• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

६० वर्षीय सावित्रीको हत्या गरेर २२ लाख लुटपाट (भिडियो सहित) 

.

.

राजेश भण्डारी -

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिको बाँसबारीमा आइतबार दिउँसो ६० वर्षीय सावित्री भट्टराईको गला रेटेर हत्या भयो ।

हत्यारालाई स्थानीयले पनि देखे तर भाग्न सफल भए । तीनजना हत्याराहरु निर्धक्कसँग आए, सावित्रीलाई मारे । अनि, २२ लाख रुपैयाँ लुटेर भागे । 

भाग्दा उनीहरुले २२ लाख रुपैयाँ मात्र लगेनन्, सावित्रीको परिवारको खुसी पनि लुटेर लगे, छरछिमेकीको शान्ति पनि लुटेर लगे ।

एक महिनामै..

आज हत्या भएको घर सवित्रीको छोरी ज्वाईंको हो । नयाँ घर बनाएर छोरी–ज्वाईं घर सरेको एक महिना मात्र भएको थियो । ज्वाईं (सोनाम थापा मगर) र छोरी आइतबार बिहानै काममा हिँडेका थिए । 

चार बर्षिय नाति दिप्सनलाई स्कुल पठाउने अभिभारा सावित्रीको थियो । नातिलाई स्कुल पठाउने तयारी गरिरहँदा एक युवा सावित्रीको घरमा आउँछन् । 

ती युवालाई सावित्रीले एक लाख रुपैयाँ सापटी दिएकी थिइन् । भक्तपुरमा जग्गा किन्न लागेको र पैसा नपुगेको भन्दै उनले पैसा मागेको कुरा छिमेकी पूजा राईले सुनेकी थिइन् । 

‘मेरो पैसा चहियो भनेर आमाले भनेको मैले सुनेकी थिएँ’ पूजाले सनराइज खबरसँग भनिन् ।

उनले भनिन्, ‘सावित्री आमाले साँढे १० बजेतिर मलाई त्यो भाई पैसा लिन गएको छ, केही बेरमा ल्यादिन्छ भन्नुभएको थियो ।’ 

तिर्नुपर्ने पैसा लिन भन्दै हिँडेका ती युवा पैसा होइन, धारिलो हतियार र सहयोगी लिएर केही बेरमा चागुनारायण–७ बाँसबारी स्थित सावित्रीको घरमा पुग्छन् । 

एउटा साथीलाई घरबाट अलि पर सुराकी खटाउँछन् । अनि दुईजना मिलेर सावित्रीको हत्या गर्छन् । उनीहरुका यी सबै गतिविधि देखेका छरछिमेकीले हत्या भएपछि मात्र कारण बुझे ।

धारिलो हतियारले सावित्रीको प्राण लिएपछि उनीहरुले जग्गा किन्न भनेर घरमा राखिएको २२ लाख रुपैयाँ लिएर भागेको परिवार र आफन्तले बताएका छन् । 

रगतको भल देखेपछि...

तीन जना मिलेर सामूहिक रुपमा हत्या गरेपछि हत्याराहरुले सावित्रीको शव ब्ल्याङकेटले छोपेका थिए । 

करिब ११ बजेतिर सावित्रीकी भदै घरमा आइपुग्छिन् । भित्र गएर हेर्दा उनले रगतको भल देख्छिन् । घर अगाडि रहेको जस्ताको टहरोमा स्थानीय तारा ढकाल गाईलाई पानी खुवाउँदै थिइन् । 

सावित्रीकी भदैले दिदीले रगत छादेको कुरा तारालाई सुनाउँछिन् । त्यतिन्जेल उनकी भदैले घाँटी रेटेको चाल पाउँदिनन् । 

भित्र छिरेर ताराले मण्डी फाल्छिन् । रक्तमुछेल सावित्रीको शव देखेपछि होहल्ला मच्चिन्छ । छिमेकी र आफन्तहरु जम्मा हुन्छन् । करिब सवा एक बजेतिर प्रहरी पुग्छ । 

हत्यारा खोज्दै प्रहरी

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुरले सावित्रीको हत्यामा संलग्नहरुको खोजी गरिरहेका छन् । 

हत्यामा संलग्नहरुको पहिचान भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख (एसपी) सविन प्रधानले सनराइज खबरलाई जानकारी दिएका छन् । 

‘धारिलो हतियार प्रयोग गरेर हत्या गरेको खुलेको छ’ एसपी प्रधानले भने, ‘हत्यामा संलग्नको पहिचान गरेका छौं, छिट्टै हामी उनीहरुलाई कानूनी दायरामा ल्याउँछौं ।’ 

प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा एकजनालाई नियन्त्रणमा लिएको छ । तर, पक्राउ पर्नेको नाम खुलाइएको छैन । 

प्रतिकृया दिनुहोस