• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

‘ठग’ महिलाका यस्ता अवतार !

राजेश भण्डारी

राजेश भण्डारी

काठमाडौं । ‘हाई, म इन्दु’– काठमाडौंमा एउटा ठूलो र निकै नाम कहलिएको म्यानपावर संचालक अब्दुल्लाह (नाम परिवर्तन) लाई फेसबुकमा अपरिचित युवतीले मेसेज पठाइन् । मेसेजसँगै ‘फ्रेन्ड रिक्वेस्ट’ पनि आयो । 

सुन्दरीको फ्रेन्ड रिक्वेस्ट आएपछि अब्दुल्लाह मख्ख परे । उनी रुमानी कल्पनामा डुब्न थाले ।

अब्दुल्लाह र इन्दु साथी बने । कुराकानी हुन थाल्यो । झापाको बुधवारे घर बताइन् । झापाली सुन्दरीसँग कुराकानी अगाडि बढ्दै जाँदा अब्दुल्लाहले मन थाम्न सकेनन् । भेटघाट गरे, आफ्नो कार्यालयमा बोलाए । 

इन्दुको जवानी देखेर अब्दुल्लाह मन्त्रमुग्ध भए । आफ्नो उमेर, पत्नी तथा छोराछोरी सबै बिर्सिन थाले । ६० वर्ष हाराहारीका अब्दुल्लाहले २५–२६ बर्षकी इन्दुको लर्के जोवन सामुन्ने आत्मसमर्पण गरिदिए । यो आत्मसमर्पणको परिणाम घातक आउनेवाला छ भन्ने अब्दुल्लाहलाई थाहा भएन ।

तर, इन्दुको जवानी अब्दुल्लाहका लागि विष सावित भयो ।

अब्दुल्लाहले प्रहरीमा उजुरीसहित दिएको बयान अनुसार एक दिन इन्दु अब्दुल्लाहको अफिस आइन्, मोबाइल फोन सोफामा राखिन्, कुराकानी हुँदै थियो, इन्दुले अब्दुल्लाहलाई अंगालो हालिन्, चुम्बन गरिन् । 

त्यसपछि केही दिन अब्दुल्लाहको सम्पर्कमा इन्दु आइनन् ।

१० दिनपछि गणेश लामा नामको एक पुरुषले अब्दुल्लाहलाई फेसबुकमा यस्तो म्यासेज लेखे, ‘तपाईंको अश्लील भिडियो मैले फेला पारेको छु, मलाई एक करोड रुपैयाँ नदिए सामाजिक सञ्जालमा अपलोड गरेर चरित्र हत्या गरिदिन्छु ।’ 

इन्दुसँग आफ्नो सम्बन्धको भिडियो कसले खिच्यो ? कसरी खिचियो ? अब्दुल्लाह छक्क परे । उनी आत्तिए । आफूमाथि ब्ल्याकमेलिङ भएको अब्दुल्लाहले प्रष्टै बुझे । 

त्यसपछि अब्दुल्लाह प्रहरीमा उजुरी गर्न पुगे । २०७५ कार्तिकमा भएको यो घटना अनुसन्धान गर्दा प्रहरीले पत्ता लगायो, ‘इन्दु’को असली नाम इन्दिरा उप्रेती हो । घर झापाको बुधबारे नभएर पाँचथरको हिलिहाङ गाउँपालिका हो ।

अब्दुल्लाहलाई उनकै एक साथीले ब्ल्याकमेलिङ गर्न इन्दिरालाई खटाएका रहेछन् । साथीको नाम हो बद्रीनाथ लामिछाने । दुवैलाई प्रहरीले पक्राउ गर्यो ।

इन्दिराकै शैलीबाट आजकाल काठमाडौं सहित देशका प्रमुख सहरमा धेरै अधवैंसे पुरुषहरु ब्ल्याकमेलिङको सिकार बनिरहेको प्रहरी बताउँछ ।

ठगीमा महिला

कुनै जमाना ठानिन्थ्यो– महिलाले अपराध गर्दैनन् । तर, युग फेरियो । पुरुषलाई माथ गर्ने गरी महिला पनि अपराधमा संलग्न हुन थालेका छन् । खासगरी ठगी गर्ने महिलाको संख्या व्हात्तै बढेको प्रहरी बताउँछ । 

प्रहरीका अनुसार ठगीमा सहयोगी महिलाका पछाडि पुरुष पार्टनर हुन्छन् । एक प्रहरी अधिकारी भन्छन्– ‘कोही महिलाले ठगी गरेको उजुरी आयो भने हामी उनको पुरुष पार्टनर पनि खोज्छौं । तर, कतिपय महिलाले चाहिँ एक्लै ठगेको देखिन्छ ।’

२० देखि ३० बर्षका महिलाहरुको ‘ठगी धन्दा’ देखेर प्रहरी चकित हुन थालेको छ ।

‘पछिल्लो समय महिलाले ठगेका मध्ये तीनवटा ठूला घटनामा संलग्नलाई हामीले कानुनी दायरामा ल्याएका छौं’– महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापा भन्छन्– ‘पुरुष र महिलालाई समेत अनेक प्रलोभनमा पारेर उनीहरुले ठग्ने गरेको देखिन्छ ।’   

अप्सरा स्टाइल

स्वयम्भु स्थित किमडोलमा रहेको एक फेन्सी पसलमा जाँदा आउँदा सिन्धुपाल्चोककी अप्सरा श्रेष्ठ (कार्की) सँग  ५८ बर्षिया बिकु मायाको चिनजान हुन्छ । एकदिन अप्सराले बिकुमायालाई सोधिन्, ‘के काम गर्नुहुन्छ ?’ सामान्य लेखपढ भएकी बिकुमायाले भनिन्, ‘अहँ घरमै बस्छु ।’ 

अनि अप्सराले ब्यापार गर्न वा घर खर्च चलाउन पैसा चाहिए आफूलाई भन्न आग्रह गरिन्् । पैसाको साह्रो गाह्रो कसलाई पर्दैन र ? एकदिन बिकुमायाले अप्सरासँग पैसा मागिन् । 

आफ्नो बैंक मार्फत् बनेको समूह भएको र उक्त समूहबाट ब्याजमा ऋण मिलाइदिन्छु भन्दै अप्सराले बिकुमायालाई एकलाख रुपैयाँ दिइन् । व्याज थियो दैनिक एक हजार रुपैयाँ ।

पैसा दिएको केही दिनमा अप्सराले खाली चेक मागिन् । ‘किन खाली चेक ?’ भनेर प्रश्न गर्दा उनले भनिन्, ‘तपाईहरुको बैंकमा धेरै पैसा हुँदैन्, मैले दिएको पैसा फिर्ता गरेपछी चेक दिन्छु ।’

विकुमायाले हस्ताक्षर गरेर चेक दिइन् ।

विकुमायाले एक लाख रुपैयाँ तिरिन्, दैनिक एक हजार रुपैयाँका दरले हुने व्याज पनि चुक्ता गरिन् । तर, अप्सराले चेक फिर्ता गरिनन् । 

अप्सराले विकुमायासँग लिएको चेकमा सात लाख रुपैयाँ भरेर बैंक गइन् । विकुमायाको बैंक खातामा रकम थिएन । चेक वाउन्स भयो । विकुमाया फसिन् ।

अप्सराको ठग्ने स्टाइल बिल्कुल नयाँ थियो । पहिले नै हस्ताक्षर गर्न लगाइएको खाली चेकमा आफुखुसी रकम भरेर उनले विभिन्न व्यक्तिसँग एक करोड ३४ लाख ६२ हजार रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धान बाट खुलेको छ । 

२० हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म ऋण दिएर १५ लाख रुपैयाँ सम्मको चेक लेख्ने अनि चेकमा लेखिएको रकम नदिए बाउन्स गरेर उल्टै मुद्धा हाल्ने अप्सरा स्टाइल प्रहरीका लागि नौलो घटना भएको छ ।

प्रहरीको भाषामा अप्सरा ‘मिटरब्याजी’ हुन् । अप्सरालाई महानगरीय अपराध महाशाखाले १० जेठ ०७६ मा पक्रेको थियो । 

प्रोफाइल पिक्चरमा लोभिँदा..

दोलखा सैलुङका हरिबहादुर कार्कीलाई संगीता बस्नेत नामको फेसबुक आइडीबाट फ्रेन्ड रिक्वेस्ट आउँछ । साथी बनेको केही दिनपछि संगीताले एउटी सुन्दर केटीको प्रोफाइल पिक्चर भएको फेसबुक आइडीको लिंक पठाउँदै हरिबहादुरलाई लेखिन्, ‘यो केटीले तपाईलाई धेरै माया गर्छे ।’ 

लिंक पठाइएको युवतीलाई हरिबहादुरले फ्रेन्ड रिक्वेस्ट पठाए । त्यसपछि ती युवतीसँग हरिबहादुरको कुराकानी हुन थाल्छ । च्याट गर्दागर्दै माया कति बस्यो भने बिहे गर्ने योजना समेत बन्यो । सुन्दरीसँग विवाह गर्ने सपनामा कल्पिँदै थिए हरिबहादुर । 

एउटा फोन आयो– ‘तपाईलाई माया गर्ने केटी दुर्घटनामा परिन्, उपचार गर्न पैसा पुगेन !’ 

हरिबहादुरले पटक–पटक गरेर साढे चार लाख पठाइदिए । तर, फेसबुकमा माया बसेकी ती युवतीलाई हस्पिटलमा समेत भेट्न पाएनन् । 

केही दिनपछि फेरि तिनै संगीताले फोन गरेर भनिन्, ‘तपाईलाई माया गर्ने केटीको उपचारको क्रममा भारतमा मृत्यु भयो !’

यसरी, आफूलाई ‘संगीता बस्नेत हुँ’ भन्दै नाम ढाँटेर हरिबहादुरलाई दोलखा सैलुङकी कल्पना बस्नेत भुजेलले साढे चार लाख रुपैयाँ ठगिन् । हरिबहादुरलाई माया गर्ने भनिएकी युवतीको नक्कली फेसबुक आइडी कल्पना आफैंले चलाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

प्रहरीले ०७६ असार ८ मा कल्पनालाई पक्रेपछि कल्पनाको धन्दा खुलेको हो ।

झन नयाँ डायना स्टाइल

डायना सेकेन्डको घर महोत्तरी औरही नगरपालिका– ३ हो । नाम सुन्दा विदेशी जस्तो लाग्छ । तर, उनी नेपाली हुन्, भरखर २१ बर्ष पुगिन् ।

‘डायना रोज’ नामक फेसबुक आईडी प्रयोग गरेर केही महिनाअघि उनले भारतीय नागरिक श्रीपाल जैनलाई ‘फ्रेन्ड रिक्वेस्ट’ पठाउँछिन् । डायना र श्रीपाल बीच कुराकानी हुन थाल्छ । जैनलाई डायनाले आफू ‘उच्च सम्पन्न परिवारको सदस्य हूँ, भारतमा पनि हाम्रो ब्यवसाय छ’ भनेर म्यासेज पठाउँछिन् । उनको मेसेज हेरेर जैन दंग पर्छन् ।

नेपालमा ‘बिजनेस मिटिङ’ गर्ने कुरा हुन्छ । श्रीपाल नेपाल आउँछन् । डायनाले जैनलाई ‘आफू सम्पन्न परिवारको एक्लो वारेस’ भएको पनि बताउँछिन् । अनि, जैनलाई भारतमा रहेको आफ्नो ब्यापार उनलाई नै दिने बचन दिन्छिन् ।

‘बिजनेस मिटिङ’ सकेर असार ६ मा श्रीपाल मुम्बई फर्कन लाग्छन्, त्रिभुवन विमानस्थल उडान क्षेत्रको भन्सारमा पुगेपछि श्रीपाललाई डायना भन्छिन्– ‘मेरो बाबाले पठाएको बहुमूल्य सामानको भन्सार तिर्न तत्काल २३ लाख रुपैयाँ चाहियो ।’ 

जैनले २३ लाख दिन्छन । उनले दिएको २३ लाख लिएर डायना फरार हुन्छिन् । कोटेश्वर स्थित नरेफाँटमा बसेर अनौठो तरिकाले ठगी धन्दा चलाउँदै आएकी डायनालाई प्रहरीले पक्रेर अनुसन्धान गरिरहेको छ ।  

श्रीपालले डायनालाई किन सजिलै २३ लाख रुपैयाँ दिए ? प्रहरी अनुसन्धानको यो पक्ष रोचक छ । प्रहरीको भनाई छ– ‘श्रीपाल पनि मानिस कमका होइनन्, धनीकी छोरी डायनालाई फकाएर सम्पत्ति हात पार्छु भन्ने सोचेका रहेछन् ।’

पछिल्लो तीन महिना 

डायना, अप्सरा, कल्पना र इन्दु दिमाग लगाएर नयाँ तरिकाले ठग्ने महिला ठग हुन् ।  पुरानै तरिकाले बर्षौंदेखी काठमाडौंमा ठगी धन्दा गर्नेहरुको कथा बेग्लै छ ।

डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजान्छु भनेर, विदेश पठाइदिन्छु भनेर अथवा एक ठाउँको जग्गा देखाएर अर्को ठाउँको जग्गा पास गरेर ठग्ने महिला ठगहरुको किस्सा अपराध महाशाखा र काठमाडौं प्रहरीको आँगनमा सुन्न पाइन्छ ।

फुटवल खेलाडी निराजन रायमाझीकी श्रीमती संगीतालाई १६ मंसिर ०७५ मा प्रहरीले पक्रियो । गोकर्णेश्वर बस्ने संगीताले ‘मेरो श्रीमान खेलाडी हो, पोर्चुगल पठाइदिन्छु’ भन्दै ठूलो रकम ठगेको जाहेरी प्रहरीकोमा परेको थियो । ३ माघ ०७५ मा ४३ लाख घरौटी बुझाएर छुटेकी संगीता अहिले पनि मुद्धा खेपिरहेकी छिन् । 

महागरीय अपराध महाशाखाको तथ्यांक अनुसार पछिल्लो तीन महिना (वैशाख–असार)मा १३ जना महिलाहरु ठगीको अभियोगमा पक्राउ परेका छन् । उनीहरुमध्ये केही धेरौटीमा छुटे, कोही पुर्पक्षमा रहेर कानूनी लडाईं लडिरहेका छन् । 

ठग्ने महिला मात्र छैनन्, ठगिने महिला पनि छन् । महानगरीय अपराध महाशाखाका अनुसार पछिल्लो तीन महिनामा ठगीको सिकार बनेका १६ जना महिलाको उजुरी परेको छ ।


 

प्रतिकृया दिनुहोस