• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

काठमाडौंमा सुइरो आतंक मच्चाउने सन्तोष, यसरी घोपेर भाग्थे (भिडियोसहित) 

राजेश भण्डारी

राजेश भण्डारी

काठमाडौं । आतंक मच्चाउन बम बन्दुक चलाउनैपर्दैन, एउटा सानो सुइरोले पनि आतंक मच्चाउन सकिन्छ । सन्तोष कार्कीले काठमाडौंमा एउटा सानो सुइरोको भरमा ठूलो आतंक मच्चाए 

उनले काठमाडौंका विभिन्न ठाउँमा छ जना महिलालाई तिखो सुइरोले घोचेका थिए । त्यो सुइरो सिरिन्ज हुनसक्ने आशंकाले समाज त्रस्त थियो । 

बाइकमा साँझ र राति महिलालाई घोपेर भाग्ने ती अभियुक्त यति सजिलै फेला पर्लान् भन्ने प्रहरीलाई लागेको थिएन । तर, बिहीबार राति उनी प्रहरीको फन्दामा परे । 

त्यो चार घन्टा

अभियुक्तका बारे प्रहरीलाई कुनै सुराक थिएन । तर, निलो रङको पल्सर बाइकको भने पहिचान भएको थियो । नम्बर पनि राम्ररी ठम्याउन सकिएको थिएन । 

पछि बाइक नम्बर प्रहरीले पत्ता लगायो । नम्बर थियो– बा ४७ प १३३१ । 

तर, यो नम्बरको बाइक कहाँ फेला पार्ने ? प्रहरीले व्यापक खोजी गर्दा तीन दिनसम्म फेला पारेन । त्यसपछि पीडित महिलामध्येकी एकका श्रीमान्‌ले महाराजगन्जमा एक ठाउँमा एउटा निलो बाइक देखे । नजिक गएर नम्बर हेरे । प्रहरीले शंका गरेको नम्बर हो जस्तो लाग्यो ।

उनले प्रहरीलाई फोन गरे । प्रहरीले ‘त्यही नम्बरको बाइक हो’ भन्यो । प्रहरी टोली बाइकलाई निगरानी गर्‍यो । कसको हो बाइक ? 

प्रहरी ढुकेर बस्यो ।

साँझ ५ बजेदेखि साँढे नौ बजेसम्म प्रहरी ढुकेर बस्यो । साढे ९ बजे एक जना मानिस आए, बाइकमा चढे । प्रहरीले च्याप्पै पार्‍यो । उनी थिए– सन्तोष कार्की । 

प्रहरी कार्यालयमा ल्याएर बयान लिँदा सन्तोष धेरै बेर टिकेनन् । उनले सुइरो आतंकको सूत्रधार आफू भएको बयान दिए । प्रहरीले सिसीटिभी फुटेज हेर्‍यो । अभियुक्त उनै हुन् भन्नेमा कुनै शंका थिएन ।

प्रहरीले पक्राउ गरेको केहीबेरमै उनले स्वीकारे, ‘पकनाजोल, ठहिटी र ढल्कुमा सुइरो आतंक मच्चाउने म नै हुँ ।’ 

शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गरेको छ । 

रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीका कार्कीलाई बिहीबार साँझ  महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले महाराजगन्जबाट पक्राउ गरेको थियो । 

महाराजगन्जस्थित भाटभटेनी सुपरमार्केटसँगै दाइसँग मिलेर गोल्डन क्याफे चलाउँदै आएका सन्तोषले ‘महिला देखेपछि उत्तेजित भएर’ तिखो वस्तुले घोच्ने गरेको बयान दिएका छन् ।

‘तिखो बस्तुले घोच्नुको पछाडिको कुनै भेस्टेड इन्ट्रेस्ट देखिँदैन’, महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापा भन्छन्, ‘महिला देखेपछि उत्तेजित भएर तिखो तारले घोच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ 

यसरी घोप्थे
डल्लुमा स्थित भित्री सडकमा एक किशोरी साँझपख कुकुर डुलाउँदै थिइन् । 

एकसुरमा कुकुर डोहार्‍याएर हिँडिरहेकी युवतीलाई विपरीत दिशाबाट बाइकमा आएका युवाले केही तिखो बस्तुले दाहिने पाखुरामा घोपे । 

देब्रे हातले बाइकको ह्यान्डल समातेर दायाँ हातले युवतीको नांगो पाखुरामा सिरिन्ज आक्रमण गर्ने ती युवा एकैछिनमा फरार भए । 

युवतीले बाइक नम्बर समेत टिप्न भ्याइनन् ।

त्यो त्यही बाइक थियो, बा ४७ प १३३१ नम्बरको निलो पल्सर जुन सुइरो आतंक भएको छ ठाउँमा प्रयोग भएको थियो । 

क्याफे बन्द गरेर फर्कंदा 

दाइ कृष्ण कार्कीसँग मिलेर महाराजगन्जमा क्याफे चलाएका सन्तोष साँझ साढे ९ बजे घर फर्कन्थे । 

घर फर्कंदा उनको गोजीमा केही थान ढलान गर्दा रड बाँध्न प्रयोग हुने तारको टुक्रा हुन्थ्यो । ठहिटी, पकनाजोल र डल्लु क्षेत्रमा पुगेपछि एक्लै बाटोमा हिँडेको महिला देखेपछि उनी तारले घोप्थे अनि आफ्नो बाटो लाग्थे । 

सुइरो आतंक मच्चाएको क्षेत्र एकान्त हुने हुनाले पनि सन्तोषले त्यहि क्षेत्रका महिलालाई टार्गेट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ । 

उनले ०७५ चैत अन्तिम साता, २०७६ वैशाख १५, वैशाख २९, जेठ १८, जेठ २०, जेठ ३० र जेठ ३२ गते सुइराे आक्रमण गरेका थिए । सुइराे आतंकबाट ७ जना महिला पीडित भएका छन् । 

को हुन सन्तोष ?

रामेछापको भिरपानीका सन्तोष स्थानीय भारती मा.वि खाँडादेवीबाट २०६० सालमा एसएलसी पास भएर काठमाडौं आएका थिए । 

काठमाडौं आएर क्याम्पस भर्ना भए तर परीक्षा दिएनन् । क्याम्पस भर्ना भएर ललितपुरको गोदावरीमा रहेको भृकुटी होटलमा सन्तोषले लामो समय वेटरको काम गरे । 

अनि, ०६९ सालमा साउदी अरब हान्निए । साउदी अरबमा पाँच वर्ष बसेका सन्तोष त्यहाँको ‘गोल्डन क्याफेमा’ काम गर्थे । 

०७४ को अन्तिमतिर नेपाल फर्केका सन्तोषले त्यसपछि महाराजगन्जको भाटभटेनी सुपर मार्केट अगाडि क्याफे सञ्चालन गर्न थालेका थिए । 

११ वर्षअघि विवाह गरेका सन्तोषका दुई छोरा र श्रीमती गाउँमा बस्छन् । 

कस्तो कारबाही हुन्छ ?

प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा सन्तोषले कुनै गम्भीर रोग फैलाउने उद्देश्यले नभई तर्साउन र रमाइलो गर्न तिखो तारले घोपेको खुल्न आएको जानकारी दिएको छ । 

मुलुकी अपराध संहिता ऐन-०४७ को परिच्छेद पाँचको दफा १०४ मा कसैको ज्यानलाई खतरा पुर्‍याउन सक्ने वा कुनै रौग फैलाउने नियतले काम गर्न नहुने कानुनी व्यवस्था छ । त्यही ऐन बमोजिम प्रहरीले मुद्दा अगाडि बढाएमा सन्तोषलाई १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने देखिएकाे छ ।   
 

प्रतिकृया दिनुहोस