ ।’ 
 

प्रतिकृया दिनुहोस