• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

दिवंगत मानिसलाई किन महान भनिन्छ ? किन गुणको चर्चा गरिन्छ ?

सविता घिमिरे

सविता घिमिरे

ज्यूँदोमा खोइरो खन्ने तर मरेपछि महान भन्ने ? चर्चित मानिसको मृत्यु हुँदा यस्तो प्रश्न कतिपयले उठाएको सुनिन्छ । झलक्क हेर्दा कुरा ठिक हो जस्तो पनि देखिन्छ । मानिस मरेपछि ‘उहाँ महान हुनुहुन्थ्यो, उहाँमा यस्ता गुण थिए’ भनी चर्चा हुन्छ ।

कतिपय मानिसको के भनाई सुनिन्छ भने मरेका मानिसको अवगुणको पनि चर्चा हुनुपर्छ । मरेका मानिसको गुण र अवगुण दुवैको अर्थात् राम्रो र नराम्रो दुवै पक्षको चर्चा हुन आवश्यक छ ? 

किन राम्रो लेखेको ?

नेकपाका चर्चित युवा नेता तथा पर्यटन मन्त्री सहित सात जनाको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । रवीन्द्र अधिकारीका बारेमा मैले फेसबुकमा एउटा गीतको पंक्ति लेखें–

मृत्यु पनि मान्छे पिच्छे फरक हुँदो रैछ
देशभक्त छोरा रुँदा देशै रुँदो रैछ ।

मैले रवीन्द्र अधिकारीलाई उच्च सम्मान दिएको कुरा लेखें । त्यसपछि मलाई फोन र मेसेज आउन थाल्यो । अरुबेला विरोध गर्नुहुन्थ्यो, अहिले किन राम्रो लेख्नुभयो ? 

प्रश्न सुनेर म स्तब्ध भएँ । अमानवीय प्रश्न लाग्यो । 

दुर्घटनाको समाचार आउनासाथ रवीन्द्र अधिकारीबारे केही अमानवीय तथा असामाजिक तत्वले सामाजिक सञ्जालमा अप्रिय कुरा लेखेको पनि देखें । मानिस कतिसम्म अमानवीय र असामाजिक हुनसक्छ भन्ने देखेर मलाई भाउन्न भयो । रवीन्द्र अधिकारी मानिस थिए, भगवान थिएनन् । रवीन्द्रसँग यदि कसैको असहमति थियो भने मानिस भएको कारणले थियो, पञ्चतत्वमा विलिन भइसकेको रवीन्द्र अधिकारीसँग किन विद्धेष राख्ने ? रवीन्द्र मात्र नभएर अरु जो कोही दिवंगतसँग किन विद्धेष राख्ने ? यो गलत काम हो ।

मुख्य कुरा, रवीन्द्र अधिकारी यो देशलाई केही गरौं, केही देन गरौं भन्ने उत्साही नेता थिए । रवीन्द्रजस्ता नेताहरुले जनतामा आशा र उत्साह जगाएका हुन् । पदमा पुगेपछि जो पनि विवादमा पर्न सक्छ, काम नै नगर्ने मानिसको कुनै गल्ती हुँदैन, काम गर्नेले नै हो गल्ती गर्ने । रवीन्द्र अधिकारीले यो देशलाई ठूलो योगदान दिएका छन् । उनी सकारात्मक र असल मानिस थिए । रवीन्द्र जस्ता नेताहरुले नै हो देशमा आशाको दियो बाल्ने ।

अहिले प्रसंग रवीन्द्र अधिकारीको आयो तर अरुको निधन हुँदा पनि यस्ता कुरा आउँछ । समाजमा कसै न कसैको मृत्यु भइरहेकै हुन्छ, हरेक मृत्युमा असामाजिक तत्वहरु देखा पर्ने गरेका छन् । विगतमा पनि यो विषयमा लेखौंलेखौं लागिरहन्थ्यो तर अहिले चाहिँ लेख नै लेखेकी छु । 

हाम्रोमा सामाजिक सञ्जाललाई घृणा, द्धेष, क्रुरता, विद्धेष फैलाउने माध्यम बनाइँदैछ । सामाजिक सञ्जाललाई विरोध र आलोचनाका लागि प्रयोग गर्नु जायज हो तर घृणा र विद्धेष फैलाउन प्रयोग गर्नु चाहिँ अपराध नै हो । 

मरेपछि किन महान ?

तथ्य के हो भने हरेक मानिस भित्र गुण र अवगुण दुवै तत्व हुन्छ । उसले आफूभित्रको गुणको प्रयोग गर्छ कि अवगुणको प्रयोग गर्छ भन्ने मुख्य कुरा हो । गुण नै गुण भएको मानिस हुँदैन, गुणमात्र त भगवानसँग पनि हुँदैन । भगवानमा समेत अवगुण हुन्छ । 

अवगुण नै अवगुण भएको मानिस पनि हुँदैन । मानिसमा कुनै न कुनै गुण अवश्य हुन्छ । 

जब मानिस मर्छ उसले अवगुण साथमै लिएर जान्छ भन्ने मान्यता हो । यो मान्यता सत्य पनि हो । किनभने दिवंगत भएका मानिसको अवगुणबाट सिक्न कोही पनि चाहँदैन । उसको गुणबाट सिक्ने हो । त्यसैले दिवंगत मानिसको गुणको चर्चा गरिन्छ अवगुणको होइन ।

मुख्य कुरा, मानिस अवश्य मर्छ, मृत्युभन्दा शाश्वत अर्काे केही छैन । 

दिवंगत मानिसले कसैको अहित गर्न सक्दैन त्यसैले उ महान हुन्छ । अर्काे कुरा, दिवंगत मानिसको गुण हामीले लिने हो । दिवंगत मानिसको गुण तथा विशेषता ग्रहण गरेर नै मानव समाज यहाँसम्म आइपुगेको हो । दिवंगत मानिसको अवगुणहरुबाट समाजले सिकेको भए, अवगुणको अनुकरण गरेको भए मानव समाज यति उन्नत हुने थिएन । 

त्यसैले हरेक मानिसको निधनपछि उसको गुणको चर्चा गरिन्छ । अवगुण रहित यो धरतीमा कोही हुन सक्दैन भन्ने शाश्वत सत्य बुझिसकेपछि किन अवगुणको चर्चा गर्ने ? बरु हरेक मानिसकाे निधनपछि उसकाे गुणकाे चर्चा गराैं ताकि सबैले उनकाे गुणबाट प्रेरणा लिउन् ।

अवगुणको जिम्मा इतिहासलाई

दिवंगत मानिसको अवगुणको चर्चा नहुने होइन, अवश्य हुन्छ । दिवंगत मानिसको अवगुणको पनि व्याख्या गर्ने खास तरिका छ, खास किसिमको शास्त्र छ । त्यसलाई भनिन्छ– इतिहास । हो, दिवंगत मानिसको अवगुणको चर्चा इतिहासले मात्र गर्छ र गर्न सक्छ । 

पृथ्वीनारायण शाहलाई हामी महान मान्छौं, उनका कैयन अवगुण थिए, ती अवगुणलाई हामी इतिहासका रुपमा पढ्छौं । भीमसेन थापा महान थिए तर कैयन कमजोरी थिए । भीमसेनका अवगुणलाई हामी इतिहास मानेर पढ्छौं । विश्वका जति पनि महान मानिस थिए, उनीहरुको अवगुण हामी इतिहासका रुपमा पढ्छौं । इतिहास भनेकै गुण अवगुणहरुको विश्लेषण हो । 

इतिहास एक दिनमा बन्दैन, दशकौं लाग्छ, शदीयौं लाग्छ । 

यसको अर्थ के हो भने दिवंगत मानिसको अवगुण या कमजोरीको चर्चा गर्ने अधिकार इतिहासलाई मात्र छ, वर्तमानलाई छैन । पूरै मानव समाजको आजसम्मको संस्कार र शिक्षा के हो भने दिवंगतको अवगुणको चर्चा गर्ने अधिकार समकालीन पुस्तालाई छैन, आगामी पुस्तालाई मात्र छ । 

इतिहास बन्न पुस्ता फेरिनुपर्छ । दिव‌गत मानिसकाे अवगुणकाे चर्चा गर्ने जिम्मा इतिहासलाई दिइएकाे हुन्छ ।

हामीमा भएको दुर्गुण

हरेक मानिसमा अवगुण दुर्गण हुन्छ । टोल छिमेक या समाजमा आज कसैको मृत्यु हुन्छ भने उसको अवगुणको चर्चा गर्ने अधिकार उसलाई मात्र हुन्छ जो गुणै गुणले भरिपूर्ण हुन्छ । तर, गुणै गुणले भरिएको मानिस नै हुँदैन । यसको अर्थ हो समकालीन पुस्तालाई दिवंगत मानिसको अवगुणको चर्चा गर्ने अधिकार हुँदैन । 

आफू अवगुणको भण्डार हुने अनि दिवंगतको अवगुणको चर्चा गर्ने ? यो मिल्दैन । 

दिवंगत मानिसबाट तपाईं गुण सिक्न चाहनुहुन्छ कि अवगुण ? समाजलाई दिवंगत मानिसको गुण चाहिन्छ कि अवगुण ? हरेक मानिसले आफूभित्र यस्ता प्रश्नको जवाफ खोजौं ।

प्रतिकृया दिनुहोस