नाम उच्चारण नगरी प्रचण्डले गरे सिके राउतको चर्चा
काठमाडौं । रौतहटको गरुडामा आयोजित आमसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतको बारेमा खास केही बोलेनन् । तर, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिकेको नाम उच्चारण नगरी शुक्रबार भएको सम्झौताको चर्चा गरे ।
गरुडा आमसभामा प्रचण्डले भने– ‘विखण्डन र अलगाववादको नारा दिनेहरुबाट पनि अब मूलधारमा शान्तिपूर्ण ढंगले समाहित हुन्छौं भनेर प्रतिवद्धता व्यक्त गरिएको छ ।’
आफ्नो पार्टी नेकपा र यसका नेताहरु मधेस विरोधी छन्, तराई मधेस हिमाललाई जुटाउने पक्षमा छैनन् भनेर आरोप लगाइरहेको बेलामा अलगाववाद र पृथकतावादी कुरा गर्ने शक्तिलाई पनि शान्तिपूर्ण रुपमा, मूल धारमा ल्याइएको प्रचण्डले बताए । उनले भने–‘संविधानको मर्म र भावना आत्मसात गर्ने गरी जाने प्रतिवद्धता व्यक्त भएको छ ।’
नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले अगाडि भने– ‘अलगावको कुरा गर्नेहरुले नेपालको इतिहास पढेका छन् ? नेपाल बुझेका छन् ? नेपाल के हो भन्ने बुझेका छन् ?’ नेपालको इतिहास बुझेकाहरुले अलगावको कुरा गर्न नसक्ने विचार प्रचण्डले राखे ।


प्रतिकृया दिनुहोस