• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

बुढीगण्डकी अब तिब्र गतिमा बन्ने

रासस

रासस

गोरखा । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम द्रूतगतिमा अघि बढ्ने बताएका छन् । 

गोरखाको गण्डकी गाउँपालिका–७ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन कार्यक्रममा मङ्गलबार गोरखा र धादिङको सिमानामा निर्माण गर्न लागिएको साे आयोजनाले राष्ट्रिय महत्व बोकेको भन्दै अध्यक्ष दाहालले त्यसलाई कुनै पनि हालतमा ढिलासुस्ती हुन नदिने बताए । 

“म आफैँ प्रधानमन्त्री भएको बेलामा बूढीगण्डकी जलाशययुक्त आयोजना अगाडि बढाउनैपर्छ भनेर चिनियाँ कम्पनीसँग समझदारीपत्रमा सम्झौता गरेर निर्माण अगाडि बढाउन थालेको हो”, उनले भने, “केही ढिलाइ त भयो तर अहिले आयोजनाले विस्तारै गति लिँदैछ ।” 

आयोजनाको डुबान क्षेत्रमा पर्ने र पूर्णरूपमा विस्थापित हुने प्रभावित क्षेत्रका जनतालाई मुअब्जा वितरणको काम ठिक ढङ्गले अघि बढेको भन्दै मुआब्जा निर्धारण हुन बाँकी रहेको क्षेत्रको पनि छिट्ट्रै मुआब्जा निर्धारण गर्ने तयारी भइरहेको बताए- “यो आयोजना खाली विद्युत् निकाल्ने आयोजना मात्र होइन”, दाहालले भन्नुभयो, “यसले नेपालको विकासका लागि दीर्घकालीन महत्व राख्छ ।” 

आयोजना निर्माण गर्दा जनतालाई मर्का नपर्ने गरी सरकारले मुअब्जा वितरणको कामलाई अघि बढाएको उनले भने- “गाउँघर तथा शहरको घर र जग्गाको मूल्यको उचित मूल्याङ्कन सरकारले गर्छ”, अध्यक्ष दाहालले भन्नुभयो, “डुबान क्षेत्रका जनतालाई मार नपर्ने गरी मूल्याङ्कन हुन्छ ।”

विशेषगरी गोरखाको मुख्य व्यापारिक केन्द्र आरुघाट बजार र धादिङको खहरे क्षेत्रको मुआब्जा निर्धारण बाँकी रहेको भन्दै उनले अब त्यसको पनि टुङ्गो लाग्ने बताए । 

दाहालले आयोजना गोरखा र धादिङ मात्र नभएर सम्पूर्ण नेपाली जनताको लागि महत्वपूर्ण आयोजना भन्दै बूढीगण्डकी जलविद्युत् आयोजनाले देशलाई आर्थिक समृद्धितर्फ लैजान योगदान पुराउने भएकाले यस्ता खालका राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथामिकतामा राखेर काम अघि बढाउने बताए । 

आफूले विगतको १० वर्ष भूमिगत आन्दोलनमा बिताएको र त्यसपछिको १० वर्ष शान्ति र संविधानका लागि बिताएको भन्दै अबको १० वर्ष देशको आर्थिक समृद्धिका लागि बिताउने बताए । सरकार गठन भएको एक वर्षको अवधिमा जनताको अपेक्षाअनुसार काम हुननसकेकाले अब नयाँ नीति तथा कार्यक्रममार्फत निर्वाचनका बेला गरेका प्रतिबद्धतालाई पूरा गरेर अघि बढ्ने उनले दावी गरे ।

प्रतिकृया दिनुहोस