महाकाली सन्धी अनुसारको पानी नेपालले लिनुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली नदीबाट नेपालले पाउनुपर्ने पानी कुनै पनि हालतमा नछाडिने बताएका छन् । नेपालले सम्झौता अनुसार जति पानी पाउनुपर्ने हो त्यो लिनुपर्छ, महाकाली सन्धी कार्यान्वयन हुनुपर्छ– ओलीले अडान सार्वजनिक गरे ।
भोलिदेखि काठमाडौंमा सुरु हुने नेपाल र भारतका जलस्रोत विज्ञहरुको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालाहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले नेपालको सो अडान बताएका हुन् ।
जल तथा उर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्धेश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउन आज सिंहदरबारमा राखेको बैठकमा ओलीले नेपाल र भारतको छलफलमा आफ्नो देशको हितमा खुलेर आफ्ना कुरा राख्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले २३ बर्ष अघिको महाकाली सन्धी अनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा प्रति सेकेण्ड १० घन मिटर (३५० क्यूसेक) पानी पाउनुपर्नेमा हालसम्म नपाएकोले सो बिषयलाई गम्भीरताका साथ उठाउन निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले भने– ‘हाम्रो पहिलो प्राथमिकता महाकाली सन्धी कार्यन्वयन हो । सन्धी अनुसार नेपालले ३५० क्यूसेक पानी पाउनु पर्छ । सिरानबाट नहर बग्ने तर हाम्रा खेत बाँझै रहने अवस्था अब हुनु हुँदैन ।’
नेपाल र भारत बीच १९ माघ ०५२ मा महाकाली सन्धी भएको थियो । सो सन्धी अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन भने सो सन्धी अनुसार बन्नुपर्ने पञ्चेश्वर जलविद्युत परियोजनाको विस्तृत परियोजना प्रतिवेदन समेत तयार भएको छैन ।
बैठकमा उर्जा मन्त्री बर्षमान पुन, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई पनि उपस्थित थिए ।
वैठकमा प्रधानमन्त्रीले भने– ‘राष्ट्रिय हितको पक्षमा काम गर्नुस्, नेपालको हित हेर्नुस् ।’


प्रतिकृया दिनुहोस