भारतीय वायुसेनाका एक पाइलट पाकिस्तानी कब्जामा : तनाव बढ्यो
काठमाडौं । भारतीय सेनाका एक युद्धक विमानका पाइलट पाकिस्तानको कब्जामा रहेको पुष्टि भएको छ । पाकिस्तानले भारतीय पाइलटको भिडियो समेत सार्वजनिक गरेको छ । भिडियोमा देखिएका व्यक्ति भारतीय वायुसेनाका पाइलट अभिनन्दन वर्थमान रहेको पाकिस्तानले दावी गरेको थियो ।
तर, भारतले दिउँसोसम्म सो दावी उपर कुनै टिप्पणी गरेको थिएन । बुधबार अभिनन्दनका परिवारजनले सकुशल रिहाईका लागि अपिल गरेपछि भारतीय पाइलट पाकिस्तानको कब्जामा रहेको पुष्टि भएको हो ।
उनी भारतीय वायुसेनाका मिग–२१ फाइटर विमानका पाइलट भएको बताइएको छ । उनी भारतीय वायुसेनाका अवकाशप्राप्त एअर मार्शल सिम्हाकुट्टि वर्थमानका छोरा रहेको पनि बताइएको छ ।
भारतले पाकिस्तान अधिनस्थ कश्मिरमा मंगलबार हवाई हमला गरेको थियो । बुधबार पाकिस्तानले आफ्नो हवाई क्षेत्र उल्लंघन गर्ने दुईटा भारतीय विमान खसालेको दावी गरेको थियो । विमान खसालेको सम्वन्धमा पाकिस्तानी दावी बारे भारतले कुनै प्रतिक्रिया दिएको छैन तर आफ्ना पाइलटको सकुशल रिकाइका लागि भने भारतले माग गरेको छ ।
अभिनन्दनको परिवारले सकुशल रिहाइका लागि अपिल गरेपछि मात्र भारतले आफ्ना पाइलट पाकिस्तानी कब्जामा रहेको पुष्टि गरेको हो । उनी कसरी र कुन ठाउँमा, कुन परिस्थितिमा पाकिस्तानको कब्जामा परे भन्ने भारत र पाकिस्तान दुवैले प्रष्टसँग बताएका छैनन् ।
पाकिस्तानले पहिले दुईजना पाइलट आफ्नो कब्जामा रहेको बताएको थियो, पछि एकजना मात्र भन्यो ।
यसैबीच आजै जम्मु कश्मिरमा भारतीय वायुसेनाको एउटा हेलिकोप्टर दुर्घटना भएको छ । भारतीय सेनाले सो दुर्घटनामा सात जना मारिएको जनाएको छ ।
(विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुकाे सहयाेगमा)


प्रतिकृया दिनुहोस