• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

आए सिके राउत, अब पालो विप्लवको

गोबिन्द थापा

गोबिन्द थापा

नेपाली राजनीति चमत्कारमय छ । अनेक चमत्कार राजनीति यहाँसम्म आइपुगेको छ । पछिल्लो चमत्कार हो– सिके राउतले विखण्डनकारी गतिविधि त्यागेर राष्ट्रिय अखण्डताको पक्षमा उभिनु । 

नेपाली राजनीतिमा पछिल्ला केही वर्षदेखि विखण्डनकारी स्वर सुनिन थालेका थिए । जनयुद्ध, जनयुद्धपछिको संक्रमण, संविधान निर्माण प्रकृया आदिमा मुलुक अस्थिर बन्यो । राजनीति पूरै तरल बन्यो । राज्य र सरकार निक्कै कमजोर बन्यो । त्यो अवस्थामा नेपाल राज्यका यावत अंगप्रत्यंग कमजोर बनेको थियो । त्यस्तो बेला उत्पन्न विकृति तथा रोगहरुमध्ये एउटा थियो– विखण्डनकारी विचार । 

नयाँ संविधान बन्नु ठूलो राष्ट्रिय विजय थियो, नेपालको राष्ट्रिय शक्ति अभिवृद्धि हुनु थियो । तर, संविधान बने लगत्तै भारतले नाकावन्दी गर्यो । नाकावन्दीको अवरोधलाई मुलुकले पार लगायो । नाकावन्दीका कारण नेपालको राष्ट्रिय आत्मविश्वाश बढ्यो । मुलुकको सामथर््य बढ्यो । नाकावन्दीलाई नकारात्मक ढंगले हेरेर मात्र हुँदैन, नाकावन्दीले मुलुकलाई ठूलो योगदान पनि दिएको छ । हाम्रो राष्ट्रिय सामथर््य के हो भन्ने पनि त्यसबेला प्रकट भयो । राष्ट्रिय एकता नयाँ उचाइमा पुग्यो । त्यही एकताको बलमा पछि तीन तहका चुनाव सम्भव भयो ।

तीन तहका चुनावले नेपाल उभियो, नेपालको लोकतन्त्र संस्थागत भयो । 

त्यस्ता व्यवधान छिचोलेर नेपाल राज्य अगाडि बढ्यो । सामर्थ्यवान नेपाल राज्यका सामु विखण्डनकारी विचार टिक्न सम्भव थिएन । अन्ततः सिके राउत तथा यस्ता विचार राख्नेहरु राष्ट्रिय एकताको पक्षमा नउभिइ उपाय नै थिएन । सिकेले बुद्धि पुराए, विवेक देखाए । उनी राष्ट्रिय एकताको पक्षमा उभिँदै राजनीतिको मूलधारमा आएका छन् । 

शुक्रबार सिके राउतले राष्ट्रिय सभागृहमा जुन सम्झौतामा हस्ताक्षर गरे, त्यसले नेपाल राज्यलाई अझ बलियो बनाएको छ, मुलुकको आत्मविश्वाश झन बढाएको छ । मुलुक प्रगति र समृद्धिको बाटोमा अझ अगाडि बढ्छ भन्ने प्रष्ट्याएको छ । 

सिकेले पनि प्रगति र समृद्धिकै कुरा गरे । यो स्वागतयोग्य छ । 

भनाइ र गराइ

सिके राउतले सरकारसँग सम्झौतामा हस्ताक्षर हुनु दस बीच सेकेण्ड अगाडिसम्म के बोले, के लेखे भन्ने कुराको अब अर्थ रहेन । उनले वार्तामा यस्तो सहमति भयो र उस्तो सहमति भयो भन्नुको पनि अर्थ रहेन । किनभने सहमतिका ११ बूँदामा जेजे लेखिएको छ सत्य त्यही हो, तथ्य पनि त्यही हो ।

हस्ताक्षर गरिएको अक्षर नै बोलिसकेपछि मुखले कसले के बोल्छ भन्ने अर्थ रहँदैन । 

सिके राउतले विखण्डनकारी गतिविधि त्यागेर राष्ट्रिय एकता बलियो बनाउने गरी राजनीति गर्छु भनेका छन्, स्वागत गर्नुपर्छ । 

सरकारसँग सम्झौता हुनु केही मिनेट अगाडि उनले सरकारसँगको वार्तामा जनमत संग्रहको सहमति भयो भनी लेखेका छन् भन्ने समाचार पढ्न पाइयो । केही मिनेट अगाडि लेखे पनि केही सेकेण्ड अगाडि लेखे पनि हस्ताक्षर अघिका उनका सबै गतिविधि इतिहासको चिहानमा कैद भइसके । 

सिके राउत शान्तिपूर्ण र राष्ट्रिय एकताको पक्षको राजनीतिमा आइसके । सत्य यही हो । उनले इमानदारीपूर्वक राजनीतिक गतिविधि गर्छन् भन्ने विश्वाश गरौं । यदि त्यसो गर्दैनन् भने भविष्यको कुरा हो । राजनीतिमा इमानदारी नै सबैथोक हो भन्ने राउतले पहिले नबुझेका भए अब बुझ्नेछन् र बुझ्नु पनि पर्छ ।

सिके राउत मूलधारमा आउनु अर्थपूर्ण छ । यो एक ठूलो फड्को हो, नेपाल राज्य अझ बलियो बनेको प्रमाण हो । यस्तो बेला अर्थ मात्र हुँदैन, अनर्थ पनि हुन्छ । कतिपय कुरा सार्वजनिक खपतका लागि पनि बोल्नुपर्ने हुन्छ । राजनीतिकर्मीहरुले के बोल्छन् भन्नेमा धेरै ध्यान दिएर हुँदैन । के गर्छन् भन्ने नै महत्वपूर्ण हो । 

भनाई नै छ– राजनीतिमा भनाई र गराईमा आकाश पातालको फरक हुन्छ । नेपाली राजनीति यस्तै भनाईबाट धेरै पटकबाट पीडित भइसकेको छ । अब त्यस्तो हुन भएन, भनाई र गराईमा एकरुपता हुनुपर्यो । आशा र विवाश गरौं– सिके राउत तथा अन्य अनेक राजनीतिकर्मीले आगामी दिनमा भनाई र गराईमा एकरुपता ल्याउने छन् ।

अब विप्लवको पालो

मुलुकमा जातीय राजनीतिको ज्वार नै आएको थियो । जातीय राजनीतिले मुलुकमा दन्दनी आगो फैलाउँछ भनेजस्तो भएको थियो । तर, नेपाली जनताले उत्तेजनालाई जिते, विवेक प्रयोग गरे । जातीय राजनीति सिनिक्कै सकियो । 

नेपाली राजनीतिले खासगरी यो तीन दशकामा के शिक्षा लियो भने शान्तिपूर्ण राजनीति नै समाधान हो, विभाजन होइन एकता नै बल हो । र, पछिल्लो कालमा देश र जनताले के महशुस गरेको छ भने विकास र समृद्धि नै सबैथोक हो । 

यति हुँदाहुँदै पनि देशमा केही अपवाद छन् । त्यस्तो अपवाद हो– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा । यो समूहले सशस्त्र गतिविधि गर्दै आइरहेको छ । 

चमत्कारिक ढंगले जसरी राउत समूह मूलधारको राजनीतिमा आयो, त्यसैगरी विप्लव समूह पनि आउन सक्छ । किनभने शान्तिपूर्ण राजनीतिको विकल्प छैन भन्ने तथ्य स्थापित भइसकेको छ । 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी शान्तिपूर्ण राजनीतिमा आउँछ भन्ने धेरैलाई लागेको थिएन, नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण हुन्छ भन्ने धेरैलाई लागेको थिएन, सिके राउतले आफ्ना विगत गतिविधि त्याग्छन् भन्ने धेरैलाई लागेको थिएन । नेत्रविक्रम चन्द नेतृत्वको पार्टी पनि शान्तिपूर्ण धारमा आउँछ भन्ने विश्वाश कतिपयलाई नलाग्न सक्छ ।

तर, विप्लव समूह पनि अवश्य मूलधारा आउनेछ । सिके राउतले राष्ट्रिय सभागृहमा उभिएर जसरी शान्ति र मेलमिलापको पक्षमा अभिव्यक्ति दिए, त्यसैगरी विप्लवले पनि अभिव्यक्ति दिने दिन धेरै टाढा नहोला । 

स्थिर सरकारको अर्थ

स्थिर सरकारको महत्व के हुन्छ भन्ने नेपाली जनताले पहिले पनि बुझेकै हुन्, त्यसैले स्थिर सरकार बनाउन वाम गठवन्धनलाई मत दिएका थिए । स्थिर सरकार बन्यो भने राजनीति कसरी सङलो हुँदै जान्छ, कसरी शान्ति र एकता बढ्छ, कसरी राष्ट्रिय सुरक्षामाथिको खतरा न्यूनीकरण हुन्छ भन्ने देखिन थालेको छ । 

स्थिर सरकारले विकास र समृद्धि दिन सक्छ भन्ने विश्वाश नेपाली जनतालाई छ । स्थिर सरकारले शान्ति दिन्छ । त्यही भएकाले सिके राउत मूलधारमा आए । 

स्थिर सरकार थिएन, विगतमा जस्तै अस्थिर सरकार थियो यो उपलब्धी हासिल हुन्थ्यो त ? पक्कै हुँदैनथ्यो । स्थिर सरकार थिएन, कमजोर सरकार थियो भने सरकारमाथि विखण्डनकारीहरु घोडा चढिरहेका हुन्थे होलान् । न समृद्धिको आस हुन्थ्यो, न विकासको प्यास हुन्थ्यो, सिर्फ स्थिर सरकारको कल्पना गरेर बस्न हामी विवश हुन्थ्यौं । 

यो सरकार पाँच वर्ष नै चल्छ भन्ने सन्देश र संकेत केही दिन यताका घटनाक्रमले झन प्रष्ट पारेको छ । पाँच वर्ष सरकार चल्छ भन्ने विश्वाश आम जनतामा पलाइसकेको थिएन । त्यसैले ‘खबरदार, यो सरकार पाँच वर्ष चलाएनौ भने...’ भन्दै जनस्तरबाट खबरदारी सुन्न पाइन्थ्यो । यो सरकारको स्थायित्वको पक्षमा अहिले प्रबल जनमत छ, यो जनमतले पनि अहिले थप आत्मविश्वाश पाएको छ । स्थिर सरकार नै नेपालको प्रगति र उन्नतिको ढोका हो भन्ने झन स्थापित भएको छ ।

स्थिर र बलियो सरकारले मात्र अहिलेको जस्तो राजनीतिक उपलब्धी हासिल गर्न सक्छ । त्यसैले यो सरकारलाई थप बलियो र शशक्त बनाएर मात्र विकास र समृद्धिको बाटोमा अगाडि बढ्न सकिन्छ भन्ने पनि प्रष्ट छ ।

आशा एवं विश्वाश गरौं– मुलुकमा जे भइरहेको छ राम्रै भइरहेछ, जे हुनेछ राम्रैका लागि हुनेछ, सुख र शान्तिकै लागि हुनेछ । 
 

प्रतिकृया दिनुहोस