• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

नेपाल र भारत दुवै देशका मिडियाबाट सावधान बनौं

प्रशान्त अश्रुमाली

प्रशान्त अश्रुमाली

नेपाली र भारतीय मिडियामा के फरक छ र के समानता छ भन्ने विषयमा छलफल अत्यावश्यक भएको छ । भारतीय मिडियालाई बहिष्कार गर्न भारतभित्रैबाट आव्हान हुन थालेको छ तर नेपालमा त्यस्तो आव्हान गर्नेहरु देखा परेका छैनन् । 

भारत र पाकिस्तान घोषित रुपमा सत्रु हुन् । उनीहरु एकले अर्का विरुद्ध घृणा फैलाउँछन्, आपसमा निन्दा गर्छन् । उनीहरुले फैलाएको घृणा निन्दामा सत्यको अंश कति हुन्छ भन्ने हामीले देखिसकेका छौं । सत्यलाई ढाकछोप गर्ने र असत्यलाई प्रवद्र्धन गर्ने अधिकांश भारतीय मिडिया विश्वकै लागि कलंक हुन् । त्यस्ता कलंकित मिडियाले फैलाएको उत्तेजनाबाट प्रभावित भएर धारणा बनाउने र नाराजुलुस गर्नेहरु नेपालमा पनि देखिए । 

नेपाली र भारतीय मिडियाका केही साझा चरित्र छन् जो यसप्रकार छ :-

  • तिललाई पहाड बनाउने
  • पहाड आकारको सत्यलाई ढाक्ने
  • घृणा फैलाउने, निन्दा गर्ने
  • साम्प्रदायिकता फैलाउने

भारतीय मिडिया कलंक नै हुन् पत्रकारिताका । यो कुरा जिम्मेवार भारतीय पत्रकारहरु नै भन्न वाध्य छन् । हालै रवीश कुमार नामका पत्रकारले भारतीय न्यूज च्यानल नहेर्न, हिन्दी अखबार नपढ्न अपिल गरेका छन् । 

अरु देशमा समाचार भित्र झुठको अंश कति छ भनी विचारेर हेर्नुपर्ने हुन्छ तर भारतीय मिडियामा चाहिँ सत्यको अंश कति छ भनी विचारेर हेर्नुपर्ने हुन्छ । अर्थात्, भारतीय मिडियालाई सत्य कुन चरीको नाम हो थाहा छैन, तथ्य कुन जिनिसको नाम हो पत्तो छैन । भारतीय मिडियामा विवेक नामको कुनै चिज नै छैन । यस्ता प्रदूषित र कलंकित मिडियाको असर नेपालमा पनि पर्न सक्छ, होसियार हुनुपर्छ । 

(यस लेखमा नेपाली मिडिया भनेर सबै मिडियालाई भनिएको होइन र भारतीय मिडिया भनेर सबै भारतीय मिडियालाई भनिएको होइन ।)

पाठक जोगिनुपर्छ

नेपाली ठिटाठिटीहरुले चलाएको यूट्यूब च्यानलमा भारतीय मिडियाको असर प्रत्यक्ष देखिन्छ । अन्टसन्ट न्यूज बनाउने, आमाचकारी गाली दिने, अर्थ न वर्थका विषय उठाउने, तात्तो न छारोको विषयलाई बढाईचढाई प्रस्तुत गर्ने रोग नेपाली यूट्यूबरहरुमा सल्किसकेको छ । नेपाली मिडिया र भारतीय मिडियामा मुख्य फरक हो– देशहित । भारतीय मिडिया राष्ट्रहितमा केन्द्रित छन्, धेरैजसो नेपाली मिडिया राष्ट्रहित विरुद्ध छन् । 

नेपाली अखबारहरु विदेशीको पक्षपोषण गर्छन् । जस्तो कि एउटा नाम चलेको अखबार नेपालमा भारतीय नागरिकको संख्या बढाउनुपर्छ भनेर अहिले कन्दनी कसेर लागिपरेको छ । सो अखबारमा हाकिम पनि भारतीय आइसकेका छन् । ‘भारत कसरी खुसी हुन्छ’ नामधारी सम्पादक पनि नियुक्त भइसकेका छन् । संविधानभन्दा सिडियो माथि भन्ने समाचार यसले धुमधामसँग छापेको छ, समाचारको असली उद्देश्य बुझ्न गाह्रो छैन । अदालती फैसलाको सम्मान गरे जस्तो गरेर भारतीयलाई नेपालको नागरिकता देउ भन्ने उद्देश्य प्रष्टै छ । कतिपय मिडियाले दसगजा धर्नावालहरुलाई प्रवद्र्धन गरिरहेको छ, दशगजेहरुलाई समर्थन गर्नेहरुलाई प्रोत्साहित गरिरहेको छ । 

नेपाली अनलाइनहरुमा पनि भारतीय मिडियाको प्रदूषण आइसकेको छ । जसरी होस् पाठक तान्ने यिनको उद्देश्य देखिन्छ । आँशुको व्यापार गर्ने, हिँसालाई प्रवद्र्धन गर्ने काम यिनले गरिरहेछन् । हालैको हेलिकोप्टर दुर्घटनामा परी निधन भएकाहरुको परिवार जन कसरी रोए भनी समाचार बनाए अनलाइन र अखबारहरुले । 

छोरा मर्दा बाउआमा रुँदैन र ? पति मर्दा पत्नी रुँदैन र ? बाउ मर्दा सन्तान रुँदैनन् र ? अवश्य रुन्छन् । यो शाश्वत हो । फलानाको श्रीमती यसरी रोइरहेछन्, बाउआमा यसरी रोइरहेछन् भन्दै समाचार बनाउनुको प्रयोजन के हो ? शोकमा रुनेहरुको समाचार बनाउनेहरु घटिया हुन् । नेपाली मिडियामा धेरैले यस्तो घटिया हर्कत गरिरहेछन् । 

नेपालमा टेलिभिजनको प्रभाव खासै छैन । रेडियो, अनलाइन र अखबार नै नेपालका मुख्य मिडिया हुन्, टेलिभिजन चौथो नम्बरमा आउँछ । अखबारको प्रभाव पनि घट्दो छ । अनलाइन नै मूलधार बनिसके । हेर्न पढ्न लायक अनलाइन सय वटा जति होलान् । राजधानी केन्द्रित अनलाइन २०÷२५ वटा होलान्, जिल्लामा स्थानीय समाचार दिने ५०÷६० वटा होलान् । यी चलेका अनलाइन पनि पाठक बढाउन अन्टसन्ट लेख्छन् । नचलेका अनलाइनको त कुरै छाडौं, त्यस्ता अनलाइन पढेर बुद्धिभ्रष्ट र फेसबुकको टायमलाइन फोहोर बनाउनेहरु धेरै छन् । 

देशभक्ति

भारतीय र नेपाली मिडियामा आधारभूत फरक छ । सबैभन्दा टड्कारोसँग देखिने फरक चाहिँ देशभक्ति नै हो । भारतीय मिडियाहरु जति नै असत्य खालका भए पनि तिनले आफ्नो देशका नागरिकहरुमा देशभक्ति जगाइरहेका छन् । राष्ट्रिय हितका लागि मिडियाहरु समर्पित छन् तर नेपालमा ठिक उल्टो छ । 

भारतले नाकावन्दी गर्यो भनेर लेख्न बोल्न नसकेका मिडिया पनि धेरै छन् । घुमाई फिराई नेपालको अहित र विदेशीको हित गर्ने मिडियाहरुकै राज छ नेपालमा । सरकारले राष्ट्रहितको पक्षमा अडान लिन्छ कि भनेर चिन्ता गर्ने अनि विरोध गर्ने मिडियाहरु छन् । नेपालले असंलग्न परराष्ट्र नीति त्याग्नुपर्छ भन्ने लाइनमा सोझै या घुमाउरो पाराले लेख्नेहरु छन् । नेपाल र अन्य कुनै देशको विवादको प्रसंग आयो भने त्यो देशको पक्ष लिने मिडिया छन् ।

नेपालमा हाकाहाकी विदेशी लगानीमा चलेका मिडिया छन् । दूतावासमा विज्ञापन माग्न धाउने मिडिया छन् । नेपालको अहित र अरुको हितमा लेख्ने मिडिया छन् । अहिले नै हेरौं, नागरिकता वितरणमा कडाई नगर, नागरिकता फुक्काफाल गर भन्दै लेख्नेहरु छन् । 

नेपाल यस्तो देश हो जहाँ एनजीओले मिडिया चलाउँछ । विदेशी पैसामा मिडिया चल्छ । गोप्य रुपमा कति लिन्छन् थाहा छैन तर बकाइदा प्रोजेक्ट बनाएर क्याम्पेन चलाउने भन्दै खुलेआम पैसा लिएका छन् । विदेशीका एजेण्डा बोकेर हिँड्ने मिडिया छन् । तर, भारतमा विदेशी पैसा र एजेण्डा बोक्ने मिडिया छैनन्, विरलै होलान्, यदि फेला परे भने कारवाही हुन्छ । नेपालमा चाहिँ कुन मिडियाले कुन देशलाई समर्थन गर्छ भनेर थाहा हुन्छ । अमेरिकी र पश्चिमाको एजेण्डामा चल्ने अनलाइन र अखबारहरु प्रष्टै चिनिन्छ । भारतीय एजेण्डालाई समर्थन गर्ने अखबार र अनलाइन छर्लङगै छुट्टिन्छ । नेपालमा नेपालको हित हेर्ने मिडिया थोरै संख्यामा देखिन्छन् ।

दुवैबाट बचौं

नेपाली जनताले भारतीय मिडियाबाट बच्नैपर्छ, नेपाली मिडियाबाट झन बच्नुपर्छ । भारतीय मिडियाको प्रभाव नेपालमा पर्न हुँदैन । तर, नेपाली मिडिया चाहिँ कस्ता छन् ? माथि अलिकति चर्चा गरियो । 

नेपाली मिडियामा दूतावास, आइएनजीओ, एनजीओको लगानी छ । यस्तो लगानी गर्न नपाइने व्यवस्था हुनुपर्छ । मिडिया क्याम्पेन चलाउने भन्दै आइएनजीओ र दूतावासहरुले मिडियालाई पैसा खनाइरहेका छन् । यो तत्काल बन्द गरिनुपर्छ । नेपाली मिडियाले देशहित विरुद्धका समाचार दिने गरेका छन् । लोकतन्त्र, समावेसी, अधिकारको खोल हालेर विदेशीलाई सहयोग पुग्ने र नेपालको अहित हुने सामग्री फैलाइरहेका छन् । विदेशी एजेण्डाहरुलाई नेपालमा स्थापित गर्ने प्रयत्न गरिरहेका छन् । 

नेपाली जनताले भारतीय मिडियाको प्रदूषण र नेपाली मिडियाको एजेण्डा दुवैबाट बच्न सक्नुपर्छ । भारतीय मिडियाले आफ्नो देशभित्र जागरण फैलाइरहेका छन् तर नेपाली मिडियाले आफ्नो देशभित्र निरासा फैलाइरहेछन् । 

भारतीय मिडियाबाट पनि बचौं, विदेशी एजेण्डा र पैसाबाट चल्ने नेपाली मिडियाबाट पनि बचौं । यसैमा छ बुद्धिमानी । 

प्रतिकृया दिनुहोस