• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

रामचन्द्रको डबल रोल, आरजूको सिंगल रोल, ५६ सभापतिको विरोध

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको गत महासमिति वैठकमा विधान संशोधनका लागि सात सय ५२ जना सदस्यले दुईटा विषयमा संशोधन प्रस्ताव दर्ता गरे । 

पहिलो विषय थियो– केन्द्रिय सदस्यहरुले महाधिवेशन प्रतिनिधि मनोनीत हुन नपाउने, तलबाट निर्वाचित भएर आउनुपर्ने । 

दोस्रो विषय थियो– एक पटक आरक्षण कोटामा अवसर पाउनेले दोस्रो पटक आरक्षणमा अवसर नपाउने ।

महासमितिमा यी दुई संशोधन प्रस्तावको दर्ता नम्बर थियो– ९३ । यो संशोधन प्रस्तावमा महासमिति वैठकको अन्तिम दिनसम्म छलफल गराइएन । छलफलको माग गरिएपछि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले संयुक्त रुपमा आश्वाशन दिए– यो संशोधन प्रस्ताव अनुसार केन्द्रिय समितिबाट विधान बनाउँछौं । 

तर, केन्द्रिय समितिले मनोनीत प्रथा कायम राख्यो । मनोनीत प्रथा कायम राखिएपछि कांग्रेसका ५६ जिल्लाका सभापतिहरुले केन्द्रिय समितिले गरेको निर्णय महासमिति वैठकको म्याण्डेड विपरित भएको भनी विज्ञप्ति जारी गरेका छन् ।

कार्यकर्ताबाट चुनिएर आउने आँट नभएका केन्द्रिय सदस्यहरुले महासमितिको निर्णय उल्टाउन दवाब दिएको दावी जिल्ला सभापतिहरुको छ । देउवा पत्नी आरजू देउवा स्वयंले पनि कार्यकर्ताबाट चुनिएर महाधिवेशन प्रतिनिधि बन्ने आँट गरिनन् । त्यसैले महासमितिको बहुमत विरुद्ध निर्णय गर्न लविङ गरिन्– कांग्रेसका एक जिल्ला सभापतिको दावी छ ।

आरजूको नेतृत्वमा देउवाको वरिपरि रहेका केन्द्रिय सदस्यहरुको जमात मनोनीत प्रथाको पक्षमा उभियो । उनीहरुलाई भित्री समर्थन दिए अर्काे खेमाका वरिष्ठ नेता रामचन्द्र पौडेलले । पौडेलको गृहजिल्लामा ठूलो गुटवन्दी छ र गोविन्दराज जोशीले रामचन्द्रको विरुद्धमा समानान्तर पार्टी नै बनाइसकेका छन् । जोशीले रामचन्द्रलाई कुनै हालतमा महाधिवेशन प्रतिनिधि बन्न नदिने घोषणा गरिसकेका छन् । 

कार्यकर्ताबाट महाधिवेशन प्रतिनिधि चुनिएर आउने आँट र औकात नभएका केन्द्रिय सदस्यहरु रामचन्द्र खेमामा पनि छन् । उनीहरु पनि मनोनीत प्रथाको पक्षमा उभिए । 

परिणाम के भयो भने बहुमतबाट केन्द्रिय समितिमा मनोनीत प्रथा कायम रहेको विधान पारित भयो । ‘बहुमत भनेर टाउको गन्ने काम चाहिँ भएको थिएन’– कांग्रेसका एक केन्द्रिय सदस्य भन्छन् । उनका अनुसार सभापति देउवा पक्ष मनोनीत प्रथाको पक्षमा उभिए, रामचन्द्रले मुखले मात्र विरोध गरे । केन्द्रिय समितिमा मतदान गरौं भन्ने आँट रामचन्द्रले गरेनन् । 

मनोनीत प्रथा प्रकरणमा रामचन्द्रले प्रष्टैसँग डबल रोल गरे । उनी मनोनीत प्रथाको विधान पारित हुनुपर्छ भन्ने पक्षमा थिए तर पारित हुने भएपछि विपक्षमा उभिएर ‘नोट अफ डिसेन्ट’ पनि लेखे ।

कांग्रेसका ५६ सभापतिहरुमध्ये अधिकांश रामचन्द्रको खेमाका मानिन्छन् तर उनीहरुले नै रामचन्द्रप्रति अविश्वाश गरिरहेको बुझिन्छ । ‘रामचन्द्र दाइले डबल रोल गर्नुभयो, आरजू देउवाले सिंगल रोल गर्नुभयो, आरजूले जे भूमिका गर्नुभयो खुलेआम गर्नुभयो तर रामचन्द्र दाइले बाहिर एउटा भित्र अर्काे भूमिका गर्नुभयो’– कांग्रेसका ती जिल्ला सभापतिको दावी छ ।

अब के हुन्छ ?

कांग्रेसको केन्द्रिय समितिको वैठक जारी छ । यो वैठक माघ १० बाट सुरु भएको हो । विधान पारित भएपछि केन्द्रिय समिति वैठक बस्न सकेको छैन । रामचन्द्र खेमा र कृष्ण सिटौला खेमाले बहिष्कार गरेपछि वैठक बसेको छैन । 

सभापति देउवा पक्षले अनुशासन समिति र निर्वाचन समिति बनाउन खोजेको थियो, एकलौटी बनाइने सम्भावना देखेपछि दुईटा खेमाले वैठक बहिष्कार गरेको हो । 

उता अर्काे विवाद छ नेवि संघको । अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि नेवि संघ केन्द्रिय समिति मृत बनेको छ । तदर्थ समिति बन्ने स्थिति छैन । कृष्ण सिटौला पक्षले ३२ वर्ष भन्दा कम उमेर समूहबाट तदर्थ समिति बनाउनुपर्ने माग गरेको छ । तर, देउवा पक्ष तयार छैन । रामचन्द्र पनि ३२ माथिकै केन्द्रिय समिति बनाउनुपर्ने पक्षमा देखिएका छन् । 

पार्टीभित्र विवाद चुलिँदै गएको बेला ५६ जिल्ला सभापतिको सामूहिक विरोध आएपछि सभापति शेरबहादुर देउवा थप अप्ठेरोमा परेका छन् । सभापतिहरुले विशेष महाधिवेशनको पहल गर्ने भनेका छन् । 

आम चुनाव लगत्तै कांग्रेसमा ‘अर्ली महाधिवेशन’ को माग उठेको थियो । महासमितिको वैठक गराएर त्यो मागलाई निस्तेज बनाइयो । अब विशेष महाधिवेशनको माग अगाडि सारिएको छ । रामचन्द्र पौडेलको नेतृत्वमा देउवालाई दवाब दिएर चाँडै महाधिवेशन गर्न सकिने आशा कांग्रेसमा लगभग सकिएको छ । रामचन्द्रको विकल्पमा उदाएका शेखर कोइरालाले चाँडै महाधिवेशन गराउन दवाबमूलक अभियान चलाउने भएका छन् ।
 

प्रतिकृया दिनुहोस