• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

लिफ्ट दिएर ट्रकभित्रै बलात्कार !

राजेश भण्डारी

राजेश भण्डारी

काठमाडौं । भैरहवाबाट तनहुँको दमौली आउँदै गरेको मालबाहक ट्रकमा लिफ्ट दिएर चालक र सहचालकले ३० वर्षीया महिलालाई बलात्कार गरेका छन् । 

गत बुधवार (११ असार) ना १ क ४३४९ नम्बरको ट्रक नवलपुरको डन्डामा रोकिन्छ । ट्रक चालकले प्रहरीसँग अपरिचित महिलाले रोक्ने इसारा गरेपछि रोकेको दाबी गरेका छन् । 

तर, पीडित महिलाले भने आफू सडकमा उभिरहेका बेला ट्रक रोकेर चालक र सहचालकले  ‘सँगै जान आग्रह’ गरेको दाबी गरेकी छिन् । ती महिला चितवन ओर्लिनुपर्ने थियो, तर चालकले उनलाई तनहुँ पुर्‍याउँछन् । 

बिहीबार बिहान करिब २ बजे तनहुँको ब्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वी राजमार्ग किनारामा रोकेर चालक र सहचालक दुवैले ती महिलालाई जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लीलाराज लामिछानेले जानकारी दिए ।

प्रहरीले जबर्जस्ती करणी गर्ने चालक मोरङ उर्लाबारी घर भएका चालक विमल ढकाल र सहचालक गोपाल भण्डारीलाई पक्रेको छ ।

डिआईजीको फोनपछि पक्राउ

बलात्कृत युवती बिहीबार बिहान दमौलीमा चिया पिउँछिन् । दमौलीको एक मेडिकलमा गएर रगत बग्न रोक्ने औषधि किनेर पोखरा पुग्छिन् । 

युवतीका आफन्तमार्फत् गण्डकी प्रदेश कार्यालयका प्रहरी प्रमुख विनोद शर्मा घिमिरेले घटनाको जानकारी पाउँछन् । 

डिआईजी शर्माले तनहुँ प्रहरी प्रमुखलाई फोन गरेर बलात्कारमा संलग्नहरूलाई पक्राउ गर्न आदेश दिएपछि विमल र गोपाल पक्राउ पर्छन् । 

विमल र गोपाललाई जबरजस्ती करणी मुद्दामा म्याद लिएर घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी लीलाराज लामिछानेले बताए ।

प्रतिकृया दिनुहोस