• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

प्रधानमन्त्री ओलीले राजनीतिक कुरा थोरै, विकासको कुरा धेरै गरे

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले रौतहटको गरुडा भाषणमा राजनीतिक कुरा थोरै गरे, विकासका कुरा धेरै गरे । एक महिना अघि सिराहामा उनले सम्वोधन गरेका थिए । त्यसपछि तराई मधेसमा आज अर्काे सम्वोधन गरेका हुन् ।

सिके राउतको समूहलाई मूलधारको राजनीतिमा ल्याएको भोलिपल्ट ओलीले गरुडामा आयोजित पार्टी आमसभामा सम्वोधन गरेका हुन् । यद्यपि, आमसभामा प्रधानमन्त्री ओलीले सिके राउतसँग गरिएको सहमतिबारे खासै बोलेनन् । 

गरुडा आमसभामा देखिएको जनताको उपस्थितिले ओली निकै उत्साहित देखिन्थे । उनले खुसी लुकाउन सकेनन् र आमसभाको सुरुमै भने– ‘यो मानव सागरले धेरै प्रश्नहरुको उत्तर दिएको छ, जवाफ दिएको छ ।’

उनले प्रश्न गरे– ‘४६ वर्ष अघि यहि ठाउँमा आएको थिएँ र गिरफ्तार भएको थिएँ । अनि हामी नेकपा नै तराई मधेस विरोधी ? यो उपस्थितिले एउटा भ्रमको जवाफ दिइसकेको छ । यस उपस्थितिले थुप्रै कुरा बताइसकेको छ ।’ 

‘जनताले कम्युनिष्टहरुलाई किन बहुमत दियो ?’ ओलीले प्रश्न गरे अनि जवाफ पनि यसरी दिए– ‘लामो समयदेखि जनताले विभिन्न सरकारहरु हेर्यो । अरु पार्टीका उहिले कहिलेको दुई तिहाईको सरकार देख्यो, पछिपछिको बहुमतको सरकार पनि देख्यो । लगातार सरकार परिवर्तन हुने तर केही काम नहुने पनि जनताले देख्यो भोग्यो । अब स्थिरता चाहियो, स्थायी सरकार चाहियो, फेरिइरहने होइन देशको लागि काम गर्ने, विचार र दृष्टिकोण भएको, देश र जनतालाई माया गर्ने, विकासप्रेमी सरकार चाहियो भनेर जनताले बहुमत दिए ।’ 

उनले ३० वर्षदेखि हुलाकी राजमार्गको कुरा भएकाे तर नबनेकाे भन्दै 'हामी आफैले राजमार्ग बनाउने गरी काम अगाडि बढेको छ' भने । प्रधानमन्त्री ओलीले भने- 'अर्काे चुनाव अगाडि हुलाकी सडक बनिसक्छ। चन्द्रनिगाह गौर चार लेनको सडक बन्ने ग्यारेन्टी छ । गरुडाका जनताको पानी ट्यांकीको माग पूरा भयो, अब ट्यांकी बनाउने काम सुरु हुन्छ। गरुडाको चक्रपथ आउँदो वर्षबाट सुरु हुन्छ।'

सीमानामा भारतले बनाएको बाँधबाट डुबान परेको सम्वन्धमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग गम्भीरतासाथ कुरा गरेको र एउटा छिमेकीले अर्काे छिमेकीलाई दवाबमा पार्न मिल्दैन भनेकाे प्रधानमन्त्री ओलीले बताए ।  

प्रधानमन्त्री ओलीले रौतहट र तराईको विकासका लागि कृषिको आधुनिकीकरण र मलको उपलब्धता, दरबन्दी नभएका विद्यालयमा दरबन्दी थप गर्ने प्रतिबद्धता जनाए ।अन्धविश्वास, कुरीति अब सहन नसकिने बताउँदै प्रधानमन्त्रीले भने, “बोक्सी लाग्ने भए चुनावमा अरुलाई हराएर बोक्सीले चुनाव जितिहाल्थे नि । लु मलाई कसैले बोक्सी लागेर देखाओस् त !” 
 

प्रतिकृया दिनुहोस